बम विस्फोटमा संलग्न हतियारसहित सार्वजनिक

सिन्धुपाल्चोक, १९ असार । प्रहरीले ३ जेठमा जलवीरेमा भएको एकीकृत नेकपा (माओवादी)को आमसभामा बम विस्फोटमा संलग्न तीनजनालाई हातहतियारसहित सार्वजनिक गरेको छ ।

गोल्चे–८ का कालुमान विक, केशर दोङ र कुन्छा लामालाई सार्वजनिक गरिएको हो । उनीहरूलाई १३ असारमा पक्राउ गरेर अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको जनाएको छ ।
प्रहरीले उनीहरूका साथबाट तीन थान भरुवा बन्दुक, ३३ थान कम्ब्याट ड्रेस, डेटोनेटर, फ्युज वायर, नेपाल उत्पीडित मुक्ति मोर्चाको ब्यानर, नेकपा (चेवादी)को दस्तावेज, चन्दा रसिद पनि पक्राउ गरेको छ । विकको घरबाट भरुवा बन्दुक र दोङको घरबाट कम्ब्याट ड्रेस, दस्तावेजलगायत सामग्री बरामद भएको डिएसपी वसन्तकुमार लामाले जानकारी दिए ।
नेकपा (चेवादी) सिन्धुपाल्चोकका नेता एवं प्रहरीका मोस्ट वान्टेड सोनाम लामाको समूहले बम विस्फोट गराएको डिएसपी लामाले जानकारी दिए । सोनामले ८ जेठमा गोल्चे–६ मा आयोजित एक कार्यक्रममा सशस्त्र विद्रोही भूमिगत संगठनका रूपमा नेकपा (चेवादी)को घोषणा गरेको अडियो टेप पनि फेला परेको डिएसपी लामाले जानकारी दिए ।
सोनामले यसअघि जिल्लामा राष्ट्रिय जातीय मुक्ति मोर्चाको नेतृत्व गर्दै आएका थिए । सोनामको समूह राजनीतिका नाममा आपराधिक समूह भएको लामाले बताए । ‘यो समूले धेरै आपराधिक घटना गराइसकेको छ,’ डिएसपी लामाले भने, ‘राजनीतिको आवरणमा अपराध गर्न राजनीतिक संगठनको नाम दिएको देखिन्छ ।’
सोनामको समूहले मानवीय क्षतिका लागि नभई आफ्नो संगठनको पहिचान र प्रचारप्रसारका लागि बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये विकले आफूलाई घटनाबारे केही थाहा नभएको बताएका छन् । सोनामले एक महिनाअघि आफ्नो घरमा बन्दुक ल्याएर राखेको उनले बताए ।
‘मैले नराखुँ भन्दा पनि धम्क्याएर राख्न लगायो,’ विकले भने, ‘विष्टको काम गरेर हातमुख जोर्नेलाई यस्तो के थाहा ?’
प्रहरीका अनुसार १३ जेठमा गोल्चेको निम्लुङमा सोनाम, वसन्त लामा र बाबा तमाङले शीरकाजी तामाङको घरमा माओवादी कार्यक्रममा बम पड्काउने योजना बनाएको शीरकाजीलाई उद्धृत गर्दै इन्स्पेक्टर सुजनराज भण्डारीले बताए । शीरकाजी यसै मुद्दामा अदालतमा पुर्पक्षमा छन् । सोनाम, बाबा र वसन्त भने फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । बम विस्फोटपछि जिल्लाको विकट गोल्चे गाउँमा उनीहरू लुकेर बसेको गोप्य सूचना पाएपछि प्रहरी टोली गाउँ गएको थियो ।
सोनामको समूहले गोल्चेलगायत स्थानबाट यार्सागुम्बा संकलन गरेर फर्केका स्थानीयसँग पनि जबर्जस्ती रकम असुल्ने गरेको इन्स्पेक्टर राजभण्डारीले जानकारी दिए । नेकपा (चेवादी) भनिएको समूहमा असन्तुष्ट माओवादीहरू संलग्न भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया