‘अमेरिका र इजरायलको स्वार्थमा मोर्सी’

विकासविद् तथा अन्तर्राष्ट्रिय राजनीतिका विख्यात विश्लेषक समिर अमिनले अमेरिका, इजरायल र साउदी अरबको सहयोग र समर्थनमा मोर्सीले निर्वाचनमा विजय हासिल गरेको आरोप लगाएका छन् । इजिप्टको पुनरोदय रोक्नु यी राष्ट्रको हितमा रहेकाले यसका लागि उनीहरूले मोर्सीलाई सहयोग गरेको आरोप अमिनले लगाएका छन् । हालै प्रकाशित एक लेखमा उनले यस्तो बताएका हुन् ।
‘यी तीन निकट साझेदारको चाहना एउटै छ– इजिप्टको पुनरोदय रोक्नु । किनकि, बलियो र अडिग इजिप्टको उदय हुनु भनेको खाडी क्षेत्रमा यी राष्ट्रहरूको त्रिपक्षीय प्रभुत्व अन्त्य हुनु हो,’ लेखमा अमिनले भनेका छन् ।
कमजोर इजिप्टले प्यालेस्टाइन मामिलामा हस्तक्षेप नगर्ने भएकाले इजिप्टलाई कमजोर बनाइराख्न इजरायल अग्रसर भएको धारणा उनले व्यक्त गरेका छन् । ‘मुस्लिम ब्रदरहुड’ इस्लामिक पार्टी भएको इजरायल तथा अमेरिकी सञ्चारमाध्यमले जनाइरहेका बेला उनले भने यसलाई ‘चरम प्रतिक्रियावादी पार्टी’को संज्ञा दिएका छन् । होस्नी मुबारकविरुद्ध इजिप्टमा उठेको क्रान्तिलाई योजनाबद्ध ढंगले तुहाइएको विचार अमिनले व्यक्त गरेका छन् । ‘योजनाबद्ध ढंगले क्रान्तिको पतन गराइएपछि सादतको पालादेखि सेनाको उच्च नेतृत्व र राजनीतिक इस्लामबीचको गठजोडमा टिकेको व्यवस्थाले निरन्तरता पाउने भएको छ,’ लेखमा उनले भनेका छन् ।
इजरायल, अमेरिका र साउदी अरबको आर्थिक सहयोगका भरमा मोर्सीले निर्वाचनमा विजय हासिल गरेको उनले बताएका छन् । इजरायली क्रान्तिका वास्तविक नायक एच सब्बाहीलाई निर्वाचनमा हराइएको जिकिर उनले गरेका छन् ।

प्रतिक्रिया