नेता र नेतृत्वशास्त्र

संगठन वा समूहलाई विधिसम्मत तरिकाले उद्देश्य प्राप्त गर्ने दिशामा गतिशील बनाउन गरिने कार्य नेतृत्व हो । जर्ज टरीका अनुसार– ‘आपसी उद्देश्यका लागि व्यक्तिहरूलाई मनैदेखि प्रयत्न गर्न प्रभावित पार्ने क्रियाकलाप नै नेतृत्व हो ।’ एडुकेसन शब्दकोषअनुसार– ‘नेतृत्व भनेको मानिसलाई उद्देश्य प्राप्तिका लागि प्रेरणा, पथप्रदर्शन र निर्देशन गर्ने तत्परता र क्षमता हो ।’ नेतृत्व विकास एउटा निरन्तर प्रक्रिया हो । सफल नेतृत्वका लागि सकारात्मक सोच र सकारात्मक दृष्टिकोण सफलमार्ग हुने कुरालाई विद्वान्हरूले जोड दिने विषय रहेको छ । ज्ञान, गुण, बौद्धिकता र क्षमता नेतामा हुनुपर्ने आधारभूत कुरा नै मानिन्छन् । परिश्रम र समर्पण नभई सफल नेतृत्वकर्ता बन्न सकिँदैन भन्ने कुरामा यस क्षेत्रका विद्वान् सबैको साझा कुरा रहेको देखिन्छ । मन, बुद्धि र संस्कारको समन्वय गरेर काम गर्न सक्ने नेता नै सफल हुन्छ भन्ने नेतृत्वकलासम्बन्धी आमसहमतिको कुरा हो । मन भनेको संकल्प उठाउने, महान् सपना देख्ने सुन्दर संसारको परिकल्पना गर्ने कुरा हो । बुद्धि भनेको विश्लेषण गर्ने, निर्णय लिने, अरूको भावना बुझ्ने काम हो । संस्कार भनेको सभ्यता हो, चेतना हो, अरूमाथिको प्रभाव हो, बानी व्यहोरा हो । आधुनिक समाजशास्त्रको सिद्धान्तअनुसार नेतृत्वको क्षमता कुनै ईश्वरीय वरदान नभई व्यक्तिले विकास गर्ने कुरा हो । यसमा व्यक्तिका अनुवंशीय विशेषता र विशेष प्रतिभाहरूको भूमिका रहन्छ नै, यद्यपि परिस्थिति र आवश्यकताले सफल नेतृत्वको स्थापना गर्ने विज्ञानसम्मत कुरा हो । असल नेतृत्वका बारेमा कुरा गर्न जति सजिलो छ । असल नेतृत्वको लागि विकास गर्नुपर्ने क्षमता हासिल गर्न हुनुपर्ने अभ्यास गर्न त्यति सजिलो भने छैन ।
नेतृत्वसम्बन्धी पराम्परावादी सामन्ती दृष्टिकोण, सोच र संस्कारअनुसार संरचनाको उच्च तहमा रहेर अरूलाई निर्देशन गर्नु हो । नेतृत्वकर्तामा स्वत: विशेष गुण रहेको ठानिन्थ्यो । अझ घोर सामन्तवादी समयमा नेतृत्वकर्ता ईश्वरको प्रतिनिधि नै हो भन्ने गरिन्थ्यो । र, सर्वसाधारणलाई डर, धम्की, धार्मिक अन्धविश्वासमा रूमल्याउने कुराले नेतृत्वप्रति औँला उठाउन नसक्ने बनाएर राख्ने प्रयत्न गरिन्थ्यो । अरूको पैसा, अरूको श्रम, अरूलाई काम लगाएर आफू हिरो बन्ने चाहना पुरानो नेतृत्वको सोच हो । पद, प्रतिष्ठा, पैसा, सुविधा, स्रोत साधनमा हैकम कायम गर्न पाइने लालसाले नेतृत्वकर्ता हुन लालायित हुने सामन्ती प्रवृत्ति हो । नेतृत्वले नागरिकलाई सशक्तीकरण हुने बाटो देखाउनुपर्ने हो । राष्ट्रलाई विकासको बाटोमा अघि बढाउन सक्नुपर्ने हो । नेतृत्वसम्बन्धी आधुनिक अवधारणाले नेतालाई सेवक मान्दछ । परम्परागत रूपमा संरचनाको उच्च स्थानमा रहेर दिशानिर्देश गर्ने अवधारणा आधुनिक सिद्धान्तले अपूर्ण मान्दछ । आधुनिक अवधारणाअनुसार नेतृत्वकर्ता भनेको संगठन र सदस्यको असल सेवक हुनु र सबैसँग मिलेर काम गर्नु भन्ने रहेको छ । असल नेतृत्वकला भएको नेताले कुराकानीको वातावरण तातो होइन, सुमधुर बनाउन सक्छ । सीमित र साँघुरो विचारलाई फराकिलो खुला विचारको वातावरण तयार गर्न सक्छ । अनभिज्ञता र अल्पज्ञानको आधारमा नभई विस्तृत ज्ञानको आधारमा प्रस्तुति गर्न सक्छ । जोसपूर्ण अभिव्यक्तिको ठाउँमा तर्कपूर्ण अभिव्यक्ति ल्याउन सक्दछ । को ठीक को बेठीक होइन, के ठीक भनेर यथार्थ पहिल्याउने प्रयत्न असल नेतृत्वबाट हुन सक्छ । अझै असल नेतृत्वमा हुनुपर्ने चरित्रका विषयमा नेतृत्वशास्त्रको अध्ययनमा केही कुरालाई जोड दिइन्छ ।
सफल नेताले ठूलो सपना देख्नुपर्छ, उज्ज्वल भविष्यको योजना बनाउन सक्नुपर्छ । यो नेतामा हुनुपर्ने आधारभूत क्षमता हो । जो सुकै मानिसले कल्पना गरेर ठूलो सपना कोर्न सक्दैनन् । अल्बर्ट आइन्स्टाइनले कल्पना गर्नु र सपना बुन्नुलाई प्रतिभाशाली मानिसको काम भन्ने गर्दथे, सफल नेता पनि प्रतिभाशाली हुनुपर्दछ । उच्च महत्त्वाकांक्षा राख्नु, गहन प्रतिबद्धता हुनु, कडा परिश्रम गर्नु सफल नेतृत्वकर्ताका लागि नभइनहुने योग्यताका रूपमा लिइन्छ । प्रभावकारी नेतृत्वमा हुनुपर्ने योग्यताका रूपमा निष्कपट र इमानदार चरित्र, स्पष्ट वक्ता, स्थायी तथा एकीकृत विचारमा केन्द्रित, स्वयं निर्देशित हुनसक्ने, परिस्थितिअनुकूल हुन सक्ने, सहिष्णु व्यवहार भएको, उचित र निष्पक्ष मूल्यांकन गर्न सक्ने, उत्तेजनालाई नियन्त्रणमा राख्न सक्ने, सिक्ने–सिकाउने प्रभावकारी क्षमता र सीपले निपूर्ण, निर्णायक क्षमता, अप्रिय निर्णयसमेत गर्ने आँट र क्षमता भएको, नम्र तथा शालीन व्यक्तित्वको धनी । आदि विषयलाई नेतृत्वकर्तामा हुनुपर्ने गुणको रूपमा लिने गरिन्छ । नागरिकप्रति जिम्मेवार शिक्षानीति निर्माणको अभाव रहेको हाम्रो देशमा विगतमा यी विषयलाई आममानिसका लागि चाहिने विषय ठानिएनन् । तर, परिवर्तित अवस्थामा यस्ता विषयलाई प्राथमिक महत्वका विषय बनाइनुपर्छ । तब मात्र समाज विकासलाई टेवा पुर्‍याउने काममा शैक्षिक क्षेत्र अधिक सहयोगी हुनेछ ।

प्रतिक्रिया