नेपाल समूहचरणबाटै बाहिरियो

क्वालालम्पुर, १३ असार । भारतविरुद्धको खेलमा ८१ रनले पराजित हँुदै नेपाल एसियाली क्रिकेट काउन्सिल (एसिसी) यु–१९ एसियाकपमा समूहचरणबाटै बाहिरिएको छ । मंगलबार भएको आफ्नो अन्तिम खेलमा ‘डर्क वर्थ लुइस’ नियमका आधारमा ४७ ओभरमा १७३ रन हासिल गर्नुपर्ने लक्ष्य पाएको नेपाल २७.३ ओभरमा ९१ रनमा अलआउट भयो ।
उक्त लक्ष्य पछयाउने क्रममा नेपाली टोलीका सुरुआती पाँच ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको इनिङमा मात्र तीन खेलाडी दोहोरो अंकमा रन जोड्न सफल भए । पहिलो विकेटका लागि सात रनको साझेदारी गरेको नेपाली टोलीका लागि सुभाष खकुरेलले ९, प्रदीप ऐरीले ४, नरेश बुढाएरले ५, सागर पुन १ र पृथु बास्कोटा शून्यमा आउट भए । हसिम अन्सारी पनि ४ रन जोडी पेवेलियन फर्किए । राजेश पुलामीमगरले १७, राहुल विश्वकर्माले १२ र भुवन कार्कीले २४ रन जोडे । तीन नेपाली खेलाडी स्टम्प भए भने थप तीनजना एलबिडब्लु । त्यस्तै तीन खेलाडी क्याचआउट भएका थिए । बलिङतर्फ भारतका विकास मिश्राले चार तथा सन्दीप शर्मा, मोहसिन सैय्यद र हरमित सिंहले समान दुई विकेट लिए । पहिले ब्याटिङ गर्ने क्रममा पाकिस्तानविरुद्ध गरेको प्रदर्शनलाई समेत नेपालले दोहोर्‍याउन सकेन । समूहको पहिलो खेलमा पाकिस्तानविरुद्ध भिड्ने क्रममा नेपालले १५६ रन जोडेको थियो । समूह ‘ए’ मा नेपाल तीन खेलबाट दुई अंकमा सीमित हुँदै तेस्रो स्थानमा रहयो । पहिलो खेलमा पाकिस्तानविरुद्ध आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई १०७ रनले पराजित गरेको थियो । दुई खेलबाट चार अंक जोड्दै भारत दोस्रो भयो भने तीन खेलमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको पाकिस्तान ६ अंकका साथ शीर्षस्थानमा रहयो ।
टस जितेर भारतलाई ब्याटिङ गर्न बोलाएको नेपालले विपक्षी टोलीलाई ४५.२ ओभरमा १७६ रनमा अलआउट गर्‍यो । यसक्रममा भुवन कार्की र राहुलकुमार विश्वकर्माले समान तीन विकेट लिए । त्यस्तै सागर पुनको नाममा दुई विकेट रहयो । अविनास कर्ण र पृथु बास्कोटाले एक/एक विकेट लिए । भुवनले नौ ओभर बलिङ गरी एक मेडन राखेर २३ रन खर्चिए भने ९.२ ओभर बलिङ गरेका राहुलले ३५ रन दिए । राहुलले समग्रमा यस प्रतियोगितामा नौ विकेट लिए । मलेसियाविरुद्ध यी स्पिनर राहुलका नाममा पाँच विकेट रहेको थियो । कुनै समय १९.५ ओभरमा ८२–२ को स्थितिमा रहेको भारत त्यसपछि भने कमजोर देखियो र १५५–८ को स्थितिमा पुग्यो । दोस्रो विकेटका लागि कप्तान उन्मुक्त चन्द (४७) र बाबा अपराजित (५५) ले ६४ रनको साझेदारी गरेका थिए । उन्मुक्त र बाबाबाहेक भारतका अन्य दुई खेलाडी मात्र दोहोरो अंकमा रन जोड्न सफल भए ।
नेपालले खेलेका तीन खेलमा सागर पुनले मात्र अद्र्धशतकीय इनिङ (मलेसियाविरुद्ध ७१ रन) खेले । पहिलो खेलमा मलेसियालाई हराएको भारत दोस्रो खेलमा पाकिस्तानविरुद्ध एक रनले पराजित भएको थियो । २८७ रनको लक्ष्य पछयाउने क्रममा भारतीय टोली २८६ रनमा सीमित भएको थियो । नेपालले अब आगामी अगस्टमा हुने आइसिसी यु–१९ विश्वकपमा प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितामा नेपाल यसअघि चारपटक सहभागी भएको छ । एसिसी यु–१९ एसियाकपमा सहभागी भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तान पनि आइसिसी यु–१९ विश्वकपमा हुनेछन् । यस प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालले अस्ट्रेलिया, इङल्यान्ड र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइलनमा पाकिस्तानको भेट अफगानिस्तानसँग हुनेछ भने भारत श्रीलंकासँग भिड्नेछ ।
बंगलादेश स्तब्ध, अफगानिस्तान सेमिमा
समूहको अन्तिम खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरी अफगानिस्तान एसिसी यु–१९ एसियाकपको सेमिफाइनल प्रवेश गर्‍यो । यसअघि कतारलाई हराए पनि श्रीलंकासँग पराजित भएको बंगलादेश यस हारसँगै अन्तिम चार प्रवेश गर्न असफल भयो । समूह ‘बी’ मा तीन खेलबाट नौ अंक जोड्दै श्रीलंका शीर्षस्थानमा रहेर अघिल्लो चरण प्रवेश गर्‍यो भने तीन खेलमध्ये दुईमा जित हात पारी अफगानिस्तान पनि अगाडि बढयो ।
श्रींलकासँग पराजित भएको अफगानिस्तानले कतारलाई हराएको थियो । मंगलबार भएको खेलमा डकवर्थ लुइस नियमका आधारमा ४२ ओभरमा २२० रन बनाउनुपर्ने लक्ष्य अफगानिस्तानले नौ बल अगाडि नै तीन विकेट गुमाउँदै पूरा गर्‍यो । विजयी टोलीका लागि कप्तान जाभेद अहमदानीले ७१, सवीर नूरीले ५७, अफ्सार खानले ४६ र नाजीबुल्लाह जद्रानले ३३ रन जोडे । नटआउट रहेका जद्रानले अन्तिम समयमा आक्रामक ब्याटिङ गरी १८ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
यसअघि कतारविरुद्ध ३२८ रनले विजयी हँुदै बंगलादेशले यस प्रतियोगितामा सानदार सुरुआत गरेको थियो । बंगलादेशको उक्त जितमा सौम्य सरकारले २०९ रन बनाएका थिए भने अबु हैदरले नौ विकेट लिएका थिए ।

प्रतिक्रिया