कलाकर्मीद्वारा राज्यबाट ठगीएको गुनासो

काठमाडौं, १६ असार । संगीतकर्मीहरुले गीत/संगीतको क्षेत्रबाट आउने राजश्वलाई सरकारले लिने गरेपनि त्यसको संरक्षणमा ध्यान नदिएको गुनासो गरेका छन् ।
अनामनगरस्थित ‘आलाप म्युजिक रेकर्डिङ स्टुडियो’ले आफ्नो प्रथम बार्षिक उत्सवका अवरमा शनिबार आयोजना गरेको चियापान समारोहमा सहभागी संगीतकर्मीहरुले संगीत क्षेत्रको संरक्षण हुन नसक्दा लगानी खेर गईरहेको बताए । संगीतकै कारण एफएम रेडियो र सिआरविटीबाट मात्रै सञ्चार मन्त्रालयले बर्षेनी दस अर्ब भन्दा बढि रोयल्टी उठाउने गरेको भन्दै उनीहरुले गीत/संगीतको क्षेत्रमा संरक्षण अतिआवश्यक भईसकेको बताए ।
उनीहरुले गीत/संगीत क्षेत्रमा स्पष्ट नीति बनाएर लगानीको वाताबरण बनाउन राज्यसँग माग गरे ।
संगीतकार सुदाम थापाले गीत/संगीत भन्दा बाहिरका व्यक्तिले यस क्षेत्रबाट आर्थिक लाभ लिने गरेको बताए । उनले सरकारले संगीत क्षेत्रमा लागेकाहरुका लागि उचित ऐन कानून बनाउन नसक्दा रचनाकार, संगीतकार र गायक मर्कामा परेको उल्लेख गरे । उनले भने, ‘सरकारको गलत नीतिका कारण अधिकांस सिडी पसलहरु धमाधम बन्द हुँदै छन् ।’
अधिवक्ता तथा गायक डा.भीमार्जुन आर्चायले संगीतको संरक्षका लागि राज्यलाई ऐन कानून बनाउन दबाव दिनुपर्ने बताए । उनले भने, ‘संगीत क्षेत्रलाई व्यावसायिक बनाउन कलाकारहरुले पनि ध्यान दिनुपर्छ ।’
पत्रकार एवं रचनाकार विपुल पोख्रेलले राज्यले गीत/संगीतका र कलाकारहरुको संरक्षणका लागि नीति ल्याउन अतिआवश्यक भईसकेको बताए । उनले भने, ‘प्रतिस्प्रधाको बजारमा जाँदा उत्पदकहरुले गुणस्तरलाई विशेष ध्यान दिनुपर्छ ।’
संगीतकार सन्तोष श्रेष्ठले राज्यले संगीत क्षेत्रलाई संरक्षण गर्न नसक्दा रेकर्डिङ स्टुडियोहरु समेत बन्द हुने अवस्थामा पुग्न लागेको बताए ।
स्टुडियो सञ्चालक तथा संगीतकार राजेश क्षेत्रीले सिआरविटी र राज्यको नीतिबाट आफूहरु ठगीएको गुनासो गरे । उनले भने, ‘सरकारले उचित संरक्षण नगरे अबका केही बर्षमा रेकर्डिङ स्टुडियो पनि बन्द हुन्छ ।’
कार्यक्रममा मधुबाबु थापा, चन्द्रकला शाह, शिशिर योगी, सिन्धु मल्ल, रेणु विष्ट, रिता केसी, यादव योगी, शरद अधिकारी सागर, लोकराज अधिकारी, गोविन्द मधुर आर्चाय, प्रकाश रेग्मी, प्रकाश कुशुम्यालगायतका गीत/संगीतको क्षेत्रमा लागेकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया