तीन जना महिलाको हत्या

कैलाली, १४ असार । कैलालीको टीकापुरस्थित माउण्ट एभरेष्ट होटलमा करिव एक सातादेखि कुकको काम गर्दै आएका स्याङजा जिल्ला बहाकोट–२ का रेशमलाल पौडेलले पत्नीको हत्या गरेका छन् ।
गएराति करिब साढे एघार बजे मदिरा सेवन गरेर आएका पौडेलले आपसी बिवाद भएपछि ३५ वर्षीया पत्नी सीता पौडेलको हत्या गरेका हुन् ।
पौडेलले धारिलो हतियारले पत्नी सीताको घाटी रेटेर हत्या गरेको ईकालका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
प्रहरीले घटना स्थलबाट गम्भीर घाइते सीतालाई उद्धार गरी उपचारका लागि टीकापुर सामुदायिक अस्पताल लैजादै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रेमसिंह शाहीले जानकारी दिए ।
हत्यामा संलग्न पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर कर्तब्य ज्यान मुद्दा सम्बन्धी कानूनी कारवाहीको प्रक्रिया अघि बढाएको छ । पौडेलकी ढाई वर्षीया एक छोरी पनि रहेकी छन् ।
उता, अछाम जिल्लाको सिद्देश्वर–१, मा एक बालिकाको हत्या भएको छ । सो ठाँउका मेघराज तिवारीले आफ्नै चार वर्षीया छोरी सरस्वती तिवारीको हत्या गरेका हुन् ।
घरायसी झगडा हुँदा बुधबार राति १२ बजे छोरीलाई ढुंगाले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय साँफेबगरले जनाएको छ । ढुंगाले हानेर बेहोस भएकी सरस्वतीलाई थप उपचारका लागि खप्तड मेडिकलमा ल्याउने क्रममा बीच बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।
सामान्य घरायसी झगडामा पनि छोरीको हत्या गर्ने तिवारीलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । सरस्वतीको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा राखिएको छ ।
यसैवीच, कञ्चनपुरमा बुहारीको हत्या गरेको आरोपमा सासुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी मन्जुको हत्या गरेको आरोपमा प्रहरीले उनकी सासु भूवनेश्वरी पन्त, पती रमेश पन्त र देवर तर्कराज पन्तलाई पक्राउ गरेको हो ।
उनीहरुसँगै पक्राउ परेकी मन्जुकी देवरानी कमला पन्तलाई जनमानतमा छोडिएको छ । उनीहरुले मिलेर मन्जुको हत्या गरी शव झुण्ड्याएको मञ्जुका माइती पक्षले आरोप लगाएका छन् ।
असार–७ गते २७ वर्षीया मन्जुको हत्या गरेको उनका बुवा परमानन्द जोशीले बताए । नयाँ बनेको घरको पंखा झुण्ड्याउन बनाईएको ह्याङ्गरमा मन्जुको शव भेट्टिएको थियो ।
जनज्योती बहुमुखी क्याम्पस एमएड दोस्रो वर्षमा अध्यनरत मन्जुका दुई नाबालक छोरा र छोरी छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले घटना शंकास्पद देखिएकोले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया