पार्टीको आदर्श र सिद्धान्तले समेट्नुपर्छ

अहिले मुलुकमा एकल जातीय राज्यको माग चर्किरहेको छ । विशेषगरी प्रमुख राजनीतिक दलका आदिवासी जनजातिका नेताहरूले जातीय राज्यको माग गर्दै आन्तरिक संघर्ष गरिरहेका छन् । यहीबेला नेपाली कांग्रेसले जनजातिका माग सम्बोधन गर्नका लागि एक सुझाब समिति गठन गरेको छ । यसै सिलसिलामा कांग्रेसका नेता कुलबहादुर गुरुङसँग सौर्यका बालकृष्ण अधिकारीले गरेको कुराकानी:

जातीय विषयले मुलुकमा प्राथमिकता पाइरहेका बेला कांग्रेसले जनजातिका माग सम्बोधनका लागि सुझाब समिति गठन गरेको छ, यसलाई कसरी लिनुभएको छ ?
कांग्रेसले जनजातिहरूले उठाएको विषयलाई तत्कालका लागि नर्मलाइज गर्न वा समाधानको उपाय खोज्नका लागि पनि समिति बनाएको हुन सक्छ । समितिलाई एक महिनाको समय दिइएको छ, त्यसले दिने सुझाब हेरेर मात्र कुन उद्देश्यका लागि केन्द्रीय समितिले समिति गठन गरिएको हो भन्न सकिन्छ । तर, समाधानका लागि समिति गठन गर्नुभन्दा पहिले कांग्रेसले जुन दिन पार्टीको आदर्श, सिद्धान्तलाई बाहिर गएर जातीय संगठन बनाउने निर्णय लियो त्यहाँ नै गल्ती भयो ।
सबैलाई समेटर संगठन बनाउदा किन गल्ती भयो ?
पार्टी भनेको जातजातले होइन, विचारको आधारमा चल्ने हो । तर, एमाले, माओवादीले जातीय संगठन बनायो र जनजातिहरू उता लाग्ने भए भनेर कांग्रेसले जुन जातीय संगठन बनायो त्यो गलत थियो । जातीय संगठन होइन, पार्टीको आदर्श र सिद्धान्तले सबैलाई समेट्नुपर्छ । नेताहरूको योग्यता र क्षमताअनुसार सबैलाई अवसर दिँदै जाने हो । जातीय संगठन बनाउने होइन, नेतृत्वले त्यसलाई बुझ्न सकेन । तत्कालीन असन्तुष्टि सम्बोधन गर्न खोजियो तर दीर्घकालमा त्यसले ल्याउने परिणामको विषयमा ख्याल पुगेन । पहिलादेखि नै जातीय दल निर्माण हुने कुरा उठ्दै सुस्ताउँदै हुँदै आएको थियो ।
जनजातिलाई कसैले प्रयोग गरिराखेको छ भन्न खोज्नुभएको हो ?
अहिले जातीय मुद्दा बल्झिएर आएको छ । बिस्तारै उठेको आवाजलाई बेलैमा सम्बोधन गर्न नसक्दा समस्या जटिल बनेको छ । यसलाई नेतृत्वले कडा रूपमा प्रस्तुत हुनेभन्दा पनि समाधान गर्न उपयुक्त बाटो लिनुपर्छ । त्यति सहज रूपमा यो विषय सल्टिन्छ जस्तो लाग्दैन । भीमबहादुर तामाङको नेतृत्वमा कांग्रेसले जुन समिति बनाएर एउटा सुरुआत गरेको छ, त्यसलाई आदिवासी जनजाति संघले कत्तिको सहयोग गर्छन्, समितिका अन्य सदस्यले समाधानका लागि बाटो राम्रो पहिल्याउन सक्छन् कि सक्दैनन् त्यसमा नै सबै विषय निर्भर हुन्छ ।
जनजातिले राखेका माग र समितिलाई दिइएको म्यान्डेट हेर्दा समाधान हुन्छ जस्तो लाग्छ ? कत्तिको आशावादी हुनुहुन्छ ?
समितिका सदस्यहरू कुन मानसिकतामा प्रस्तुत हुन्छन्, त्यसमा निर्भर हुन्छ । पार्टीलाई सुदृढ बनाएर लैजाने दृढतासहित कांग्रेसको सुरुआतका दिनमा लिएको नीतिजस्तै जाति, जनजाति, सबै वर्ग, समुदायका विचार समेटेर जाने कोसिस गर्‍यो भने समाधान हुन्छ । होइन, दुई चार दिनका लागि मात्र टार्ने र प्रतिवेदन मात्र दिने हो भने यो अझ भाँडिन्छ । अहिलेको समस्याको समाधान समितिले दिएको सुझाबले त गर्ला तर त्यो निवारण होइन । यो देशमा सबैको बराबरी हक अधिकार छ । यो मिलेको समाज हो मिलाएर नै अघि बढ्नुपर्छ भन्ने मान्यतासहित पार्टी नेतृत्व भित्रैदेखि लाग्नुपर्छ । यो एउटा जात वा दलको समस्या नभई सबैको समस्या हो । अहिलेको समस्याको बीउ के हो भन्ने पत्ता लगाएर समाधान खोज्नुपर्छ । एउटा समितिको प्रतिवेदनले मात्र अब समाधान होलाजस्तो लाग्दैन ।
तपाईं त जनजाति पनि हुनुहुन्छ, जनजातिले उठाएका माग कति जायज छन् ? यी कसरी समाधान गर्नुपर्छ ?
पार्टी भनेको आदर्श, सिद्धान्त र दर्शन हो । त्यसमा हामी कति बाँधिएका छौँ, पार्टीको विचार र सिद्धान्तमा हामी छौँ कि छैनौँ ? पार्टीभित्र विचारमा पनि विशृंखलता आइराखेको छ, यसलाई कसले ल्याइरहेको छ वा आफैँ सुसुप्त रूपमा उठेको थियो त्यसको खोजी गर्नुपर्छ । पार्टीभित्रका विकृति जनजातिका नाममा बाहिर आएको मात्र हो । पछिल्ला दिनमा जसरी कांग्रेस चल्दै आएको छ अब त्यसरी हुँदैन ।
जनजातिका अधिकार पहिचानका लागि विभिन्न तहबाट आवाज उठिरहेको छ, तर तपाईं त यसको विपक्षमा हुनुहुन्छ ?
म कांग्रेस भएर आएको मान्छे हो । म कांग्रेस भएर रहन चाहन्छु । गुरुङ वा जनजाति भएर ००७ सालमा म कांग्रेसमा लागेको होइन । म पहिले नेपाली हो, त्यसपछि कांग्रेस हो अनि मात्र जनजाति आदि इत्यादि हुँ । मेरो आºनो धर्म, संस्कृति र परम्परा छ, त्यसलाई मैले आºनो ढंगबाट निर्वाह गर्दै आएको छु । मैले गरेको कुराले मेरो पार्टीमा कति असर पुर्‍याउँछ र म मेरो पार्टीमा कति मिलिराखेको छु भन्ने सोच्नुपर्छ । अन्य जातिले पनि अहिलेसम्म भए/गरेका कुरामा आत्मालोचना गर्नुपर्छ, त्यसो भए मात्र समस्याको समाधान हुन्छ ।
नेतृत्वदेखि नेता, कार्यकर्ता, पार्टीको विचार, आदर्श, सिद्धान्तबाट विचलित हुँदा आएको परिणाम मात्र हो ?
सत्य कुरा तीतो हुन्छ । कुरै त्यही हो । म कांग्रेस हुँ, म सिद्धान्तवादी हुँ भन्ने कुरा जनजातिले मात्र होइन, अन्य जातिले पनि नसोचेका कारण यो अवस्थाको सिर्जना भएको हो । जातीय संगठन बनाउने बेलामा अन्य जातिले हामी कांग्रेस हौँ, हामी सिद्धान्तवादी हाँै, हाम्रो आदर्श, सिद्धान्त र परम्परा छ, यसलाई अघि लैजानुपर्छ भन्ने सोच राखेको भए यस्तो हुने थिएन ।
एकल जातीय पहिचान, राजनीतिक अग्राधिकारजस्ता विषय जनजाति नेताहरूले उठाएका छन्, यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
यो एउटा पार्टीको मात्र समस्या होइन । एउटा दल विशेषले मात्र समस्याको समाधान गर्न खोज्दा पनि समाधान नहुने अवस्था सिर्जना हुन थालेको छ । माओवादीले उक्साएको छ भनेर हामीले भनिराखेका छाँै भने उसको उक्साहटको परिणति के हुन्छ भन्ने पनि उसले सोच्नुपर्छ । जनजाति वा तागाधारी भएर होइन, नेपाली भएर सबैले सोच्नुपर्छ । पहिले नेपाली बन्नुपर्‍यो र सोच्नुपर्‍यो, अग्राधिकार भनेको यहाँसम्म यतिसम्म हुन सक्छ वा यो हुन सक्दैन भनेर सबैले भन्न सक्नुपर्छ । यो कांग्रेस, एमाले, माओवादी वा जनजातिको मात्र समस्या होइन, सबैको साझा समस्या हो । मैले यो अवस्था आउन सक्छ भनेर मैले पहिले नै भनेको थिएँ । तर, उनीहरूले उक्साउने काम मात्र गरे । नेताहरूको बदमासीका कारण यो अवस्था आएको हो । विगतको समीक्षा गर्नुपर्‍यो, आ–आºनो ठाउँबाट भए/गरेका गल्ती महसुस सबैले गर्नुपर्‍यो । सबैले समस्या चिन्नुपर्छ, त्यो जातजाति भएर होइन, नेपाली भएर समाधान खोज्नुपर्छ । अहिले हेर्दा जातको समस्याजस्तो देखिएको छ तर यो जातको समस्या होइन, खाली सोचाइको कुरा मात्र हो ।
तपार्इंले त केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्नुभएछ, किन ?
कांग्रेस यतिबेला नेपाली कांग्रेस रहेको छैन, सुशील कोइराला र शेरबहादुर देउवाको पार्टी भइराखेको छ । जो कांग्रेस, उसले संगठनका लागि योगदान गरेको छ उसलाई होइन, आºनो मान्छेलाई राखेपछि त्यहाँ कांग्रेस कहाँ बाँकी रहन पुग्यो ? एक केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समितिको बैठकमा भने, ‘म देउवा पक्षको मान्छे हुँ, अहिले निर्वाचित भएर सुशीलदाको आगमनमा आइपुगेको छु, ढोकाभित्र पस्न पाउँछु कि पाउँदिन ?’ अनि त्यहाँ कांग्रेस होइन, सुशील कोइरालाको मान्छे पस्ने ठाउँमा मजस्ता निमुखा मान्छे जानु जरुरी नठानेर बैठकमा नगएको हुँ ।
यो कुरा त बैठकमा नै उठाउनुभएको भए हुन्थ्यो होला, अब बाहिर कहिलेसम्म बस्नु हुन्छ ?
मैले पटकपटक कुरा उठाएको हो । केन्द्रीय सदस्य र सभासद् बनाउने कांग्रेस त बाहिर छन् है त्यता ध्यान दिऊँ, म कांग्रेस हुनुको नाताले कांग्रेसभित्र नै कांग्रेस खोजिराखेको छु भनेको हो । कांग्रेसहरूका बीचमा कांग्रेस खोज्ने प्रयास गरेको छु । कांग्रेस निर्वाचनमा आएन, मेरो मान्छेलाई अघि सार्दा कांग्रेस पराजित भएको हो निर्वाचनमा । कांग्रेसमा अझै एकता भएको छैन, कार्यगत एकता मात्र भएको छ । मेरो आवश्यकता केन्द्रीय समिति र नेताहरूले देखे भने बैठकमा सहभागी हुँला । धेरैलाई म बाहिर नै बसिदिए हुन्थ्यो भन्ने चाहना पनि छ ।
झन् उनीहरूलाई नै सहयोग पुगेन र ?
