मालदिभ्समा निर्वाचन माग

वासिङटन : केही महिनाअघि अपदस्थ गरिएका भनिएका माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिदले यस वर्षको अन्त्यसम्म संसदीय निर्वाचन गर्न सरकारसमक्ष माग गरेका छन् ।
अमेरिकाको भ्रमणमा रहेका नासिदले एक अन्तर्वार्तामा यस्तो माग गरेका हुन् । माल्दिभ्समा सन् २०१३ को अन्त्यमा निर्वाचन गर्ने यसअघि तय भए पनि कार्यकाल पूरा गर्न नपाउँदै अपदस्थ गरिएपछि जतिसक्दो चाँडो निर्वाचन गर्न उनले माग गरेका हुन् ।
हिन्दमहासागरमा अवस्थित देश माल्दिभ्समा सन् २००८ मा भएको आमनिर्वाचनबाट नसिद राष्ट्रपति बनेका थिए । प्रजातान्त्रिक पद्धतिबाट माल्दिभ्समा राष्ट्रपति निर्वाचित हुने उनी पहिलो नेता हुन् ।
गत फेब्रुअरीमा प्रहरी विद्रोहमार्फत आफूलाई अपदस्थ गरिएको आरोप उनले लगाउँदै आएका छन् । देशलाई अतिवाद र अप्रजातान्त्रिक क्रियाकलापबाट बचाउन यसै वर्षको अन्त्यसम्म निर्वाचन गर्नुपर्ने नासिदको माग छ ।
४५ वर्षीय नेता नासिदले भने, ‘प्रहरी विद्रोह गराई मलाई जबर्जस्ती राजीनामा गर्न बाध्य पारिएको हो । मौजुदा अवस्था जति लम्बियो, मुलुकमा अप्रजातान्त्रिक क्रियाकलापले त्यति नै बढावा पाउँछ । त्यसैले सन् २०१२ को अन्त्यसम्म निर्वाचन हुनुपर्छ ।’

प्रतिक्रिया