राष्ट्रपति र कांग्रेस सभापतिवीच भेटबार्ता

काठमाडौं, १८ असार । सरकारले विपक्षी दलहरुलाई वेवास्ता गरेर पूर्ण वजेट ल्याउन लागेको आरोप लागिरहेका समयमा राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालावीच भेटबार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटबार्तामा कोइरालाले कामचलाउ सरकारले सहमति बिना पूर्ण बजेट ल्याउन नसक्ने जानकारी डा.यादवलाई गराएका छन् ।
राष्ट्रपति डा.यादवसँगको भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै उनले भने, ‘केयरटेकर सरकारले पूर्ण वजेट ल्याउन मिल्दैन, यसै बारेमा राष्ट्रपतिसँग कुराकानी गरेको छु ।’ विपक्षी दलहरुको उपेक्षा गरेर जबरर्जस्ती पूर्ण बजेट ल्याइए बिरोध गर्ने जानकारी राष्ट्रपति डा.यादवलाई गराएको कोइरालाले उल्लेख गरे ।
सहमति र सहकार्यको मार्गलाई एमाओवादी र वर्तमान सरकारले उपेक्षा गरेको उनको आरोप थियो ।
‘पूर्ण बजेट ल्याउनु अघि दलहरुका बीच सहमति जुटाउनु पर्छ,’ उनले भने, ‘कामचलाउ सरकारले पूर्ण बजेट ल्याउने संवैधानिक प्रावधान छैन ।’
बजेट र सहमतिको विषयलाई लिएर यस अघि राष्ट्रपति डा.यादवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटबार्ता गरिसकेका छन् । डा.यादवले सहमति गरेरै बजेट ल्याउन दबाव दिदै आएका छन् ।

प्रतिक्रिया