‘मधेसका नाममा ढोङ र तमासे नेताहरु’

काठमाडौं, १३ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट कारबाहीमा परेका नेता सरतसिंह भण्डारीले निकास खोज्ने बाटो हुँदाहुँदै प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर हठात्मा नयाँ निर्वाचनमा जाने निर्णय गरेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री भट्टराईको सो कार्यमा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजय गच्छेदारले सहयोग गरेको उनको दाबी छ ।
काठमाडौंमा आजदेखि शुरु भएको राजनीतिक सम्मेलनमा सम्बोधन गर्दै भण्डारीले संवैधानिक र राजनीतिकरुपमा जटिल तथा जोखिमपूर्ण निर्णय गर्दै भट्टराईले संविधानसभाको अर्को निर्वाचनको घोषणा गर्नु गलत रहेको बताए ।
उनले भने, ‘संविधानसभा आफैले विकल्प खोज्नसक्ने सम्भावना हुँदाहुँदै पनि संविधानसभाको विघटन गराउन सहयोग गर्ने काममा गच्छेदारले गरेका हुन् ।’
‘लोकतन्त्र र मधेसवादको किरिया खाएर सरकारमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र खासगरी मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको भूमिका संविधानसभा विघटन गराउन सर्वाधिक थियो,’ भण्डारीको आरोप छ ।
गच्छेदारले मधेसलाई पाँचप्रदेशमा टुक्रयाउने सर्वदलीय सहमतिमा साझेदारी गरेको बताएका उनले सहमतिका नाममा मधेसका माग छाड्ने अभिव्यक्ति दिएको बताए ।
कपटपूर्ण र विश्वासघातको राजनीतिलाई मधेसमा कुनै पनि हालतमा स्वीकार नगरिने भन्दै नेता भण्डारीले उत्तरदायित्व बहन नगर्नेहरुको ढोङ्ग र पाखण्डलाई तमाशे भएर अब मधेसीले अनुमोदन नर्गने बताएका छन् ।
नेता भण्डारीको सम्मेलनले बिहीबार नयाँ पार्टीको घोषणा गर्ने छ । सम्मेलनमा भण्डारी समर्थक नेता तथा कार्यकर्ताका उल्लेख्य सहभागिता पनि छ ।

प्रतिक्रिया