सहकारीको डकु ड्रामा बन्ने

काडमाडौं, १२ असार । नेपालमा सहकारीको इतिहास रचेको डकु ड्रामा ‘यात्रा सहकारीको’ निर्माण हुने भएको छ । सहकारीको स्थापना, कारण, सहकारीले जनमानसमा ल्याएको परिवर्तन, सहकारीले कल्पना गरेको समाज, सहकारी लक्षित वर्ग, ०४८ अघिको सहकारी, त्यसपछि आएको परिवर्तनजस्ता विविध जानकारीमूलक सामग्री समावेश गरी डकु ड्रामा बन्ने भएको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले सहकारीको इतिहासको चित्र उतार्ने गरी ड्रामा निर्माण हुने बताए । ‘सम्पूर्ण नेपाली सहकारीकर्मीका लागि खुसीको कुरो हो,’ दुलाले भने, ‘नेपाली जनतालाई सहकारीबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो निर्माण गर्न लागिएको हो ।’
०१३ चैत २० मा बखान ऋण सहकारी संस्था स्थापना भएको पाइन्छ । यसै सहकारीलाई आधार मानी निर्माण गर्न लागिएको उनले बताए । सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागले पनि यसको निर्माणमा सहयोग रहेको दुलाले बताए । डकु ड्रामाको सुटिङ हेटौंडाको ग्रामीण भेग र उपत्यकाका विभिन्न ठाउँमा हुने निर्देशक सागर लामिछानेले जानकारी दिए । उनले विभिन्न नेपाली चलचित्र निर्देशन गरिसकेका छन् । काठमाडौं उपत्यकामा सुटिङ भएपछि युनिट टोली हेटौंडा जाने जनाएको छ ।
‘डकु ड्रामालाई उत्कृष्ट बनाउनेमा हामी लागेका छौँ,’ लामिछानेले भने, ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाइरहँदा हुने यो कामले थप हौसला मिल्ने छ,’ आइतबारबाट सुरु भएको र आगामी १८ असारसम्ममा सकिने पनि लामिछानेले बताए ।
‘अधिकांश कलाकार सहकारीक्षेत्रमा लागेका नै हुनेछन्,’ दुलालले भने, ‘सहकारीमा देशभर करिब ३५ लाख आबद्ध छन्, तिनलाई लक्षित गरी यो बनाइन लागिएको हो ।’ यसअघि ललितपुर जिल्ला संघले ‘आरम्भ’ नाटक निर्माण गरी मञ्चन गरेको थियो । सम्पूर्ण सहकारीर्मीको रोजाइमा पर्न सफल भएको सो नाटकभन्दा उत्कृष्ट बनाउन जिल्ला संघ लागिपरेको छ ।

प्रतिक्रिया