बझाङमा बाढी/पहिरोले १६ पसलमा क्षति

कैलाली, १० असार । शनिबार परेको अबिरल वर्षासँगै आएको बाढी र पहिरोले बझाङमा १६ वटा पसलमा क्षति पुराएको छ भने जिल्लामा विद्युत् आपूर्ति बन्द भएको छ ।
अबिरल वर्षासँगै आएको पहिरोले सदरमुकाम चैनपुर छेउमा रहेको सिमखेत बजारका पसलहरु बगाएको छ । भल र पहिरो दानबहादुर सिंह, लव कठायत, जगत मल्ल, कलक ओली, रामबहादुर सिंह, जयबहादुर रावल, नरेश बमलगायतको घर र पसलमा प्रवेश गरेर क्षति पुराएको जिल्ला प्रहरी कार्यालय बझाङका निरीक्षक सागर बोहराले बताए ।
पहिरो र बाढीबाट पसल र घरमा क्षति पुग्दा झण्डै एक करोड माथिको क्षति भएको अनुमान प्रहरीको छ ।
पहिरोले सिमखेतमा रहेको विद्युतको पोल भत्काउँदा सदरमुकाम चैनपुर र आसपासका छ गाविसको विद्युत सेवा बन्द भएको छ ।

प्रतिक्रिया