बाघ गर्जिएको सुन्दा सातोपुत्लो उड्थ्यो

भाइबहिनी हो, मेरो जन्म स्याङ्जाको वालिङ–७ मा भएको हो, ७२ वर्षअगाडि । पोखराबाट बुटवल जाने मूल बाटोमा वालिङ पर्छ । हामी सानो छँदा त्यहाँ मोटरगाडी चल्ने बाटोघाटो नै थिएन । मानिसहरू पैदलै ओहोरदोहोर गर्थे । चारैतिर फुकेको फराकिलो फाँट, स्वाँ–स्वाँ गरेर सुसाउँदो अरमादी खोला, वरिपरि अग्ला डाँडा । जंगल–जंगलमा बाघको ‘ह्वाङह्वाङ’ गर्जन र मृगको ‘हाउहाउ’ क्रन्दन हाम्रो घरबाट टड्कारो सुनिन्थ्यो । बाघको डरलाग्दो आवाज सुनेर मेरो सातोपुत्लो उड्थ्यो ।
दुई भाइ र तीन बहिनीमध्ये म घरको जेठो सन्तान । सानोमा फू गर्दा ढल्ने फुकिढल थिएँ । त्यसैले सबैले प्यारो गरेर ‘लुरा, लुरा’ भनेर बोलाउँथे । बुबा पूरै निरक्षर व्यक्ति । विशुद्ध किसान हुनुहुन्थ्यो । गाउँमा आफैँले अन्न नफलाए मुखमा माड लाउन पनि पाइन्नथ्यो । यातायातको सुविधा नभएकाले अन्न किनबेच हुँदैनथ्यो ।
पाँच वर्षको उमेरमा धुलौटे पाटीमा धुलो राखेर काठको छेस्काले कखरा लेख्न र पढ्न पितामह (हजुरबा) ले सिकाउनुभयो । हाम्रो गाउँमा स्कुल नामको कुनै जन्तु नै थिएन । त्यो भनेको के हो नै थाहा थिएन । पछि ३ किमी टाढा भुम्रे भाषा पाठशाला स्थापित भयो । त्यहाँ एक गुरुले आफ्नो तजबिजले पढाउँथे, त्यो पनि औँसी र पूर्णे बिराएर । मलाई चाहिँ त्यहाँ गएर पढ्ने मौकै जुरेन ।
घरैमा हजुरबाबाट ‘अमरकोश’, ‘रघुवंश’ र ‘सारस्वतकोश’ पढेँ । पछि गाउँका बिजुली पण्डितसँग ‘चाणक्यनीति, वेद र चण्डी’ को पनि अध्ययन गरेँ । बिजुलीझैँ छिटो र छ्यांगै हुनेगरी संस्कृतका श्लोकहरूको अर्थ बुझाउने भएकाले मोहनशरण अर्याललाई सबैले बिजुली पण्डित भन्थे । भाइबहिनी हो, तिमीहरूलाई जसरी स्कुल भर्ना भएर पढ्ने अवसर मलाई मिलेन ।
त्यति बेला गाईवस्तु चराउन लैजाने ठाउँमा मुखियालाई तिरो तिनुपथ्र्यो । पत्यान (पातैपात) र कड्यान (काँडा) भएको ठाउँमा गाईवस्तु चराउन जाँदा गाउँठाउँका खेल खुब खेल्थ्यौँ । डन्डीबियो, गिर, घोचे (लठ्ठी भुइँमा गाडेर सोझै मच्चाएर अर्को लठ्ठीले हिर्काई गाडिएको लठ्ठीलाई लगाउनुपर्ने र जित्नुपर्ने) आदि खेल बढी खेलिन्थे । गोलो गह्रौँ ढुंगा उचालेर फाल्ने ठेलो (छेलो) खेल पनि खेल्थ्यौँ । मूलबाटामा कालो लुगा लगाएर हिँडेको मिलिसिया (सेना) देख्दा कुन्नि किन हो, मलाई साह्रै डर लाग्थ्यो । सानोमा म ठूलासँग अदबका साथ बोल्ने र निकै सन्तोषी खालको बालक थिएँ रे †
पछि गाउँबाट ५ किमी टाढा आधार स्कुल खुल्यो । मैले पनि खेतीपातीमा सघाउनुपर्ने भएकाले बुबाले मलाई त्यहाँ पनि पढ्न पठाउनुभएन । उति बेला मकै, भटमास र कोदाको रोटी खाजा खाने चलन थियो । मकैको आटो (पिठो) को ढिँडो हाम्रो एक मात्र सर्वसुलभ र प्रिय खाना थियो । भात त ठूलो चाडपर्वमा वा घरमा ज्वाइँचेलाजस्ता पाहुनापासा आएका बेला मात्र खान पाइथ्यो । उनीहरूका स्वागत भातले गर्दा ठूलो सत्कार भएको मानिन्थ्यो । पाहुना आएको मौका छोपेर हामी फुच्चेहरू पनि टन्न डकार्ने गरी तीन थाल भात खान्थ्यौँ । ओहो † भाइबहिनी हो, त्यो भातको सम्झना आउँदा अहिले पनि पेटमा खुरुर्र मुसो कुद्ने गर्छ ।
एकपटक आमाले पूजा गर्ने गरेको लक्ष्मीको चित्र अंकित चारढोके डबल पूजाथानबाट चोरेर मिठाइ, पिपी र आधा केजी चिनी किनेर खाएँ । साहुले आमालाई भनिदिएछन्, आमाले पूरै एक रुपियाँ तिरेर त्यो डबल फिर्ता ल्याउनुभएछ । तर, चोर्दा पनि आमाले गाली होइन, उल्टै माया पो गर्नुभयो । आमाको माया देखेर मेरो कलिलो मगजले अब चोर्नु हुन्न भन्ने ठम्याएछ । त्यसपछि कहिल्यै चोरी गरिनँ ।
एकपटक हजुरबा साना बच्चालाई पढाइरहनुभएको थियो । पितामही (हजुरआमा) हजुरबालाई हुक्का बनाइदिन मकलमा आगो सल्काइरहनुभएको थियो । कोइला टिप्न हजुरआमासँग चिम्टा थियो । म, चिम्टा तन्काउने र छाड्ने गर्दै थिएँ, त्यो चिम्टा प्याट्टै भाँचियो † धन्य, हजुरआमा भित्र कोठामा गएको मौका परेछ नत्र डिम्केचिउरा खानुपथ्र्यो । मैले त्यहाँबाट टाप ठोकेँ  । दुई–तीन घन्टा बाहिर बिताएर अब त त्यो कुरा बिर्से होलान् भनेर घर आएँ । हजुरबाले भन्नुभयो– ‘ए लुरा, कहाँ गएर आइस्, त्यो हुक्का ले त ।’ मैले हजुरबालाई हुक्का दिएँ । उहाँले हुक्काको नलीले मेरो टाउकामा प्याट्ट हिर्काउनुभयो । तिरिमिरि झ्याइँ तोरीको पहेँलो फूल देखेँ । टाउकामा आएको टुटुल्को छाम्दै रुँदैरुँदै हजुरआमा भएको ठाउँमा गएँ । क्या फसाद, हजुरआमा पनि हुक्का खानुहुन्थ्यो । चिम्टा भाँचेको झोँकमा उहाँले पनि बेस्सरी भकुर्नुभयो ।
म १९–२० वर्षको हुँदा बुबाले एक दिन मेरो हातमा खर्चबर्च दिँदै भन्नुभयो, ‘जा, अब केही इलम सिकेर आइज ।’ नुवाकोटमा गएर मैले नेपाली कागज र बाँसको निगारले लेख्दै ऐन र स्रेस्ताको काम सिकेँ । पूरै सिपालु भएपछि घर फर्कें । मलाई खेतीको काम गर्न मन लाग्दैनथ्यो, पढ्न मन लाग्थ्यो । एक दिन एक्कासि घरमा कसैलाई केही नभनी ६० कोस बाटो ६ दिनमा हिँडेर काठमाडौं आएँ । दुई वर्ष लगाएर उत्तरमध्यमा (११ कक्षा) पास गरेँ । अरू बेला ६ रुपियाँ र जाँचका बेला १२ रुपियाँ फिस तिर्नुपथ्र्यो । मोहनमान वज्राचार्य गुरुले सुकुलमा बसाएर पढाउनुहुन्थ्यो । उहाँले हरेक विषयको नोट बनाउनुभएको थियो । हामी त्यसलाई आफ्नो कापीमा साथ्र्यों । त्यसले गर्दा मेरो अक्षर पनि राम्रो हुँदै गयो ।
भाइबहिनी हो, नेपाल राष्ट्रिय विद्यापीठ, वीरगन्जले प्रवेशिका परीक्षा गराउने सरकारी मान्यता पाएको हुँदा मैले त्यही विद्यापीठबाट २०२३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको हुँ ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया