विपक्षीहरुले विशेष समिति बहिष्कार गर्ने

काठमाडौं, १३ असार । विपक्षी दल कांग्रेस र एमालेले माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना सम्बन्धी विशेष समितिको बैठक बहिष्कार गर्ने जनाएका छन् ।
उनीहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता टिकाउन गर्ने कुनैपनि बैठकलाई वहिकार गर्ने जनाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा विशेष समिति सदस्य मिनेन्द्र रिजालले मुलुकलाई विमतिको बाटोमा धकेल्ने प्रधानमन्त्रीलाई बहिर्गमन नगरुन्जेल मुलुकले निकास नपाउने बताए ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले भने, ‘बाबुरामपथ भनेको हाम्रो बाटोमा आऊ सहमति हुन्छ भन्ने हो, कांग्रेस बाबुरामपथमा कदापि हिँड्दैन ।
उनले कामचलाउ प्रधानमन्त्रीले बोलाएको सेना समायोजन विशेष समितिको बैठकमा कांग्रेस, एमाले नजाने बताए । ‘बाबुराम सत्ता लम्ब्याउने नाटक रच्दै छन्,’ उनले भने, ‘बाबुराम भट्टराई भन्ने नाम कपट र षड्यन्त्रको पर्यायवाची हो ।’
‘प्रचण्ड र बाबुरामले सत्ता कब्जाका लागि नियोजित तरिकाले संविधानसभा भंग गरेका हुन्,’ नेता रिजालले भने, ‘नयाँ चुनाव सत्तामा बसिरहने काइते दाउ हो ।’
उनले यस्तै रहने हो भने भट्टराईलाई पूर्व राजा ज्ञानेन्द्रको हालतमा पुराउने चेतावनी दिए ।
‘प्रधानमन्त्री उम्मेदवारका रुपमा कांग्रेस सभापति सुशील कोइरालाको नाम अगाडि आउनु स्वाभाविक हो,’ उनले भने, ‘पार्टीले चाँडै निर्णय गर्छ ।
एमाले नेता तथा विशेष समिति सदस्य भीम रावलले यथास्थितिमा कामचलाउ प्रधानमन्त्रीले बोलाएको विशेष समिति बैठकमा एमाले सहभागी नहुने बताए ।
‘मुलुकमा जनप्रतिनिधिविहीन स्थिति सिर्जना गर्ने व्यक्ति प्रधानमन्त्री भट्टराई हुन्,’ उनले भने, ‘मै सबै हुँ भन्ने हठ त्यागेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ अन्यथा जनताले सडकबाट बर्खास्त गरिदिन्छन् ।’

प्रतिक्रिया