किसानलाई मल देऊ

आधुनिक कृषि प्रणाली, उन्नत बीउ–बीजन र वैज्ञानिक औजार नपाए पनि नेपाली कृषकले सरकारबाट रासायनिक मलको अपेक्षा गरेका थिए । तर, गत वर्षजस्तै यस वर्ष पनि प्रमुख बाली धान रोप्ने बेलामा किसानले मल पाएनन्, जसले गर्दा आगामी वर्ष पनि नेपालले खाद्यान्न संकटको सामना गर्नुपर्ने भएको छ । कृषिप्रधान देश नेपालमा मल उत्पादन हुँदैन । रासायनिक मलका लागि पराई मुलुकको मुख ताक्नुपर्ने हुन्छ । किसानलाई समयमै मल उपलब्ध गराउन सरकारले बेलैमा सोच्नुपर्ने हो तर अन्तिम अवस्थामा किसानले दबाब दिएपछि मात्र सरकार ब्युँझने गरेको छ । प्रत्येक वर्ष धान रोपाइँ गर्ने बेलामा मलको अभाव व्यहोर्नुपर्नेे किसानले कसरी धान उत्पादन गर्न सक्लान् भनेर सम्बन्धित निकायले सोचे मात्र पनि किसान मलको समस्याबाट मुक्त हुने थिए । तर, कृषिप्रधान देश नेपालको सरकारले १५ असार बित्न लाग्दा पनि किसानलाई कृषि मल उपलब्ध गराएन र लाचारी प्रकट गर्‍यो । यसले मुलुकको समग्र अर्थतन्त्रमै असर पुर्‍याउने र खाद्यान्न अभाव हुने अवस्था निम्त्याएको छ ।
पुरातन कृषि प्रणालीलाई बदल्ने, सिँचाइ र मलखादको अभाव दीर्घकालीन रूपमा अन्त्य गर्ने काम नभएसम्म कृषि उत्पादनमा वृद्धि हुँदैन । यसले किसानलाई मात्र होइन, समग्र अर्थतन्त्रलाई नै प्रभाव पार्छ । आर्थिक बजेट प्रस्तुत गरिँदा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रकै महत्त्वपूर्ण योगदान रहेको देखिन्छ । तर, यही क्षेत्रले सम्बन्धित निकायबाट अपहेलित हुनुपरेको छ । किसानलाई कृषिका लागि आवश्यक पर्ने डिजेल, युरिया र डिएपीजस्ता अत्यावश्यक वस्तुसमेत सरकारले उपलब्ध नगराएर कृषि क्षेत्रलाई नै तहसनहस बनाउँदै छ । धान रोपाइँकै अवस्थामा आवश्यक पर्ने मल नै उपलब्ध नगराएपछि किसानले जतिसुकै परिश्रम गरे पनि उत्पादन हुँदैन । यसले किसानको श्रम शोषण मात्र गर्नेछ । धान रोप्ने समयमा रासायनिक मल नपाएका किसानले मानसिक तनाब मात्र होइन, आर्थिक र शारीरिक श्रमपीडा पनि भोग्नेछन् । किसानले यो पीडा भोगाइलाई सरकारले दिएको यातनाका रूपमा लिने अवस्था छ । जबसम्म निरन्तर रूपमा अभाव हुँदै आएको मलको समस्याले दीर्घकालीन समाधान पाउँदैन तबसम्म किसानले कृषि क्षेत्रलाई नै आयको प्रमुख माध्यम बनाउन सक्दैन । किसानको समस्या समग्र मुलुककै समस्या हो भनेर सम्बन्धित निकायले नबुझ्नाले मल–खादको अभाव खट्किएको हो । यो समस्याको समाधान तब मात्र हुन्छ जब सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्छ । त्यसका लागि किसानका तर्फबाट संगठित दबाबको खाँचो पर्छ ।
सरकारले १५ असारलाई धान दिवसका रूपमा मनाउने चलन स्थापित गरेको छ । यो वर्ष पनि दिवस मनाउने तयारी भएको छ । तर, किसानलाई भने दिवसबारे सोच्ने फुर्सद पनि छैन । उनीहरू मलको चरम अभावबाट मुक्ति पाउन सहर, बजार र सदरमुकामका मल गोदामअगाडि धर्नामा बस्न बाध्य छन् । प्रश्न उठ्छ किन प्रत्येक वर्ष मलको अभाव हुन्छ ? मल आयातमा कमिसनको खेल, अदूरदर्शी सरकार, नालायक सम्बन्धित निकाय र असंगठित किसान । यिनै कारणले गर्दा नेपालमा युरिया र डिएपी मलको चरम अभाव भएको हो । यसर्थ, सरकारले सम्बन्धित निकायलाई बेलैमा मल भित्र्याउनका लागि उपयुक्त निर्देशन दिनुपर्छ । समस्याको एक मात्र विकल्प भनेको किसानले सहज र सुलभ रूपमा मल प्राप्त गर्नु नै हो । सरकारले ठोस नीति निर्माण गर्दै समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी भइसकेको छ । तसर्थ, किसानका समस्या समाधानपछि मात्र खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ भन्ने सोचेर निर्णय गर्दै समस्या समाधान गर्ने काम सरकारले बेलैमा गरोस् ।

प्रतिक्रिया