ठीकै छ, के भयो त ? आºनो ढंगले मात्र कांग्रेस पार्टी सञ्चालन गरेर लैजान सक्दा रहेछन् भने त राम्रै कुरा भयो नि । प्रजातन्त्रका लागि लड्ने सबै मान्छे कांग्रेस केन्द्रीय समितिमा छन् र ?
संविधानसभा विघटनपछि मुलुक राजनीतिक र संवैधानिक संकटमा फसेको छ, यसको समाधान के हुन सक्छ ?
प्रमुख राजनीतिक दलका शीर्ष नेताले आजै सहमति भयो । भोलि नै संविधानका विवादित विषय समाधान भए भन्दैमा संविधानसभाको कार्यकाल चार वर्ष लम्ब्याए । संविधान बनाउन भनेर आएका सभासद्लाई संविधानका विवादित विषयमा सहमति खोज्नसमेत समय दिइएन । मुलुकलाई ठूलो संकटमा तिनैले धकेलिदिएका छन् । संकट समाधानका लागि अहिलेसम्म पहल गरेका छैनन् । प्रजातन्त्र आएपछि पनि नेताहरू राजा भएको ठाउँमा नगएका होइनन्, राजासँग मिलेर प्रजातन्त्र खतम बनाउन पनि लागिपरे । पुष्पकमल दाहालले नै पटकपटक भनेका छन्, ‘राजासँग हाम्रो कार्यगत एकता थियो ।’ अब देशमा राजा रहँदैन, तिमी बाहिर बस भनेर त माओवादी र राजाको कार्यगत एकता भएन होला । अहिले राष्ट्रपतिलाई गुहार्ने काम भएको छ । आफूले चुनेर पठाएको राष्ट्रपतिलाई के–कति अधिकार छ भन्ने सबैलाई थाहा नै छ । राष्ट्रपतिलाई विवादमा तान्ने काम कसैले गर्नु हुन्न । अब तीन वा पाँच राजनीतिक दलबाट समस्याको समाधान सम्भव छैन । सबै दल, नागरिक समाज सबैसँग छलफल गरेर समाधान खोज्नुपर्छ । तर, सबै विषय टुंगो नलागेसम्म निरन्तर छलफलमा बस्नुपर्छ । तर, हात्तीवन, स्यालवन वा अर्को के वनमा बसेर होइन कि सबै विषय टुंगो लगाएर मात्र उठ्नुपर्छ ।
राष्ट्रिय सहमतिको सरकार गठनको कुरा आएको छ, अब सरकारको नेतृत्व गर्ने पालो कांग्रेसको हो रे ? तपाईं पनि प्रधानमन्त्रीको
दाबेदार हो कि ?
सरकार बनाउने कुरा पनि पालो भन्ने हुन्छ ? खेतमा पानी लगाउने हो र ? मुलुकलाई निकास यसरी दिनुपर्छ, हाम्रो प्रस्ताव यो हो भनेर भन्नुपर्‍यो । राष्ट्रपतिले ‘यो सरकार कामचलाउ हो, वैकल्पिक सरकार गठन गर्न प्रधानमन्त्री देऊ’ भनिसकेका छन् । तर, पार्टीहरू प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् । कांग्रेसले आन्दोलनको कार्यक्रम तय गरेको छ । अहिलेको समस्याको समाधान सहमति नै हो । मैले आफूलाई यसअघि नै त्यसका लागि प्रस्तुत गरेको हुँ । तर, म रिजेक्ट भइसकँे । मलाई विवादमा पार्न प्रधानमन्त्रीको उम्मेदवार छान्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा प्रस्तुत गरेपछि म त्यसबाट पछि हटिसकेँ । १७/१८ पटक पराजित भइसकेकादेखि अरू धेरै साथी लागिपरेका छन् । तर, म त्यसमा लागेको छैन । तर, जिम्मेवारी पाएँ भने सम्हाल्छु र मुलुकलाई निकास दिन्छु ।

प्रतिक्रिया