साइन्स क्याम्पका लागि पाँच वैज्ञानिक छनोट

काठमाडौं, १३ असार । इजरायलमा हुन लागेको छैटौँ ‘एसियन साइन्स क्याम्प’मा पाँच नेपाली युवा वैज्ञानिक सहभागी हुने भएका छन् । २६ देखि ३१ अगस्टमा हुन लागेको क्याम्पमा आफ्नो देशको विज्ञान क्षेत्रको जानकारी गराउनाका साथै खोज तथा अनुसन्धानका लागि नेपाली युवा वैज्ञानिक सहभागी हुन लागेका हुन् ।

उक्त क्याम्पका लागि जेभियर इन्टरनेसनल स्कुलका खगेन्द्र आचार्य र सागर भण्डारी, नोबेल एकेडेमीका प्रकाश बजगाईं, त्रिचन्द्र कलेजका राजु शर्मा खतिवडा र पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रशन्न ज्ञवाली छनोट भएका छन् । नेपाली टोलीको नेतृत्व जेभियर इन्टरनेसनल कलेजका प्रिन्सिपल गोपाल भण्डारीले गर्ने भएका छन् ।
क्याम्पका नेपाल प्रतिनिधि मदन भण्डारी मेमोरियल कलेजका प्रमुख प्राध्यापक चैतन्य शर्माले क्याम्पमा सहभागी भएर विश्वको वातावरण, खोज, चुनौती र नेपाली भूमिमा यसको सम्भावनाबारे विमर्श हुने बताए । सन् २००९ मा जापानमा भएको तेस्रो क्याम्पबाट नेपालले सहभागिता जनाउन थालेको थियो । क्याम्पमा भएको प्रतियोगितामा नेपाली युवा वैज्ञानिकले रजत पदक हात पारेका थिए ।

शैक्षिक मेला भोलिदेखि

काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा १४ असार (बिहीबार)देखि चार दिनसम्म बृहत् शैक्षिक मेला–२०६९ हुने भएको छ । विद्यार्थीलाई उचित शैक्षिक संस्था तथा विषय छनोटको अवसर प्रदान गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको संघले जनाएको छ ।
राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष राजेन्द्र बरालले मेलामार्फत विद्यार्थीले रुचिअनुसारको शैक्षिक गन्तव्य र विषय रोज्न सक्ने बताए । मेलामा परामर्शदाता, अभिभावक र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूले अन्तरक्रियाका लागि उपयुक्त मञ्च प्राप्त गर्ने अध्यक्ष बरालको भनाइ थियो ।
उनका अनुसार मेलामा एक सय ६० स्टल तथा २० वटा पेभिलियन रहनेछन् । मेलामार्फत गरिब तथा जेहेनदार १० विद्यार्थीलाई स्वदेशी शैक्षिक संस्थाहरूमा छात्रवृत्ति दिने व्यवस्थासमेत रहेको संघले जनाएको छ । एक लाख बीस हजारभन्दा बढीले मेला अवलोकन गर्ने आयोजकको दाबी छ । (सौस)

प्रतिक्रिया