होचापुड्काले खोले फुडल्यान्ड

काठमाडौ : एक कार्यक्रम, जहाँ २५ जनाभन्दा बढी व्यक्ति देखिँदैनथे । अतिथिहरू कानेखुसी गर्दै थिए, जो पनि फाइदा हुने ठाउँमा मात्र पुग्दा रहेछन्, यहाँ डान्सबार मात्रै खुल्ने भए पनि अलिक मान्छे थपिँदा हुन् ।
नेपाल होचापुड्का कलाकार संघले बौद्धमा खोलेको लिटिलस्टार फुडल्यान्ड उद्घाटनको माहोल यस्तै थियो– शनिबार । यी होचा कलाकारको यो पहलले अन्य कलाकारलाई पनि स्वरोजगारको बाटो खुलेको उपस्थित संगीतप्रेमी सुनाउँदै थिए । युवा स्वरोजगार कोषका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पुण्यप्रसाद रेग्मीले चाहिँ फुडल्यान्ड जन्मिए पनि आगामी दिनमा लगानी डुब्ने हो कि भन्ने चिन्ता देखाए । उनले भने, ‘चल्ने ठाउँमा यो फुडल्यान्ड बनेन, व्यापारका लागि केही अपायक पो हुने हो कि ?’ आफ्नै खुट्टामा उभिने सामूहिक अभीष्ट बोकेका होचा कलाकारलाई हौस्याए– तैपनि आफ्नो तर्फबाट हुनेसम्मको सहयोग गर्नेछु । मिस्टर काठमाडांै–२०१० सुरज प्रजापति, व्यावसायी शिव कट्टेल, सुदर्शन थापा, तीर्थ थापा तथा कलाक्षेत्रका अन्य व्यक्तित्व पनि उनीहरूलाई हौस्याउन पुगे । क्यानाडा, अस्ट्रेलिया र रोमानियाका विदेशी नागरिक पनि थिए जो होचाहरूको ठूलो कामबाट प्रभावित   देखिन्थे ।
नेपाल होचापुड्का संघका केही व्यक्तिहरूको सहकार्य तथा युवा स्वरोजगार कोषको लगानी एवं एबिलिज फाउन्डेसन फिनल्यान्डको सहयोगमा सो फुडस्टार स्थापना भएको हो । युवा स्वरोजगार लगानी कोषबाट पाँच लाख रुपियाँ ऋण लिइएको र कुल ६ लाख रुपियाँको लगानी रहेको होचापुड्का संघका अध्यक्ष लोकनाथ ढकालले बताए । फुडल्यान्डमा लोकनाथसहित सुन्दरी मिश्र, लोकनाथ ढकाल, सागर ढकाल, किरण परियार, रीतु पौडैल, सीता खत्री, देवराज घिमिरे, चन्द्रसिंह थापाको संलग्नता छ ।  (क्रेसुना मास्के, प्रशिक्षार्थी)

प्रतिक्रिया