मत-विमत

‘हेलमेट टिचर’का बाध्यता

सौर्य अनलाइन २०६९ असार १८ गते २:०५ मा प्रकाशित

म क्याम्पस पढाउने एकजना शिक्षक । सरकारी क्याम्पसमा विद्यार्थी घटेकाले त्यहाँ पिरियड पाउनै गाह्रो पाइहाले पनि पैसा साह्रै थोरै । त्रिभुवन विश्वविद्यालयमा सेवा आयोग खुल्ने र स्थायी हुने कुरा धेरै टाढाको थियो । किनकि ६–६ महिनामा खुल्नुपर्ने सेवा आयोग १० वर्षमा पनि खुल्न मुस्किल भइरहेको छ । यस्तो अवस्थामा काठमाडांैको बसाइ कोठाभाडा, छोराछोरीको पढाइ, बिहान बेलुकाको छाक टार्नै पर्ने बाध्यताजस्ता कुराले क्याम्पसमा एक पिरियड भए पनि पाइन्छ भन्दै दौडनुपर्ने बाध्यता छ । एक ठाउँमा पढायो अनि अर्को ठाउँमा कुद्यो । त्यसैले आजकल यस्ता शिक्षकलाई ‘हेलमेट टिचर’ भन्ने गरिन्छ ।
चारतिर नदौडे खान पुग्दैन जता पनि दौडने भएका कारण होला क्याम्पस खोल्नेहरू मालिक त्यहाँ पढाउनेहरू उनकहाँ काम गर्न आएका कामदार भएका छन् । सानो कुरामा विश्वास टुटेमा जागिरै चट् हुन्छ । शिक्षाको व्यापारमा फाइदैफाइदा हुने भएकाले सबैको ध्यान त्यतै केन्द्रित छ । शिक्षाको व्यापारमा त्रिकोणात्मक सम्बन्ध छ । काला व्यापारी, तस्कर र दुई नम्बरी गर्नेहरूले पैसा हालेका छन्  । पैसा नहाले पनि नामका लागि सेयर दिएको हँुदा नेताले संरक्षण गरेका छन् । त्रिविका पूर्वभिसी रेक्टर, रजिस्टार, परीक्षा नियन्त्रक, प्रोफेसरद्वारा सञ्चालित भन्दै दैनिक पत्रिकामा विज्ञापन गरेका छन्, फोटो छापेका छन् र बुद्धिजीवी वर्गवाट चलाइएको भनी भ्रम बाँडेका छन् । व्यवहार कसाहीको जस्तो छ तर पनि हामी शिक्षक यस्तै क्याम्पसमा एक–दुई पिरियड खोज्दै हिँड्न बाध्य छौँ ।
पैसा तिर्छु भनेर पनि नपाइने यो कस्तो अभावै अभावको ठाउँ † मनमनै रिस उठेको थियो । तीनवटा क्याम्पसमा पिरियड टिप्दै हिँड्नुपर्नेे बाध्यता तर कति दिन भयो पेट्रोल राख्न पाएको छैन । रिजर्बमा चल्दासम्म पनि क्याम्पस दौडँदा ठिक्क भयो अब थन्क्याउनुबाहेक अरू उपाय भएन । भोलिदेखि क्याम्पस कसरी जाने ? फेरि पढाउने गरेका क्याम्पस पनि एउटा पूर्व अर्को पश्चिम छ । कसैलाई भनसुन गरेर पेट्रोलको व्यवस्था मिलाउन सक्ने पनि क्षमता छैन । क्याम्पसमा पेट्रोल नभएर आउन पाइनँ भन्न पनि भएन । अब के गर्ने म रनभुल्लमा परेँ । माइक्रोबसमा जाँदा दुईवटा फेर्नुपर्ने, जामका कारण समयमा पुग्न पनि कठिन तर जानै पर्ने बाध्यता । पहिलो कक्षा भनेको बानेश्वरको क्याम्पस थियो । आºनो साधन हँुदा पो समयको व्यवस्था गर्न सकिन्थ्यो अरूको भर पर्नुपरेपछि त बेलैमा उठ्नुपर्‍यो । त्यसैले सुत्नुअगाडि ४ बजेको घन्टी लगाएर सुतँे । ४ बजे उठी नित्यकर्म गरी क्याम्पस जान माइक्रोबस चढँे ।
+२ मा नयाँ भर्ना हुने समय भएको हुँदा माइक्रोबसभित्र प्राय: भर्खर एसएलसी पास गरेका विद्यार्थी थिए । उनीहरू अब कहाँ पढ्ने, के पढ्ने आदि जिज्ञासाका साथ कुरा गरिरहेका थिए । म पनि उनीहरूसँगै छेउमा बसेँ । उनीहरू भन्दै थिए ‘मलाई साइन्स पढ्न पटक्कै मन छैन तर के गर्ने ममी बाबाले साइन्स नै पढ् भन्नुहुन्छ ।’ अर्कीले भनी ‘त्यही त भनेको मेरो बुबाले पनि तल गीताले तैँले जति प्रतिशत ल्याएकी छे, उसले साइन्स पढ्न सक्ने तैँले नसक्ने हुन्छ ? भन्नुहुन्छ ।’ पढ्ने कुरा पनि ममी बाबाले भनेकै पढ्नुपर्ने कस्तो † एकछिन टक्क अडिएर निरन्तर पढाइकै बारेमा गफ गरिरहे । अर्को साइडमा केटाहरू गफ गर्दै थिए ‘जे होस स्कुलले एसएलसीको बेलामा हाम्रो फारम मिलाएर पठाएको हँुदा एकै ठाउँमा परियो अनि गफ गरी–गरी लेखियो र डिस्ट्रिङ्सन ठोकियो तर अब +२ मा कस्तो हुन्छ ।’ अर्कोले भन्यो ‘त्यो पनि निजी त हो मिलाइहाल्छ नि । राम्रो नम्बर नल्याए विद्यार्थी आउँदैनन् भनेर उनीहरू नै लाग्छन् ।’
‘+२ मा त प्रश्नपत्र नै आउट हुन्छ रे झन् मजा हा हा हा हा …।’
‘त्यो कलेज त मेरो ड्याडीको साथीको हो । प्रिन्सिपल, डाइरेक्टर सबै ड्याडीले भनेको मान्छ केको चिन्ता ड्याडीलाई भन्न लगाउँला ।’
‘छोड्दे यार यस्ता कुरा बरु तेरो भित्रैदेखि के पढ्ने इच्छा छ भन् न ।’
‘म त अंग्रेजी र सोसोलोजी लिएर पढ्थेँ अनि एनजिओ खोलेर गाउँ गाउँमा गएर काम गर्थें ।’
अर्कोले भन्यो ‘यदि मैले विषय र कलेज छानेर पढ्न पाउने हो भने एउटा राम्रो चित्रकार हुने थिएँ, तर के गर्नु ममी बाबाले दिनुहुन्न ।’ ‘मुस्कान पनि कस्तो राम्रो गीत गाउँछ उसलाई साइन्स कमर्स केही पढ्न मन छैन रे । उसले संगीत पढ्न खुब रहर गरेको छ तर उसको ममी बाबाले साइन्स कि कमर्स पढ् भन्नुभएको छ’ भन्दै थियो । उनीहरूका यस्तै कुरा सुन्दासुन्दै बाटो काटेको थाहै पाइनँ । ओर्लने ठाउँ आइपुग्यो । म आर्लिएँ अनि क्याम्पसतर्फ लागेँ । मेरो दिमागमा तिनीहरूले भनेका कुरा खेलिरहेका थिए । विद्यार्थीले कसरी क्याम्पस छान्दा रहेछन्, पढ्ने विषय छान्न आमाबुबाको कति दबाब हँुदो रहेछ, क्षमतालाई भन्दा प्रतिशतलाई कति महत्त्व दिँदा रहेछन् भन्ने कुरा थाहा भयो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय