एसएलसी सुन्दरीको रहर म्युजिक भिडियो

काठमाडौं, १४ असार । अहिले सुन्दरी प्रतियोगिताको लहरै चलेको छ । क्षेत्र, जाति, वर्ग, समूह अनेक आधारमा सुन्दरी छानिने क्रम जारी छ । मानौं, महिलाको सुन्दरता कडी जाँच्ने उत्तम माध्यम सुन्दरी प्रतियोगिता नै हो । अनेक तरिकाले सुन्दरी छानिन्छन् । सुन्दरी छान्ने तरिका फरक भए पनि छानिएका सुन्दरीहरूको सपना भने साझा हुन्छ– अभिनेत्री बन्ने । हालै छानिएका एसएलसी प्रिन्सेज सुन्दरीहरूको सपना पनि यस्तै छ । तर, उनीहरू अन्यको जस्तो फिल्मका होइन, म्युजिक भिडियोका अभिनेत्री बन्न चाहन्छन् । म्युजिक भिडियोमा मस्त हुन चाहने यी सुन्दरी हुन्– एसएलसी प्रिन्सेज २०१२ का विजेता दीपिका कार्की, फस्ट रनरअप सम्प्रदा चापागाईं र सेकेन्ड रनरअप मेरिना लामा । उनीहरू भन्छन्, ‘म्युजिक भिडियोका लागि धेरै समय पनि दिनु पर्दैन, छोटो समयमा चर्चा कमाउन सकिन्छ ।’

भर्खरै एसएलसी पास गरेका यी सुन्दरीलाई नाम र करिअर दुवैको उत्तिकै मोह छ, अध्ययन पनि अवरुद्ध होस् भन्ने चाहँदैनन् । प्रतियोगिताको शीर्षउपाधि हात पारे लगतै दीपिकाको करिअरका विभिन्न ढोका खुलेका छन् । ब्युटी प्रतियोगीताबाट उपाधि जितेकाले स्वभावत: ग्ल्यामर क्षेत्रले उनलाई बोलाइरहेछ । तर, ग्ल्यामर क्षेत्रमा लागिनहाल्ने विचार नभएको सुनाउँछिन्, दीपिका । यद्यपि, म्युजिक भिडियोले भने उनलाई लोभ्याएकै छ । किन त ? भन्छिन्, ‘यता थोरै समय दिए पुग्छ, चर्चा पनि छिट्टै कमाइन्छ ।’ जेनेटिक इन्जिनियर बन्ने आफ्नो लक्ष्यमा म्युजिक भिडियोले बाधा नपार्ने उनले देखेकी रहिछन् । ‘अभिनय पनि गर्न सक्छु, कलाकारको क्यारिकेचर राम्रै गर्न सक्छु,’ उनले भनिन्, ‘तर, चलचित्रमा लाग्दिनँ, त्यो मेरो लक्ष्य नै होइन ।’ लिटिल लेडी प्रतियोगिताबाट पनि विभिन्न उपाधि हात पारेकी कार्कीको रुचि एक समय राजनीतितिर पनि रहेछ । तर, राजनीतिभित्र सल्बलाएको अहिलेको अस्तव्यस्त प्रवृत्तिले उनको त्यो रुचि ह्रास गराइदिएछ । ग्ल्यामरबारे उनको बुझाइचाहिँ यस्तो छ– भित्री ट्यालेन्टलाई निचोरेर बाहिर देखाउनु नै ग्ल्यामर हो ।
म्युजिक भिडियोको आकर्षणले फस्ट रनरअप सम्प्रदा चापागाईंलाई पनि कम तानेको छैन । चलचित्र र म्युजिक भिडियोको अफर एकैचोटि आए भिडियोलाई नै प्राथमिकता दिने सोचमा छिन् । ‘मोडलिङ भने मेरो रुचिको विषय हो, त्यसैले म म्युजिक भिडियोसम्म पाए खेल्छु,’ चापागाईंले भनिन् । प्रतियोगिताले आफूमा अनेकौँ क्षेमता विकास भएको बताउने चापागाईंको लक्ष्य भने फेसन डिजाइनर रहेछ । चलचित्रभन्दा म्युजिक भिडियोमा अभिनय गर्न सजिलो र रिजल्ट पनि छिट्टै आउने भएकाले यतातिर मन लागेको उनले बताइन् । आफ्नो मुस्कान र आँखा आकर्षक मान्ने चापागाईं समाजसेवातिर पनि झुकाब राख्दिरहिछन् । भनिन्, ‘पछि गएर बिग्रिएर लागुपदार्थको दुव्र्यसनीमा फसेका बालबालिकाका लागि केही काम गर्नुपर्ला ।’
सेकेन्ड रनरअप मेरिनाचाहिँ मुख्य उपाधि हात पार्न नसके पनि अन्य प्रतियोगितामा शीर्षउपाधिका लागि प्रतिस्पर्धा गरिरहने सोचाइमा छिन् । पाइलट बन्ने उद्देश्य रहे पनि अहिलेचाहिँ ग्ल्यामर क्षेत्रमै रमाउन चाहन्छिन्, उनको रोजाइ पनि म्युजिक भिडियो नै हो । ‘चलचित्र अहिले आफैँमा बदनाम छ, त्यसैले त्यतातिर लागिहाल्दिनँ,’ उनले भनिन् । अरूको नजरमा आफूलाई आकर्षक देखाउनुलाई ‘ग्ल्यामर’ बुझेकी छन् मेरिनाले । यी किशोरी सुन्दरीचाहिँ आफ्नो आँखालाई आकर्षक मान्छिन् । ‘मेरा आँखाले मुखले भन्दा धेरै कुरा बुझाउन सक्छन्,’ उनले लजाउँदै सुनाइन् ।

प्रतिक्रिया