बाढीमा सयभन्दा बढीको मृत्यु

चटगाउँ, १५ असार । बंगलादेशमा सुरु भएको मनसुनी वर्षाका कारण बाढी आउँदा मृत्यु हुनेको संख्या एक सय नाघेको छ । तीन दिनदेखिको अविरल वर्षाका कारण बिहीबार बिहानसम्म एक सयभन्दा बढीको ज्यान गएको जानकारी स्थानीय सुरक्षा अधिकारीले दिएका छन् ।
बंगलादेशको दक्षिण पश्चिमी क्षेत्र चटगाउँमा यस्तो विनाशकारी बाढी आएको हो । अन्य छिमेकी गाउँमा पनि बाढीको प्रकोप देखिएको छ । अविरल वर्षाका कारण सो क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको र त्यसमा परी कयौँ नागरिक हराएको बताइएको छ । सरकारले बाढीपहिरो पीडितको उद्धारका लागि सेना र प्रहरी खटाएको छ । निरन्तर भारी वर्षा र बाढीका कारण उद्धार प्रभावकारी हुन सकेको छैन ।
चटगाउँ क्षेत्रका प्रमुख प्रशासक सिराजुल हक खानका अनुसार जिल्लाको कोक्स बजारमा पहिरो जाँदा मृत्यु भएका ४० जनाको शव प्राप्त भएको छ । बन्दरबनका प्रशासक तारिकुल इस्लामले पहिरोमा पुरिएका एक सय दुईजनाको शव प्राप्त भएको जानकारी दिए । मृत्यु हुनेमध्ये १० जना बालबालिका रहेको बताइएको छ । हराइरहेकाको खोजी भइरहेको छ । बन्दरबनका प्रहरी प्रमुख साइफुल अहमदले पहिरोले घरमा सुतिरहेका एकै परिवारका १२ जनाको मृत्यु भएको छ । (एएफपी)

प्रतिक्रिया