संस्था चलाउन रकम माग

काठमाडौं : गायिका कोमल ओलीले आफूहरूलाई संघसंगठन चलाउन समस्या भएको भन्दै सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताएकी छन् ।
काठमाडौंमा शनिबार आयोजित रापती समाजको छैटौं वार्षिकोत्सवमा गायिका ओलीले यस्तो धारणा राखेकी हुन् । ‘समाज चलाउन अर्थमन्त्री वर्षमान पुनसँग रकम माग्नुपर्छ,’ समाजकी सल्लाहकार रहेकी उनले भनिन्, ‘मन्त्री पुन रोल्पाबासी हुन्, त्यसैले पनि अब रकम माग्ने हो ।’ राप्तीबाट कलाकारिता, साहित्यलगायत क्षेत्रमा क्रियाशील व्यक्तिहरू आबद्ध रहेको समाजको भेलाले एकराज आचार्यको संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयनसमेत गरेको छ । कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष शेरबहादुर केसी, बाँसुरीवादक प्रेम राना औतारी, गायक मधुबाबु थापा, शिशिर योगी, राजेश क्षत्री, गोविन्द मधुर आचार्य, डम्बर नेपाली, टीका पुन, डा.तारक केसी, कमल गाउँले, गीता रेउले, यादव योगीलगायत सहभागी भएका थिए । (सौस)

प्रतिक्रिया