नेपालप्रति चीनको चासो छ

काठमाडौं, १६ असार । एमाले अध्यक्ष झलनाथ खनालसँग चिनियाँ विदेश विभागका एशिया मामिला सम्बन्धी उप–मन्त्री आई. पिङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले भेटबार्ता गरेको छ ।
एमाले पार्टी मुख्यालय बल्खुमा आज भएको भेटमा चिनियाँ टोलीले नेपालको वर्तमान राजनीतिक संकट, शान्ति प्रक्रिया, संविधान निर्माणमा पार्टीहरुबीच विद्यमान प्रमुख असहमति र आगामी निकासको बारेमा चासो राखेको एमालेले जनाएको छ ।
चिनियाँ टोली प्रमुख पिङ्गले नेपालको वर्तमान संकट समाधान राष्ट्रिय सहमतिबाटै होस् भन्ने चाहेको प्रष्ट पारेको एमाले द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले भने, ‘परिवर्तित विश्व परिस्थितिमा भौगोलिक रुपले अत्यन्त महत्वपूर्ण रहेको नेपालको शान्ति र समृद्धि हाम्रो समेत चासो र चिन्ताको विषय हो ।’
अध्यक्ष खनालले नेपालको वर्तमान संकटको निकास राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने चिनियाँ टोलीलाई आस्वस्त बनाएका छन् । उनले संविधान निर्माणको कामलाई अन्तिम रुप दिन विगतमा भएका सहमतिहरुकै जगमा देशका मुख्य राजनीतिक पार्टीहरुले सहमति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको विज्ञप्तिमा उल्लेख छ ।
उनले संघीयतामा सहमति हुन नसक्दा संविधानसभाको अवसान भएको जानकारी चिनियाँ टोलीलाई गराएका छन् ।
‘नेपाल एक चीन नीतिको पक्षमा अडिग छ,’ उनले भने, ‘चीनले नेपाललाई प्रदान गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्छु ।’
चिनियाँ टोलीसँगको भेटका क्रममा अध्यक्ष खनालका साथै विदेश विभाग प्रमुख के.पी. ओली, महासचिव ईश्वर पोखरेल र पोलिटब्यूरो सदस्य केशव बडाल तथा नेपालका लागि चिनियाँ राजदुत याङ्ग होऊलानको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया