गुरुको कुटाई अझै बिर्सेको छैन

भाइबहिनी हो, म २००५ साल भदौ १ गते काठमाडौंको महाबौद्धमा जन्मिएको हुँ । अचम्म के भने नि, म जन्मेकै दिन घरको छिँडीमा चितुवा पो आएछ । त्यो बेलाको महाबौद्ध अहिलेको जस्तो थिएन । रातो बुद्धको स्तुप भएको ठाउँमा पहिलेदेखि नै खर्पनमा ताजा तरकारी र ताजा खाद्यान्न बेच्ने चलन थियो । मानिसको ओहोरदोहोर हलुका थियो । साइकल फाट्टफुट्ट देखिन्थे । नजिकै हल भएकाले सिनेमा छुट्ने बेलामा भने अलिक भिडभाड हुने गथ्र्यो ।
पाँच दाजुभाइ र दुई दिदीबहिनीमध्ये साहिँलो सन्तान हुँ । घरमा बोलाउने मेरो प्यारो र छोटो नाम जुजु थियो । बुबा र हजुरबुबा विभिन्न व्यापारमा संलग्न हुनुुहुन्थ्यो । बुबाको सरकारी जागिर पनि थियो ।
भाइबहिनी हो, सानोमा हामी भोगटेको फुटबल खेल्थ्यौँ । फुटबल हाम्रो प्रिय खेल थियो । टुँडिखेलमा गएर टुटीवाला लेस बाँध्ने फुटबल खेल्थ्यौँ । ओहो, खाली खुट्टामा त्यो लेस बाँध्ने भकुन्डाले लागेर भुतुक्कै पाथ्र्यो † खसीको बोसो दलेर खुट्टो केही नरम पाथ्र्यौं । ४ बजेपछि मात्र टुँडिखेलमा खेल्न छुट पाइन्थ्यो । त्यहाँ पाँच–छवटा काठको डब्बा भएको एउटा रेल पनि थियो । बढी घाम हुँदा वा पानी पर्दा त्यसैमा ओत लाग्थ्यौँ ।
बालवयमा हामी अन्य खेल पनि खेल्थ्यौँ । हाँडी फुटाएर त्यसको एक भाग कालो र अर्को भाग रातोलाई कौडाजसरी खेल्ने गथ्र्यौं । टाँक (खोपीजस्तै), पाँचदश (डन्डीबियो) र च्याम्पटी (लप्सीको गेडा) भुटी चुच्चो बनाएर ढुंगामा राखेर घुमाउने खेल पनि खेलिन्थ्यो । जसको च्याम्पटी धेरैबेर घुम्थ्यो, त्यसले जिथ्यो । हार्नेले जित्नेलाई च्याम्पटी दिनुपथ्र्यो । यस अतिरिक्त म पौडी खेल्न, रूख चढ्न माछा मार्न, साइकल चलाउन र झ्याली बजाउनमा साह्रै सिपालु थिएँ ।
मलाई हजुरबुबाले गोर (काठको फल्याक) मा कखरा लेख्न र चिन्न सिकाउनुभयो । गोरलाई गोबर र रातो माटोले लिपपोत गरेर घाममा सुकाएपछि त्यसमा सेतो खरीले लेख्नुपथ्र्यो । अहिलेको विश्वज्योति सिनेमा हलको अगाडि ‘कानुन किताब खाना’ भएको घरमा मन्टेस्वरी कक्षा चल्थ्यो । मैले पनि सानोमा पाँच–सात दिन त्यहाँ खेल्ने र नाच्ने मौका पाएको थिएँ । हजुरबुबा सोध्नुहुन्थ्यो– ‘जुजु, के त्यहाँको पढाइ राम्रो छ ?’ मैले ‘त्यहाँ नाच्न र खेल्न मात्र लगाउँछ’ भनेपछि उहाँले न्हैकन्तलाको प्राथमिक विद्यालयमा १ कक्षामा भर्ना गरिदिनुभयो ।
त्यस स्कुलमा केटा र केटी दुवै एउटै कक्षामा पढ्थे । हामी तरकारी बोक्ने जुटको झोलामा किताबकापी लैजान्थ्यौँ । कक्षामा जो अगाडि पुग्यो, त्यो अगाडि बेन्चमा र जो पछाडि पुग्यो त्यो पछाडि बेन्चमा बस्नुपथ्र्यो । मलाई नेपाली जोडेर पढ्न बडो गाह्रो हुन्थ्यो । गुरुले लट्ठीले कस्तो माया गर्नुहुन्थ्यो भने शरीरभरि सुम्लैसुम्ला † ओहो, त्यो दुखाइ उफ्, अझै बिर्सूं भन्दा पनि याद आउँछ । अनि घरमा अबेरसम्म पढेर स्कुल जाने गर्थें । ६ कक्षामा तीन रुपियाँ अनि १० कक्षामा सात रुपियाँ फिस थियो ।
६ कक्षामा म पद्मोदय स्कुलमा भर्ना भएँ । सानोमा हजुरबुबाले उखान–टुक्का सुनाउनुहुन्थ्यो । बिस्तारै नेपालीमा मेरो रुचि बढ्दै गयो । तर, के गर्नु, फेरि अंग्रेजी विषयमा त मलाई हनहनी ज्वरो आइहाल्थ्यो । भूगोल, इतिहास र गणितचाहिँ बरु सजिलै लाग्थे । संस्कृतको ट्युसन पढ्थेँ । ६ कक्षाको फाइनल जाँचमा पछाडिको केटाले मलाई केही सोध्यो । पछाडि फर्केर हेरेको मात्र के थिएँ, सरले त जाँचहलबाटै बाहिर निकालिदिनुभयो मलाई । विनादोष त्यसो गरेकाले मलाई साह्रै झोँक चल्यो । भोलिपल्टदेखि पद्मोदयमा जाँदै गइनँ ।
जेपी स्कुलमा सात कक्षामा भर्ना भएँ । पढ्ने वातावरण घरमै भए पनि पछि जेपी स्कुलका विद्यार्थीले बोर्डमा नाम निकालेको देख्दा मलाई पनि पढ्ने रहर भित्रैबाट बढ्दै गयो । हामीलाई इतिहासका सरले कसैलाई पृथ्वीनारायण, कसैलाई बहादुर शाह, कसैलाई अमरसिंह आदि पात्र बनाई अभिनय गराएर पढाउनुहुन्थ्यो । त्यस्ता पाठ माथिल्लो कक्षामा गए पनि मेरो मस्तिष्कमा अमिट छाप भएर बस्थे । जेपीमा पढ्दा फुटबल राख्ने जिम्मेवारी मैले पाएको थिएँ ।
सानोमा मलाई पाइलट बन्ने खुबै रहर थियो, पछि आर्मी र प्रहरी बन्ने रहर पनि जाग्यो । मैले स्काउटमा भाग लिएको थिएँ । स्काउटले मानिसलाई अनुशासित, निडर, अन्याय नसहने, सबैप्रति सहयोगी र चरित्रवान् बन्ने प्रेरणा दिन्छ । शान्त स्वभावको विद्यार्थी नै थिएँ तर आइलाग्नेमाथिचाहिँ जाइलागिहाल्थेँ । कसैलाई कसैले नाहकमा हेपेको म सहन सक्दिनथेँ । तुरुन्त त्यसलाई तह लगाइहाल्थेँ ।
एक साथीले जहिले पनि मलाई स्कुलमा खाजा खुवाउँथ्यो । मैले पनि बुबाको खल्तीबाट पाँचको डबल चोरेर एकदिन साथीलाई ढ्याउढ्याउ डकार्ने गरी टन्नै खाजा खुवाइदिएँ । बाँकी डबल बुइँगलमा लुकाएर राखेको थिएँ । आमाले चाल पाउनुभयो । अलिअलि डर पनि लाग्यो । तर, मैले झूटो बोलिनँ । गल्ती सकारेकाले घरमा कसैले केही भनेनन् । त्यो कुरा त्यत्तिकै सेलायो ।
म घरायसी काममा आमालाई सघाउँथे । बारीको रेखदेख गर्ने, गुइँठा बनाउने, भकारो सोर्ने, किनमेल गर्ने, बुबालाई हुक्का ठीक पार्ने आदि काममा म पूरै सहयोग गर्थें । मीनपचासको बिदामा म र मेरो एउटा साथी टोलका आफूभन्दा साना बच्चालाई पढाउँथ्यौँ । पढाएबापत महिनाको एक रुपियाँ फिस लिने गथ्र्यौं । पैसा पाएको दिन चिउरा र परेवाको भुटन बनाएर खान्थ्यौँ ।
कुनै भाकाल पूरा हुँदा म आमासँग घरबाट दक्षिणकाली मन्दिरसम्म भेडा डोर्‍याउँदै लान्थेँ । त्यति बेला दक्षिणकाली पुग्न कि नख्खु कि फर्पिङमा बास बस्नुपथ्र्यो । बस नभएकाले हिँडेर जानुपथ्र्यो । खुट्टा गलेपछि म खर्पनमा बस्थेँ । खर्पन बोक्ने दाइले एकातिर सरसामान र अर्कातिर मलाई राख्थे । त्यति बेला होटेल थिएनन्, जसले पनि आºनो घरमा आतिथिलाई देउतासरह मानेर बास बस्न दिन्थे ।
भाइबहिनी हो, मैले २०२१ सालमा जेपी स्कुलबाट प्रवेशिका परीक्षा पास गरेँ । काकतालीचाहिँ के पर्‍यो भने जुन एसएलसी बोर्डबाट मैले परीक्षा दिएँ, पछि बोर्डको परीक्षा नियन्त्रक हुने अवसर पाएँ मैले । यसरी शैक्षिक प्रशासक हुन पाएकामा म साह्रै खुसी छु ।

प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया