आबेगमा रहेका दलहरु सहमतिमै आउछन्

काठमाडौं, १४ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुले अहिले आवेग र आक्रोस पोखे पनि निकासका लागि सहमतिमा आउनुको विकल्प नरहेको बताएका छन् ।
सरकारी निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले भने, ‘केही दलहरु अहिले आवेगमा छन्, उनीहरु अन्ततः सहमति आउनु पर्छ ।’
प्रधानमन्त्रीको कुर्सीको हानथापमा आफू नभएको बताउँदै उनले सहमति खोज्न सँधै तत्पर भएको उल्लेख गरे ।
मुर्त सहमति आजको आवश्यकता भएको रहेको भन्दै भट्टराईले सर्वोच्च अदालतको आदेशमा टेकेर आफूले संविधानसभाको नयाँ निर्वाचनको घोषणा गरेको दाबी गरे । उनले भने, ‘निकासका लागि निर्वाचनको अर्को विकल्प छैन ।’
बजेटको कुरामा धेरै अल्मलिन नहुने बताएका प्रधानमन्त्री भट्टराईले सरकारले पूर्ण बजेटनै ल्याउने दाबी गरे । उनले भने, ‘बजेटको विषयमा अन्य दलहरुको पनि त्यति धेरै फरक मत आएको छैन ।’
राजनीतिक सहमतिमा अध्यादेश मार्फतनै बजेट ल्याईने उनले बताए ।
‘बन्द उद्योग खुलाउन राज्यले सवै पहल गर्छ,’ उनले भने, ‘उद्योग बन्द गर्दा राज्य, व्यवसायी र जनता कसैलाई पनि फाईदा पुग्दैन ।’
प्रधानमन्त्रीसँगको भेटका क्रममा महासंघका अध्यक्ष सुरज वैद्यले संक्रमणकालिन अवस्था लाम्बीदै जाँदा नीजि क्षेत्र प्रभावित बन्दै गइरहेको बताए ।
महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले औद्योगिक विकासमा सबै दलहरुले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया