‘सिरिया युद्धको अवस्थामा’

दमास्कस, १४ असार । सिरियाली संकट गहिरिँदै जाँदा राष्ट्रपति बासर अल असदले थप कडा रूपमा प्रस्तुत हुने छाँटकाँट देखाएका छन् । नयाँ मन्त्रिमण्डल र सरकारी सुरक्षा निकायलाई आतंकवादीले गर्ने आक्रमण रोक्न सशक्त ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् ।
देशमा हत्या र हिंसाको शृंखला बढ्नुमा आफू र सिरियाली सुरक्षा निकाय जिम्मेवार नरहेको दाबीसमेत उनले गरेका छन् । पश्चिमा राष्ट्रहरूले विपक्षीहरूलाई हिंसाका लागि उक्साउने गरेको आरोप उनले लगाएका छन् ।
हाल सिरिया युद्धको अवस्थामा रहेको घोषणा उनले गरेका छन् । सिरियाका सरकारी सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अहिले हामी युद्धको अवस्थामा छौँ र जनताका पक्षमा युद्ध गरिरहेका छौँ ।’ तर, पश्चिमी राष्ट्रहरूले भने राष्ट्रपति असदले मुलुकभित्र नरसंहार मच्चाएको आरोप लगाइरहेका छन् ।
राष्ट्रपति असदले शनिबार नयाँ सरकार गठन गर्न आदेश जारी गरेपछि प्रधानमन्त्री डा. रियाद हिजाबको अध्यक्षतामा नयाँ सरकार गठन गरिएको छ । प्रमुख मन्त्रालय उनले आफैँसँग राखेको समाचारमा जनाइएको छ । डा. हिजाब सिरियाका पूर्व कृषिमन्त्री हुन् ।
राष्ट्रपति असदविरुद्ध जारी विद्रोहका क्रममा मंगलबार कम्तीमा एक सय १६ जनाको ज्यान गएको छ । सरकारी सैनिक, हतियारधारी प्रदर्शनकारी तथा सरकार समर्थकबीच देशका विभिन्न ठाउँमा भिडन्त हुँदा उनीहरूको मृत्यु भएको हो ।
सिरियाका लागि अन्तर्राष्ट्रिय दूत कोफी अन्नानले सिरियाको सरकार तथा प्रतिपक्षीलाई हिंसा अन्त्यका लागि दबाब दिन विश्वलाई आग्रह गरेका छन् । अन्नानले अघि सारेको युद्धविरामको प्रस्ताव दुवै पक्षबाट स्वीकृत भएको बताइए पनि लागू हुन सकेको छैन ।
सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको सरकारविरोधी आन्दोलनका क्रममा अहिलेसम्म करिब १५ हजारको ज्यान गइसकेको छ । प्रतिपक्षीहरूले राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै आएका छन् । तर, असदले भने विदेशीले मुलुकमा द्वन्द्व चर्काएको भन्दै विदेशी दबाबसामु लत्रिएर राजीनामा नदिने अडान लिँदै आएका छन् । (एएफपी)

प्रतिक्रिया