प्रजातन्त्रको विपक्षमा कोही जान सक्दैन

काठमाडौं, १७ असार । कांग्रेस सभापति सुशील कोइरालाले आफूहरुले मेलमिलापको नीति लिएर अगाडि बढेकै कारण लामो समयदेखि चल्दै आएको मुलुकको सशस्त्र द्वन्द्व अन्त्य भएको बताएका छन् ।
कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीका अवसरमा नेपाल महिला संघले आज काठमाडौंमा आयोजना गरेको कार्याक्रममा उनले मेलमिलापको नीतिलाई अंगालेरै मुलुक शान्तिप्रक्रियाको मार्गमा अघि बढेको बताए । उनले भने, ‘मेलमिलापको नीतिका कारण एमाओवादीलाई गिरिजाबाबुले हालको अवस्थामा ल्याउनु भएको हो ।’
उनले माओवादीलाई सहमति भन्दा बाहिर नजना आग्रह गर्दै सहकार्यको बाटोमा चल्न सुझाव दिए ।
‘विश्वमा प्रजातान्त्रिक प्रक्रिया मौलाएको छ,’ उनले भने, ‘प्रजातन्त्रलाई ओझेलमा पारेर निरंकुशता लाद्ने प्रयास हुन्छ भने कांग्रेसलाई मान्य हुँदैन ।’ उनले प्रजातन्त्रको रक्षाका लागि संघर्ष जारी राख्ने बताए ।
पार्टीमा एकता बनाई राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका सभापति कोइरालाले सबै भन्दा ठूलो अस्त्र एकतानै रहेको बताए । उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्छ, सबैले सहयोग गर्नुस् ।’
कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तामाङले स्वर्गीय गिरिजाप्रसाद कोइरालका कारण मुलुकले परिवर्तन पाएको भन्दै मिलेर जान सबैलाई आग्रह गरे । उनले भने, ‘अधिकार पाउनका लागि गिरिजाप्रसाद कोइरालाकै मार्ग अनुसारण गर्नु पर्छ ।’

प्रतिक्रिया