मेरो दायित्व थपिएको छः राष्ट्रपति

काठमाडौं, १६ असार । राष्ट्रपति डा.रामवरण यादवले संसद नरहेको अवस्थामा संविधान अनुसार आफूमा केही दायित्व थपिएको बताएका छन् ।
शान्ति र संविधानका लागि पत्रकार सरोकार समितिसँग आज शीतल निवासमा भएको भेटघाटका क्रममा डा.यादवले संसद नरहेको अवस्थामा संविधान भित्र रहेर आवश्यक परेमा दायित्व पुरा गर्न तयार रहेको बताए ।
‘संसद नभएको अवस्थामा राष्ट्रपतिमा केही दायित्व थपिएको छ,’ उनले भने, ‘थपिएको दायित्व मैले प्रयोग गरेको छैन, आवश्यक परे संविधान भित्रै रहेर दायित्व पुरा गर्नुपर्छ ।’
प्रधानमन्त्री र राजनीतिक दलहरुले गल्ती गरेको बताएका उनले अब अन्तरिम संविधान अनुसार सहमति र सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए । ‘दलहरुले त गल्ति गरे÷गरे,’ राष्ट्रपति डा.यादवले भने, ‘तर प्रधानमन्त्रीले पनि गल्ती दोहराएका छन् ।’
संविधानसभाको विकल्प दिन अदालतले भनेको सुझावलाई प्रधानमन्त्रीले पालना नगरेर गल्ती गरेको उनको भनाई थियो ।
सहमति विना सरकारले पूर्ण बजेट तथा नयाँ कार्यक्रम ल्याउन नसक्ने बताएका डा.यादवले भने, ‘नयाँ कार्यक्रम ल्याउन पनि निर्वाचन आचार संहिताले दिदैन ।’
‘संविधान अनुसार वजेट ल्याउन पहल गर्नुपर्छ,’ उनले भने, ‘सहमति खोज्न फेरीपनि प्रधानमन्त्रीलाई भन्छु ।’
यसैवीच, समाजले संविधान निर्माणमा हालसम्म भएका विषयलाई समावेश गरेर नयाँ संविधान जारी गर्ने तर्फ दलहरुलाई दबाव श्रृजना गर्न राष्ट्रपतिसँग आग्रह गरेको छ । समाजका अध्यक्ष टंक पन्तका अनुसार राष्ट्रपतिलाई संविधानको संरक्षकका हैसियतमा निकास दिन अभिभावकत्व निभाउन ज्ञापन पत्र समेत बुझाईएको छ ।

प्रतिक्रिया