सुधारको आशामा सेयर बजार

काठमाडौं, १७ असार । संविधानसभाको अवसानपछि सेयर बजार क्रमश: बियरिस ट्ेरेन्डमा गएको छ । जबसम्म सहमतिको सरकार बन्दैन त्यतिन्जेलसम्म सेयर कारोबारमा खासै चहलपहल आउन सक्ने अवस्था देखिएको छैन । त्यसैले आमनागरिक अझ भनाँै १५ लाख लगानीकर्ताले हतारिएर सेयर किन्नुपर्ने अवस्था छैन भन्दा पनि हुन्छ । देशमा चुलिएको अन्योल राजनीतिक अवस्थाको कारण सेयर बजारमा तत्काल नाफा आर्जन गर्न सक्ने ठाउँ छैन ।
सेयरमा लगानी गर्न सूचीकृत कम्पनीको वास्तविक अवस्थाले महत्त्वपूर्ण भूमिका खेलेको देखिँदैन । यसमा सबैभन्दा बढी राजनीतिले नै प्रभाव पारिरहेको हुन्छ । तसर्थ सहमतिको सरकार बन्ने निश्चित भएमा मात्र लगानी गर्नु उपयुक्त होला ।
यससँगै सरकारविहीनताको अवस्था र सरकारसँग दीर्घकालीन नीति अभावमा मुलुकको आर्थिक अवस्था पनि डाँबाडोल बन्दै गइरहेको तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयले जेठ मसान्तसम्ममा विकास बजेट ४० अर्ब ३५ करोड रुपियाँ मात्रै खर्च भएको विवरण सार्वजनिक गरेको छ जबकि यसमा ७२ अर्ब ६१ करोड रुपियाँ विनियोजन गरिएको थियो ।
विकास बजेट खर्च हुन नसक्नु भनेको सरकारले विकास निर्माणको कार्य गर्न सकिरहेको छैन भन्नु हो । यस्तो अवस्थामा देशको विकास कसरी होला ? छुट्टयाएको रकमसमेत खर्च हुन नसक्नु हाम्रोजस्तो मुलुकका लागि एउटा ठूलो दुर्भाग्य हो । यस्तो अवस्थामा सेयरमा सुधार आउला भनेर कल्पना गर्न सकिँदैन ।
चालु आर्थिक वर्षको दस महिनामा कुल वस्तु व्यापार घाटा १९ दशमलव ७ प्रतिशतले वृद्धि भई ३ खर्ब २२ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु व्यापार घाटा ५ प्रतिशतले बढेको थियो । त्यसैगरी यो अवधिमा शोधनान्तर स्थिति हालसम्मकै उच्च १ खर्ब १० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ३२ करोड रुपियाँले शोधनान्तर घाटा थियो । सोधनान्तर बचत एक खर्ब पुग्नुले विकास बजेट खर्च हुन नसकेको, बैंक तथा वित्तीय संस्थासँग रहेको रकम लगानी हुन नसकेको जस्ता कुरालाई देखाउँछ । अर्थमन्त्रीले सोधनान्तर बचतलाई उपलब्धि माने पनि यसले देशलाई सही मार्गमा लैजाँदैन ।
हाम्रो अर्थतन्त्रलाई हेर्दा रेमिटयान्सले मात्रै चलेको अवस्था छ । अघिल्लो आवको वैशाख मसान्तसम्ममा १३ दशमलव २ प्रतिशतले वृद्धि भएकोमा चालु आवको दसमहिने अवधिमा २३ दशमलव ९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५४ करोड २० लाख रुपियाँ प्राप्त भएको छ । यसले पनि रेमिटयान्सले मात्रै मुलुक चलेको हो कि जस्तो देखिन्छ । यस्ता कुराले देशको आर्थिक अवस्था विपरीत दिशातर्फ गइरहेको देखाउँछ ।
