पहिरोले घर पुरिँदा १० को मृत्यु

काठमाडौं, १६ असार । तनहुं र बाग्लुङका विभिन्न स्थानमा अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा १० को मृत्यु भएको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार तनहुँको जामुने–१ टयाक्की डाँडामा शुक्रबार बिहान पहिरोले घर पुरिँदा सातजनाको मृत्यु भएको छ । स्थानीय साइबहादुर विकको घर पहिरोले पुरिँदा विककी २४ वर्षीया पत्नी रूपा, छोरीहरू आठ वर्षीया पूर्णिमा र र ६ वर्षीया देबिया, बहिनी १५ वर्षीया सम्झना, छिमेकीहरू २० वर्षीया सुष्मा विक, दुई वर्षीया रेखा विक र १५ वर्षीया दुर्गा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार साइबहादुर भारतमा रोजगारी गर्दै आएका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव स्थानीय बासिन्दा र प्रहरीले निकालेको तनहुँका डिएसपी गौतमराज कट्टेलले बताए ।
सौर्यका बाग्लुङ समाचारदाताका अनुसार अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाग्लुङको हटियामा तीनजनाको मृत्यु भएको छ । पहिरोले हटिया–३ स्थित टेकबहादुर खत्रीको घर पुर्दा घरमा उनकी पत्नी ६४ वर्षीया पवित्रा, डेरा गरी बस्दै आएका बाग्लुङकै रेस आठका २२ वर्षीया लक्ष्मी सुनार र सुनारका तीन वर्षीय छोरा सुदीपको मृत्यु भएको हो । पहिरोमा पुरिएर बेपत्ता भएका तीनै जनालाई मृत भेटिएको प्रहरीले जनाएको छ । शव स्थानीयवासी र प्रहरी सक्रियतामा डोजर लागाएर निकालिएको थियो ।
त्यस्तै, पहिरोका कारण बाग्लुङ बुर्तिवाङ सडकखण्ड अवरुद्ध भएको छ भने पहिरोले घर पुरिएपछि हटिया–२ बोहरा फाँटका जीवन कार्की र हरिचौरका तेजबहादुर खत्रीको परिवार विस्थापित भएको छ ।

प्रतिक्रिया