अधिकांश सहकारी मापदण्डविपरीत

काठमाडौं, १५ असार । डिभिजन सहकारी कार्यालयले गरेको सहकारी अनुगमनमा अधिकांश सहकारी मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको छ । विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी मापदण्डविपरीत सञ्चालन भएको भेटिएको हो ।

चालु आर्थिक वर्ष ०६८/०६९ मा कार्यालयले गरेको अनुगमनको रिपोर्टमा देखिएको छ । यस वर्षमा एक हजारभन्दा बढी सहकारीको अनुगमन गरेकामा अधिकांश सहकारीले मापदण्ड कार्यान्वयन नगरेको भेटिएको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।
‘अनुगमन गरेमध्ये ९० प्रतिशत बचत तथा ऋण सहकारी रहेका छन्,’ अधिकृत शर्माले भने, ‘ती संस्थामा एउटा न एउटा समस्या भेटिएको थियो ।’ अन्य विषयगत सहकारीका तुलनामा पछिल्लो बचत तथा ऋण कारोबार गर्ने सहकारीमा केही समस्या रहेको बताए ।
अनुगमन क्रममा कार्यक्षेत्रबाहिर गएर कारोबार गरेको, गैरसदस्यलाई कारोबार तथा कर्जा प्रवाह गरेको, कर्जा धितो कार्यक्षेत्र बाहिरको लिने गरेको, खराब कर्जा, तरलता नराख्ने गरेको भेटिएको शर्माले बताए । उनका अनुसार सहकारीलाई फाइनान्स भन्ने, संस्थाको कार्यालय मापदण्डविपरीत, शिक्षा तालिम कमी भएलगायतका विविध समस्या भेटिएका थिए ।
फितलो सहकारी ऐनका कारण ती सहकारीलाई कारबाही गर्न समस्या भएको पनि उनले बताए । ‘ठूलै गल्ती गरेका खण्डमा कार्यालयले मुद्दा चलाउने, प्रहरीलाई खबर गर्ने गरेको छ,’ उनले भने, ‘ससाना समस्या भएका सहकारीलाई गल्ती नदोहोर्‍याउन सल्लाह दिने गरेका छौँ ।’ सबै सहकारीलाई समयसमयमा अनुगमन गरिरहनु आवश्यक रहे पनि जनशक्ति अभावका कारण अनुगमन गर्न नसकेको उनले बताए । ‘कार्यालयमा १८ जनाको दरबन्दी छ,’ शर्माले भने, ‘अनुगमन गर्ने जम्मा आठजना छन्, त्यसले के अनुगमन गर्नु ।’
आगामी आवमा अनुगमनलाई बढाई करिब दुई हजार सहकारी अनुगमन गर्ने लक्ष कार्यालयले लिएको छ । करिब चार हजार सहकारी दर्ता भए पनि २५ सयको हाराहारीमा सञ्चालनमा रहेको अनुमान डिभिजन कार्यालयको छ । सो दर्ता संख्यामध्ये तीन हजार बचत तथा ऋण सहकारी रहेका छन् । सबैभन्दा बढी सहकारी दर्ता र सञ्चालन काठमाडौं जिल्लामा रहेको छ । ती संस्थाले वार्षिक एक खर्बको कारोबार र १० अर्बको सेयर पुँजी रहेको कार्यालयले जनाएको छ । जसमा करिब पाँच लाख सदस्य आबद्ध रहेका छन् । ठग्ने नियतले पनि सहकारी स्थापना गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया