सहमतिमा आउन सुझाब

काठमाडौं, १७ असार । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोली राजनीतिक भेटघाटमा व्यस्त छ । शनिबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसित टोलीले छुट्टाछुट्टै भेटेर नेपालको परिवर्तित राजनीतिक अवस्था, शान्तिप्रक्रियाका बाँकी काम, नयाँ संविधान निर्माणमा दलहरूबीच देखिएका असहमतिलगायत विषयमा छलफल गरेको छ ।

नेताहरूसितको भेटमा टोलीले नेपालमा शान्ति स्थापना र दिगो विकास होस् भन्ने चाहना चीनको रहेको जनाएको छ । अहिलेको संकटबाट देशलाई निकास दिन दलहरू सहमतिमा आउनुपर्ने टोलीको सुझाब छ ।
एकीकृत माओवादी अध्यक्ष दाहालसित भएको भेटवार्तामा चिनियाँ टोली नेता आई पिङले संविधानसभा विघटन, शान्तिप्रक्रियामा भएका काम र दलहरूबीच अहिले बढिरहेको दूरी र त्यसको निकासबारे जिज्ञासा राखेका थिए । जवाफमा दाहालले दलहरूबीच सहमतिका लागि आफूले पहल गरिरहेको बताएका थिए । चिनियाँ टोलीले माओवादी विभाजन भएका विषयमा पनि चासो राखेका थिए ।
त्यस्तै, बिहान टोलीले कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेको छ । चिनियाँ टोलीसित सभापति कोइरालाले अहिलेको राजनीतिक र संवैधानिक संकटको निकास दलहरूबीचको सहमतिबाट मात्र सम्भव रहेको बताए । त्यसका लागि कांग्रेसले र आफूले व्यक्तिगत रूपमा पहल थालेको उनले बताए ।
दलहरूबीचको सहमति, सहकार्य र एकताबाट मुलुकलाई निकास दिनुपर्ने मान्यतामा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै कोइरालाले सोहीअनुसार मुलुकलाई निकास दिने चिनियाँ टोलीलाई जानकारी दिएको कोइरालाका प्रेस सल्लाहकार विपुल पोखरेलले जानकारी दिए ।
माओवादी नेतृत्वको सरकारले एकलौटी रूपमा संविधानसभा भंग गरेको आरोप लगाउँदै कोइरालाले दलहरूबीच सहमति निर्माण नै नगरी नयाँ निर्वाचनको घोषणा गरिएकाले सहमतिको वातावरण बिग्रिएको बताएका थिए ।
भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलले नेपालको वर्तमान राजनीतिक संकट, शान्तिप्रक्रिया, संविधान निर्माणमा पार्टीबीच देखिएको असहमति र आगामी निकासबारे चासो र चिन्ता व्यक्त गरेका थिए । उनीहरूले नेपालका राजनीतिक दलहरूले छिट्टै मुलुकलाई निकास दिनेमा आशा व्यक्त गरेका थिए । जवाफमा सभापति कोइरालाले मुलुकमा उत्पन्न जटिल परिस्थितिलाई अनुकूल बनाउँदै लैजानुको विकल्प नरहेको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकार रहेसम्म सहमति निर्माण हुन नसक्ने बताएका थिए ।
त्यस्तै, एमाले अध्यक्ष झलनाथ खनालसितको भेटवार्तामा चिनियाँ टोलीका नेता पिङले दलहरूबीचको सहमतिबाटै नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण टुंगिने आशा व्यक्त गरेका छन् । सहमतिमै संविधान निर्माणको कामले तीव्रता पाउने विश्वास चीनले गरेको उनले बताएका हुन् ।
खनाललगायत एमाले नेतालाई भेट्न पिङ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार बिहान एमाले केन्द्रीय कार्यालय बल्खु पुगेको थियो । ‘दलहरूको सहमतिमा शान्ति र संविधान निर्माणले पूर्णता पाओस् भन्ने चिनियाँ नेताहरूको चासो थियो,’ भेटपछि खनालले भने, ‘चीनले नेपालमा राजनीतिक स्थिरता र आर्थिक समृद्धि चाहेको छ भन्ने कुरा राख्नु छ ।’
भेटमा खनालले नेपाल र चीनबीच अत्यन्त घनिष्ट मित्रता र असल छिमेकीको सम्बन्ध रहेको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनले बहुआयामिक सहयोगात्मक सम्बन्ध विकास गरेकामा सन्तोष व्यक्त गरेका थिए । उनले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटमा नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र पोलिटब्युरो सदस्य केशव बडालसहित सहभागी रहेको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले बताए ।
चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्य तथा उपमन्त्री आई पिङ नेतृत्वको टोली शुक्रबार नेपाल आएको हो ।

प्रतिक्रिया