एमालेको निर्णय आँखाको लालगेडी

काभ्रे, १२ असार । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीले राज्य पुनर्संरचनाका विषयमा गरेको पछिल्लो निर्णय आँखाको लालगेडी सरह रहेको दाबी गरेकी छन् ।
‘एमालेको राज्यपुनर्संरचनको निर्णय आँखामा हाल्ने लालगेडी जस्तै छ,’ उनले भनिन्, ‘निर्णय सबैलाई मान्य हुने खालको छ ।’
एकल जातीय, बहुजातीय तथा प्रदेशहरुको नामाङकनका बारेमा एमालेमा फरक फरक विचार समूह देखापरिरहेका समयमा उपाध्यक्ष भण्डारीले जातीयताका आधारमा राज्य पुनर्संरचना नहुने दोहराईन ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज काभ्रेमा आयोजना गरेको कार्यक्रममा पछि बनेपामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एकल जातीय पहिचानमा जानै नसकिने बताईन ।
‘जसलाई एकल जातीयताका आधारमा राज्यको पुनर्संरचना गराउन मन लागेको छ, उनीहरु देश र जनताप्रति उत्तरदायी हुन सक्दैनन,’ उनले भनिन्, ‘एउटा राजतन्त्रको अन्त्य गरेर अरु जातीय तन्त्रको पक्षमा एमाले छैन ।’
‘पार्टीको निर्णय सामूहिक हुने भएकाले ब्यक्ति ब्यक्तिलाई मन नपर्न सक्छ तर देश र जनताको पक्षमा पार्टीले सहि निर्णय गरेको छ,’ भण्डारीले भनिन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको सत्ता कब्जाको सपना पुरा हुन नसक्ने दोहराउदै उनले राष्ट्रिय सहमतिको विकल्प नभएको बताइन् ।
एमाले केन्द्रीय सदस्य कृपाश्वर शेर्पाले पनि जातीयताका आधारमा राज्यको पुनर्संरचना हुन नहुने बताए ।

प्रतिक्रिया