यता बैंकहरूले निक्षेपमा ब्याजदर घटाए पनि कर्जामा खासै घटाएका छैनन् । जबसम्म उनीहरूले कर्जाको दर घटाउँदैनन् तबसम्म सेयरमा लगानीकर्ता आकर्षित हुन सक्दैनन् । अहिले राजनीतिक अन्योलसँगै बैंकको ब्याज उच्च भएका कारण सेयरमा लगानी गर्नेले कर्जा लिएर लगानी गर्न चाहिरहेका छैनन् । उच्च ब्याजमा कर्जा लिएर लगानी गर्दा लगानीकर्तालाई नोक्सानी हुने भएकोले बैंकमा निक्षेप बढे पनि बजारतर्फ पैसा आकर्षित हुन सक्दैन । प्रतिफल कम भएकैले पैसा हुनेले पनि बजारमा लगानी गरेका छैनन् । अहिलेको अवस्थामा सुधार आउन बैंक ब्याजदर घट्नुपर्छ । यससँगै राजनीतिक सहमति पनि हुनुपर्छ । केही समयअघि ८/९ प्रतिशतमा पाइने सेयर धितो कर्जाका लागि अहिले पनि १७/१८ प्रतिशतसम्म रहेको छ ।
बैंकको ब्याज माथि जाँदा सेयर बजारमा लगानी कम हुने र ब्याज तल आउँदा बजारमा लगानी बढ्ने हुन्छ । लगानी बढ्दा सेयर बजार बढ्ने गरेको छ । विश्वका अन्य धेरै मुलुकमा ब्याजदर र सेयर बजारको यस्तै सम्बन्ध देखिने गरेको छ तापनि अघिल्लो आवको सुरुआतकै दिन अर्थात् १ साउनमा सेयर बजारमा वृद्धि भएको थियो । बजार खुलेको पहिलो दिन नेप्से परिसूचक १९ दशमलव १८ अंकले वृद्धि भएको उदाहरण हामीसँग छ । अहिले पनि आगामी आवको बजेट ल्याउने चटारोमा सरकार रहेको छ ।
अब आउने बजेटले सेयर बजारलाई कसरी लिन्छ त्यो पनि हेर्नुपर्ने हुन्छ । अघिल्लो आवदेखि बजेटमा सेयर बजारले केही न केही प्राथमिकता पाएको अवस्था छ । अबका दिनमा सरकारको रवैया के हुन सक्छ त्यसको पनि मूल्यांकन गर्ने खाँचो बढेको छ । विगतदेखि नै उठाउँदै आएको सेयर बजारको आधुनिकीकरण र विस्तारको कार्यक्रम अझ पनि लागू हुन सकेको छैन । सामूहिक लगानी कोष, गैरआवासीय नेपालीलाई सेयर बजार प्रवेशमा सहज तथा इन्टरनेट बेसको केन्द्रीय निक्षेप प्रणाली आउने भनेको धेरै समय बितिसक्यो तर व्यवहारमा आउन सकेको छैन । यसतर्फ सरकारले कस्तो नीति ल्याउला ? त्यसको पनि मूल्यांकन गर्नुपर्ने खाँचो बढेको छ । त्यसैले सेयरमा देखिएको अन्योल अझै केही समय देखिने निश्चित छ ।
नेपाल स्टक एक्सचेन्जमा गत साता १ सय ३ कम्पनीको कारोबार भएको छ जसमा ४ हजार ३ सय ९५ कारोबारबाट १७ करोड ३१ लाख ३० हजार रुपियाँबराबरका ५ लाख ७८ हजार ८ सय ६४ कित्ता सेयर खरिदबिक्री भएका थिए । अघिल्लो साता पनि १ सय ११ कम्पनीको कारोबार भएको थियो जसमा ७ हजार ४ सय ६७ कारोबारबाट ३० करोड १८ लाख ५२ हजार रुपियाँबराबरका १० लाख १४ हजार ९ सय ५१ कित्ता शेयर खरीदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४२.६४ प्रतिशतले ह्रास भएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १२ करोड १६ लाख रुपियाँबराबरको कारोबार भएको छ । यो कुल कारोबारको ७०.२८ प्रतिशत हो ।

प्रतिक्रिया