मोर्सीलाई नेतान्याहुको चिठी

जेरुसेलम, १८ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टका नवनिर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई चिठी पठाएका छन् । चिठीमा उनले इजरायलसँगको शान्तिसन्धिप्रति प्रतिबद्ध रहन मोर्सीसँग आग्रह गरेका छन् ।
इजरायलको दैनिक पत्रिका हारेत्जले आइतबार जनाएअनुसार पत्रमा प्रधानमन्त्री नेतान्याहुले इजिप्टसँगको सहकार्यलाई निरन्तरता दिन र द्विपक्षीय शान्ति सुदृढ गर्न इजरायल तयार रहेको बताएका छन् । नाम उल्लेख गर्न नचाहने एक इजरायली अधिकारीलाई उद्धृत गर्दै हारेत्जले लेखेको छ, ‘मुस्लिम ब्रदरहुडका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका मोर्सीलाई बधाई ज्ञापन गर्न प्रधानमन्त्री (नेतान्याहु)ले केही दिनअघि चिठी लेख्नुभएको थियो ।’ कायरोस्थित इजरायली दूतावासले मोर्सीलाई नेतान्याहुको चिठी पुर्‍याएको थियो । दुई देशबीचको शान्ति सन्धिको सम्मान गर्नु दुवै राष्ट्रको हितमा रहेको चिठीमा उल्लेख भएको बताइएको छ ।
हारेत्जका अनुसार अमेरिकासँगको सल्लाहपछि नेतान्याहु र मोर्सीबीच टेलिफोन संवाद गराउने प्रयास इजरायली अधिकारीहरूले गरिरहेका छन् । इजिप्टका सुरक्षा अधिकारीहरूसँग परामर्श गर्न नेतान्याहुले त्यसतर्फ दूत पठाइसकेको समाचारमा जनाइएको छ । इजिप्टको प्रजातान्त्रिक पद्धतिलाई इजरायलले मान्यता दिएको र राष्ट्रपतीय निर्वाचनको नतिजालाई उसले सम्मान गरेको चिठीमा जनाइएको छ । सन् १९७९ मा दुई देशबीच भएको शान्तिसन्धिका आधारमा दुई देशबीचको सहकार्य अघि बढ्ने विश्वास इजरायलले लिएको चिठीमा उल्लेख छ ।
इजरायलसँग द्वैत्य सम्बन्ध कायम गर्ने अरब क्षेत्रका थोरै राष्ट्रमध्ये इजिप्ट एक हो । स्वेज नहरसँग सीमा जोडिएको इजिप्ट इजरायलको राष्ट्रिय सुरक्षाका लागि संवेदनशील मानिन्छ । त्यसैले इजीप्टमा जारी शक्ति हस्तान्तरण प्रतिक्रियाप्रति इजरायलले गम्भीर चासो देखाउँदै आएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि इरानको फार्स समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा मोर्सीले इजरायलसँगको शान्तिसन्धि र इरानसँगको सम्बन्ध स्थापनाबारे पुनर्विचार गर्न अफू इच्छुक रहेको बताएपछि यसले इजरायललाई चिन्तित बनाएको थियो । सन् १९४८ मा अरब–इजरायल युद्ध हुँदा विस्थापित भएका प्यालेस्टाइनी शरणार्थीहरू घर फर्किनु महत्त्वपूर्ण भएको समेत मोर्सीले बताएका थिए । इजरायलको कट्टर दुश्मन इरानसँग सम्बन्ध बढाई अरब क्षेत्रमा रणनीतिक सन्तुलन कायम गर्नु आºनो प्राथमिकताको विषय रहेको मोर्सीले बताएपछि इजरायली अधिकारीले यसप्रति चिन्ता व्यक्त गरेका थिए ।
केही दिनअघि चरमपन्थी संगठन अलकायदाले इजरायलसँगको शान्तिसन्धि खारेज गरी इस्लामिक कानुन लागू गर्न इजिप्टसँग माग गरेको थियो । जेरुसेलमलाई ‘यहुदी सहर’ बन्नबाट रोक्न इजिप्टले इजरायलसँगको सन्धि खारेज गर्न अत्यावश्यक भएको धारणा राख्दै अलकायदाका सर्वोच्च नेता यमन अल जवाहरीले भनेका थिए, ‘गद्दार अन्वर सादत (इजिप्ट पूर्वराष्ट्रपति) लाई शान्तिसन्धिमा हस्ताक्षर गराएर इजिप्टलाई युद्धमैदानबाट नहटाएको भए यहुदीवाद अहिलेको स्तरमा उठ्न सक्दैन भन्ने उसको नियमित आपराधिक क्रियाकलापले पुष्टि गरिसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया