विपक्षी दलहरुले आंशिक वजेट नरोक्ने

काठमाडौं, १७ असार । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले कामचलाउ सरकारलाई आंशिक बजेट ल्याउन बाटो खुल्ला गरिदिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आज आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘सरकारले पूर्ण बजेट ल्याउन सक्दैन, आशिंक बजेट ल्याउन हामी रोक्दैनौं ।’
राष्ट्रपतिले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अब एक हप्ताभन्दा बढी समय दिन नहुने भन्दै महतले तत्काल सहमतिको सरकार बनाउन आह्वान गर्न आग्रह गरेका छन् ।
शान्ति मन्त्री टोपबहादुर रायमाझीले कांग्रेस र एमालले नचाहे पनि पूर्ण बजेट ल्याउने बताए । उनले भने, ‘हामी पूर्ण बजेट ल्याएर देखाइदिन्छौं, साउन–१ भित्र बजेट आउँछ ।’
एमाले उपाध्यक्ष विद्या भण्डारीले बाबुराम भट्टराईलाई हटाउन राष्ट्रपतिले हिम्मत गर्नुपर्ने बताइन् । उनले अटेर गरेर बस्ने प्रधानमन्त्रीलाई हटाउनु भन्दा अर्को विकल्प नरहेको बताईन ।
नेकपा–माओवादीका सचिवदेव गुरुङले अध्ययादेशबाट आउने बजेटलाई राष्ट्रपतिले रोक्नुपर्ने बताए । ‘यो सरकारले कुन धारा टेकेर बजेट ल्याउँछ ?,’ उनले भने, ‘सहमतिविना यसले केही गर्नै सक्दैन ।’

प्रतिक्रिया