‘पैसा पनि तिरायो, सिक्री पनि लग्यो’

काभ्रे, ११ असार । ‘तिम्रो काम घाँटीमा कि तल ? अँध्यारो रातमा उसलाई नसोधेको होइन,’ नाङ्लोमा पसल गरेर गुजारा गरिरहेकी सुनकेशरी गौतम (नाम परिवर्तन)ले भनिन्, ‘मोराले दुई हजार रुपियाँ दिन्छु भनेर दु:ख गरेर जोडेको सवा दुई तोलाको सिक्री लिएर फरार भयो ।’

सात वर्षको छोरोलाई कोठामा सुताएर होटलमा पुगेकी गौतम भन्छिन्, ‘अबला नारी ठग्न पुरुष यतिसम्म गिर्दो रहेछ ।’ सर्लाही घर भएकी गौतमको पसल अहिले नाङ्लोबाट रिक्सामा पुगेको छ । छोरो गर्भमै हुँदा गाडीमा सहचालक काम गर्ने पतिले १४ वर्षीया केटीलाई लिएर भागेपछि गौतमले नाङ्लो पसल गरेर जीवनका पांग्रा दौडाएकै थिइन् । घरबेटीको सहारामा सुत्केरीबाट उम्केपछि उनले थालेको पसल चलेकै छ । बनेपा बसपार्कमा पसल सुरु गरेकी गौतमको चुरोट किन्न आउनेसँग बढेको हिमचिमले अहिले पछुतो भइरहेको छ । ‘दिनभरिको व्यापारले चामल किन्न पैसा पुग्दैनथ्यो, एकपटक लसपस गर्दा महिनाभरि चामल किन्न पुग्ने पैसा पो आउँथ्यो,’ गौतमले मन थाम्न सकिनन् र आफ्नो अतीत सुनाइन्, ‘छोरो हुर्कँदै गएपछि र पतिले वास्ता गर्न छाडेपछि कमाएको पैसा बैंकमा राख्न थालेकी थिएँ, त्यही पैसा निकालेर बनाएको सिक्री लुटिएपछि फेरि सडकमै पुगेकी छु ।’
‘सम्पर्क बढ्दै गएपछि काठमाडौं र पनौती अनि धुलिखेल र दोलालघाट आउजाउ भइरहन्थ्यो,’ उनले सुनाइन्, ‘यस्तो कामका लागि सबैभन्दा सुरक्षित त बिपी राजमार्गको भकुन्डे, नेपालथोक र मंगलटार थियो ।’ उनले महिनामा झन्डै २० हजार रुपियाँसम्म कमाउन थालेकी थिइन् ।
‘बनेपाको एउटा होटलमा लगेर खाना खुवायो,’ गौतमले भनिन्, ‘मेरो पत्नी भनेर नाम लेखायो र रात गुजार्ने सहमति भयो ।’ होटलमा शिवहरि फुँयाल, ललितपुर ठेगाना लेखाउने पुरुषले नै गौतमको सुनको सिक्री लुटेर फरार भएको हो । ‘त्यो कोठा नम्बर १०५ कसरी बिर्सुंला,’ उनले भनिन्, कोठाको पछाडिको झ्यालबाट हाम्फालेर ऊ भाग्यो ।’ ‘महिनामा यस्ता पुरुष १३–१४ जना आउने भएकाले मैले आफ्नो विगत पूरै बताइनँ,’ उनले भनिन्, ‘राति १० बजेपछि मेरो सबै कपडा फुकाले पनि उसले पाइन्ट खोल्न मानेको थिएन ।’
‘मलाई सर्वांग पारे पनि उसले केही गरेन,’ गौतमले भनिन्, ‘मेरो सलले घाँटी कसेर सिक्री लुटेर ऊ हाम्फालेर भाग्यो ।’
‘उठेर कपडा लगाएर हेर्दा ऊ पर भागिसकेको थियो,’ उनले भनिन्, ‘रातभरि पछुतो मानेर सुतेँ र भोलिपल्ट उसैले दिएको दुई हजार रुपियाँमध्ये एक हजार सात सय रुपियाँ तिरेर फर्किएँ ।’ उनले प्रहरीमा उजुरी गर्न पनि आफूलाई लुट्ने पुरुषको परिचय थाहा नभएको बताइन् । बसपार्कमा केही दिनमा भएको हिमचिमले अपरिचित पुरुषसँग रात बिताउँदा लुटिएकी गौतमले भनिन्, ‘हुन त मोजमस्तीकै पैसाले जोडेको सम्पत्ति हो, एकै रातमा लुटिँदा पछुतो लागेको छ ।’ उनले बैंकको ब्याजभन्दा सुनको भाउ बढी हुने लोभले बैंकमा राखेको पैसाले सिक्री किनेको बताइन् ।

 

प्रतिक्रिया