कार्बन उत्सर्जनसम्बन्धी नयाँ नियम

क्यानबेरा, १९ असार । कार्बन उत्सर्जन घटाई पर्यावरणीय स्वच्छता कायम गर्न अस्ट्रेलियाले नयाँ नियम लागु गर्ने भएको छ । कार्बन उत्सर्जन घटाउनका लागि भएको लामो बहसपछि अस्ट्रेलियाले कार्बन कर लगाउने भएको हो ।
अस्ट्रेलियाले सोमबार कार्बन कर लागु भएको घोषणा गरेको छ । नयाँ कानुनअन्तर्गत वातावरण प्रदूषण गर्न करिब तीन सयभन्दा बढी कम्पनीहरूले प्रत्येक एक टन ग्रिनहाउस ग्यास उत्सर्जन गरेबापत २३ अस्ट्रेलियाली डलर कर तिर्नुपर्नेछ । विकसित मुलुकमा प्रतिव्यक्ति सबैभन्दा धेरै ग्यास उत्सर्जन अस्ट्रेलियाले गर्ने गरेको छ । विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूमा पनि यस विषयमा कुरा उठ्ने गरेको थियो । अस्ट्रेलियाले कर लागु गरी कार्बन उत्सजर्न कम गर्न अग्रसर हुनुपर्ने आवाज विश्वव्यापी रूपमा उठ्दै आएको थियो ।
पर्यावरणसँग सम्बन्धित जिम्मेवारी पूरा गर्नका लागि आवश्यक भएकाले नयाँ कर लागु गरिएको अस्ट्रेलिया सरकारले जनाएको छ । तर, विपक्षी दलहरूले भने नयाँ करको विरोध गरेका छन् । उनीहरूले कर लगाउँदा कयौँ नागरिकको रोजगारी जोखिममा पर्ने औँल्याएका छन् । कार्बनसम्बन्धी नयाँ व्यवस्थाको पक्षमा रहे पनि अहिले लागू गरिएको नयाँ करसम्बन्धी कानुन कडा भएको उनीहरूको भनाइ छ ।
सन् २०१३ मा आफू सत्तामा गए कानुन खारेज गर्ने विपक्षी दलहरूले प्रस्ट पारेका छन् । यद्यपि, पर्यावरणविद्हरूले सरकारको निर्णयको स्वागत गरेका भए पनि आमजनताले भने त्यसको विरोध गरेका छन् ।
नयाँ कर प्रणालीका सबैभन्दा बढी असर अस्ट्रेलियाको उत्खनन, एयरलाइन्स र स्टिल बनाउने कम्पनीमा पर्नेछ । यसले उनीहरूको उत्पादन मूल्य बढाउँछ । तर, लेबर पार्टीको सरकारले जलवायु परिवर्तनको समस्या समाधान गर्न सो कदम चाल्नुपर्ने बताएको छ । सरकारले कम आम्दानी गर्नेलाई मुआब्जा दिने बताएको छ । तर, विपक्षी दलका नेता टोनी एबटले कर महँगो भएको जिकिर गर्दै सो कर लागु गर्न आवश्यक नभएको धारणा व्यक्त गरेका छन् । (एपी)

प्रतिक्रिया