पत्नी र नाबालक छोराछोरीको हत्या

काठमाडौं, १५ असार । कैलाली, झापा र अछाममा अभिभावकले नै धारिलो हतियार प्रहार गरेर पाँचजनाको हत्या गरेका छन् । मारिनेमा दुई महिला र तीन बालबालिका छन् ।

कैलाली टीकापुरस्थित माउन्ट एभरेस्ट होटलमा कुकको काम गर्दै आएका स्याङ्जा बह्राकोट–२ का रेशमलाल पौडेलले बुधबार राति मदिरा सेवन गरेपछि भएको आपसी विवादमा ३५ वर्षीया पत्नी सीताको हत्या गरेका छन् ।
पौडेलले धारिलो हतियारले पत्नीको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटना भएलगत्तै प्रहरी घटना स्थलमा पुगी गम्भीर घाइते भएकी सीतालाई उद्धार गरी उपचारका लागि टीकापुर सामुदायिक अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो । पौडेल दम्पत्तिका अढाई वर्षकी छोरी छिन् ।
यस्तै, पत्नी र छोराछोरी हत्या गरेर फरार भएका भारत मणिपुरका फोक्सान सोभा मणिपुरे पक्राउ परेका छन् । उनलाई प्रहरीले बिहीबार झापा हल्दिबारी सतारबस्तीबाट पक्राउ गरेको हो । उनले सुरालीमा बस्दै आएकी पत्नी र छोराछोरीको हत्या गरेका छन् । जलथल–४ देवीस्थित माइतमा बस्दै आएकी २५ वर्षीया रेविका मणिपुरे र तीनमहिने शिशुको बुधबार हत्या गरेका हुन् । आक्रमणमा गम्भीर घाइते भएका उनका चार वर्षीय छोरा अरुणको पनि उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
यता, अछाम सिद्धेश्वर–१ का मेघराज तिवारीले चार वर्षीया छोरी सरस्वतीको हत्या गरेका हुन् । घरायसी झगडा हुँदा बुधबार राति छोरीलाई ढुंगाले हानेर हत्या गरेका इलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ । ढुंगाले हानेर बेहोस भएकी सरस्वतीलाई उपचारका लागि साँफेबगरस्थित खप्तड मेडिकलमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया