अशोक राईको जातीय राज्य

सोभियत संघको विखण्डनलगत्तै पूर्वी युरोपका समाजवादी सत्ताहरू धराशयी मात्र भएनन्, धेरैजसो देश विखण्डित पनि हुन पुगे । तिनीहरूमध्यको युगोस्लाभिया विखण्डित मात्र भएन, जातीय युद्धको सिकार नै बन्न पुग्यो । त्यो जातीय युद्ध करिब एक दशकसम्म चल्यो र त्यसमा लाखौँ निर्दोष मानिसले अनाहकमा ज्यान गुमाउन पुगे । मुस्लिम जातिले सर्व जातिलाई मारे, सर्वजातिले क्रोबाटस् जातिलाई र क्रोबाटस् जातिले मुस्लिम जातिलाई मारे, सबैले सबैलाई मारे । भनिन्छ युरोपको इतिहासमा द्वितीय महायुद्धपछि सबैभन्दा धेरै मानिस युगोस्लाभियाको जातीय युद्धमा मारिए ।कतै पूरै त कतै आधि छाना उडेको, भित्तैभरि गोली लागेका दागहरू, भुइँमा रगतका आहालका टाटाहरू तथा बिरालाहरूले बास गरेको सिंगो उजाड बस्ती । कताकति घरहरूमा मात्र मानिसहरू भेटिन्थे । तिनका अनुहारहरूमा गहिरो पीडा र त्रास स्पष्ट देख्न सकिन्थ्यो । तिनीहरू सबै अपूर्ण मानिसजस्ता देखिन्थे । काम गर्दै जाँदा तिनीहरूसँग चिनजान भयो, बिस्तारै कुराकानी भए र तिनले पत्याएपछि आºना दु:ख, पीडा र नियति बताउन थाले । उजाड बस्तीका कुरा तिनले बताउनै परेन तर जब आफूले भोगेका पीडा र वेदना तिनले सुनाउन थाले सुनेर म स्तब्ध भएँ ।
परिवारमा एउटी बुहारी रहिछन् अर्कै जाति समुदायकी, जेठाजु र देवर मिलेर मारेछन् । छोरीको पनि अर्कै जाति समुदायमा विवाह भएको रहेछ, तिनलाई पनि उतै घरमा मारिदिएछन् । छोराहरू लडाइँको मोर्चामा कुन ठाउँमा छन् र फर्केर आउने हुन् वा होइनन् त्यो पनि थाहा छैन । बिजुलीबत्ती छैन, ग्यास छैन, खानेकुरा छैन तर ती बूढालाई आफूसहित नाबालक नातीहरूलाई जीवित राख्नुपर्ने बाध्यकारी जिम्मेवारी आइलागेछ । ती बूढाले पुराना कुरा पनि सुनाए । तिनी पनि कम्युनिस्ट नै रहेछन् । मानिसको कुनै जाति हँुदैन, सबै समान हुन्छन्, अन्याय, असमानता र शोषण भनेको मानिसले निर्माण गरेको गलत कुरा हो र यस्ता सबैखाले खराब कुराहरूको अन्त्य वर्गीय चेतनाको विकास र आन्दोलनबाट गर्न सकिन्छ र यो काम कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र गर्न सकिन्छ भन्नेकुरा नेताहरूबाट सुनेर, थाहा पाएर अनि अध्ययनबाट बुझेर कम्युनिस्ट बनेका रहेछन् । मैले भेट्दासम्म पनि ती बूढा कम्युनिस्ट नै थिए । दु:ख र पीडाको पहाडै बोक्दासमेत तिनको आस्था डग्मगाएको थिएन, आस्थाप्रति अडिग थिए सतिसाल जस्तै ।
नागरिक दैनिकको १३ जुन, २०१२ को अंकमा सईन्द्र राईले लेखेका छन् – ‘हिजो अशोक राईकै कारण जनै चुँडाएकाहरू, वर्गीय नाराकै आधारमा राईका कुटाई खाएकाहरूले आज बाहुनका कारण राई पछि परेको छ भन्ने भाषणले कति मन दुखाएका होलान् । अशोक राईले म राईकै कारणले सांसद् र मन्त्रि भएको, एमालेको उपाध्यक्ष भएको र बाहुनकै कारण प्रधानमन्त्री हुन नसकेको भन्न मिल्छ ?’ अशोक राईलाई राजनीतिक गुरु मान्ने नेपालीहरू थुप्रै छन् । अशोक राईको कारणले कम्युनिस्ट बनेकाहरू पनि थुप्रै छन् । अशोक राईकै सल्लाहमा बुर्जुवा शिक्षा बहिष्कार गर्ने भन्दै कतिले आºनो अध्ययनलाई रोके, मार्कसिट च्याते र वर्गीय चेतना फैलाउन गाउँ पसे । आज तिनीहरू कहाँ होलान् थाहा छैन तर मैले सुनेको छु, बुर्जुवा शिक्षा भनेर अरूलाई बहिष्कार गर्न लगाएको शिक्षामा उहाँ आफूले भने स्नातकोत्तर गर्नुभयो रे, मलाई औधी खुसी लागेको छ ।
नेकपाको संगठित सदस्यता यो पंक्तिकारले अशोक राईकै हातबाट पाएको हो । सो सदस्यता प्रदान गर्दाको बखतमा रगतको नाताभन्दा वर्गीय नाता कसरी नजिक र उन्नत हुन्छ भन्ने मार्कस्वादी व्याख्या सुनेर म दंग परेको थिएँ । तर, आज सुन्दैछु अशोक राई बर्गिय कुरा छोडेर जातीय राज्यको निमित्त संघर्षरत हुनुहुन्छ रे । कमरेडसँग मेरो जिज्ञासा छ – जाति, भूगोल, धर्म वा भाषाको नाममा राज्य निर्माण गर्न सकिएला अथवा उचित होला ? जातीय राज्यभित्र लोकतन्त्र बााच्न संभव होला ? त्यहाँ समावेशिता, समानुपातिकता, सहअस्तित्व, आपसी सद्भाव र भाइचारापन रहन सक्ला ? केही उदाहरणहरू हेरौँ । श्रीलंकामा अल्पसंख्यक तमिलहरूले जातीय राज्यको माग राखे, राज्यले दिन सकेन, उनीहरूले हतियार उठाए, २८ वर्षसम्म लडाइँ भयो । राज्यले विकासको काम गर्न सकेन, दशौँ हजार मानिसहरूको ज्यान गयो र अन्त्यमा तमिलको सिंगो नेतृत्व नै सखाप भयो र त्यो आन्दोलनको अन्त्य भयो ।
पश्चिमा मुलुकको आर्थिक तथा हतियारको सहयोगमा युगोस्लाभियालाई जातीय द्वन्द्वको माध्यमबाट विखण्डन गरियो । र, फेरि अल्वानियाली जातिलाई राज्य दिलाउने नाममा कोसोभोलाई सर्बियाबाट अलग बनाइयो । अहिले बहुसंख्यक अल्बानियाली र अल्पसंख्यक सर्बहरूका बीचमा दिनहँुजसो द्वन्द्व हुन्छ र त्यो द्वन्द्वलाई रोक्न भनेर त्यहाँ नेटो देशका हजारौँ सैनिक तैनाथ छन् तर दु:खको कुरा तिनीहरू त्यो जातीय द्वन्द्व रोक्न असमर्थ छन् । अहिले त्यहाँ जातीय राज्य त छ तर सहअस्तित्व, भाइचारा, शान्ति र विकास छैन । अहिले त्यहाँका जनता नेटोको उपनिवेशजस्तै अवस्थामा बाँच्न विवश छन् । सुन्छु ककस, जनजाति महासंघ आदिले पनि करोडौँमा विदेशी आर्थिक सहयोग प्राप्त गरिरहेका छन् । यदि यो कुरा सत्य हो भने त्यो पैसा किन आयो र किन चाहियो ? राजकुमार लेखीले त भनिसके राज्य स्वयंले विदेशी आर्थिक सहयोग लिनहुन्छ भने जनजाति महासंघले लिन किन नहुने ? ककसको कुराचाहिँ के होला ? जातले त म क्षत्री हुँ तर हाम्रो परिवारमा दुईजना नेवार, एकजना ब्राह्मण, एकजना मगर र एकजना फिलिपिनो महिला बुहारीका रूपमा भित्रिएका छन् । मेरी एकजना चेली क्रिस्चियन बनेर खवास थरको युवकसँग विवाह गरेकी छन् भने एकजना नेवार थरको युवकसँग विवाह गरेकी छन् । यस्तो प्रवृत्ति बढ्दो क्रममा छ । सयभन्दा बढी जातजातिहरू भएको हाम्रो देशमा एकल जातीय पहिचान र अग्राधिकारसहितको राज्यको निर्माण गर्दा पहिचान र अग्राधिकार पाउन नसक्ने अन्य जातका मानिसहरूलाई कस्तो लाग्ला ? पूर्व युगोस्लाभियाका ती बूढाको जस्तो नियति म र मेरो जस्तै मिश्रित जाति मिलेर बनेको परिवारले भोग्नुपर्ने स्थिति भोलि आयो भने के होला ?
राज्यमा सबैको समान अधिकार, समान सहभागिता, साधन र स्रोतमाथि सबैको पहुँचको सुनिश्चितता, विकेन्द्रित शासन प्रणाली आदि आदिको निमित्त हामीलाई संघीयता चाहिएको हो । इतिहासले पनि प्रमाणित गरेकै छ, समाजमा रहेका सबै प्रकारका विभेद, असमानता, अन्याय, शोषण र उत्पीडनको मूलकारण भनेको कुनै जातिविशेष नभएर राज्यसत्ताको विभेदकारी तथा एकाधिकारवादी नीति नै हो । मुलुकमा दुई सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य भएर समावेशी लोकतन्त्रको स्थापना भएको छ । देश धर्म निरपेक्ष भएको छ । संघीय राज्य निर्माण हुने कुरामा कुनै शंका छैन । शासकीयस्वरूप कस्तो बनाउने भन्नेबारेमा छलफल चलिरहेको छ । हाम्रो आजको आवश्यकता भनेको प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूको प्राप्तिको निमित्त अघि बढ्नु हो । तर, यो वास्तविकतालाई बिर्सिएर मुलुकलाई बाँदरको भोजजस्तो बनाउन खोजिँदै छ, जुन दु:खद् कुरा हो ।

प्रतिक्रिया