मानसिक रोगीलाई छैन एम्बुलेन्स


काठमाडौं, १० असार । ललितपुरको लगनखेलस्थित एक मात्र सरकारी मानसिक अस्पतालमा एउटा पनि एम्बुलेन्स छैन । मानसिक रोगीको उपचार हुने केन्द्रीय अस्पताल स्थापनाकालदेखि नै एम्बुलेन्सविहीन छ ।
उपचारका लागि बिरामी ओसार–पसार गर्न जुनसुकै अस्पतालमा पनि एम्बुलेन्स सेवा अनिवार्य हुनुपर्ने सरकारी नियम छ । तर, सरकारकै एक मात्र मानसिक अस्पताल २९ वर्षदेखि एम्बुलेन्सविहीन छ । अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनका अनुसार मानसिक बिरामीको आकस्मिक उद्धारका लागि एम्बुलेन्स आवश्यक छ । तर, अस्पतालमा एम्बुलेन्स नहुँदा अन्य अस्पतालका एम्बुलेन्स वा ट्याक्सीले काम चलाउनुपरिरहेको छ ।
‘एम्बुलेन्स सेवा कुनै पनि अस्पतालको अभिन्न अंग हो,’ उनले भने, ‘तर, सरकारी बेवास्ताका कारण हालसम्म अस्पतालले एम्बुलेन्स पाउन सकेको छैन ।’ उनका अनुसार अस्पतालले एम्बुलेन्स उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक–पटक मागपत्र पठाए पनि मागको सुनुवाइ भएको छैन ।
अस्पतालमा एम्बुलेन्स नभएकाले सडकमा भेटिएका मानसिक बिरामीलाई अस्पतालमा ल्याएर उपचार गर्न समस्या भएको डा. शेरचनको भनाइ छ । ‘सडक तथा गल्लीमा मानसिक समस्या भएका बिरामी हिँडिरहेका देखिन्छन्,’ उनी भन्छन्, ‘त्यस्ता बिरामीलाई उठाएर ल्याउने साधन एम्बुलेन्स नहुँदा त्यसै छाड्नुपरिरहेको छ ।’ उनले सरकारले उपयुक्त एम्बुलेन्स दिए उपचार अभावमा सडकमा भौंतारिएका मानसिक रोगीको उपचार सम्भव हुने बताए ।
अस्पतालमा दैनिक सात/आठजनाले ‘एम्बुलेन्स चाहियो’ भन्दै फोन गरे पनि अस्पतालले बिरामीका आफन्तलाई ‘एम्बुलेन्स सेवा छैन आफैँ व्यवस्था गरेर अस्पतालमा बिरामी ल्याउनू’ भन्ने जवाफ दिइरहेको उनले बताए । उनले भने, ‘मानसिक बिरामीलाई साधारण एम्बुलेन्स वा ट्याक्सीमा ल्याउन गाह्रो हुन्छ तापनि हामी केही गर्न सक्ने अवस्थामा छैनौँ ।’
उनका अनुसार मानसिक रोगीका लागि ठूलो ठाउँ भएको र सबै औषधि तथा उपकरण भएको एम्बुलेन्स चाहिन्छ । आकस्मिक समयमा मात्र होइन उपचाररत बिरामीलाई पुन:स्थापना केन्द्रमा लैजानुपर्दा वा बिरामी निको भएर फर्काउन पनि एम्बुलेन्स सेवा चाहिन्छ ।
०४० सालमा स्थापित सो अस्पतालमा अहिलेसम्म पनि एम्बुलेन्स सेवा उपलब्ध गराउन नसक्नु कमजोरी भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् । ‘अस्पतालमा एम्बुलेन्स अनिवार्य हुनुपर्छ भनेर अन्य अस्पताललाई नियमले च्याप्ने सरकारले आºनैमा चाहिँ तीन दशकदेखि एम्बुलेन्स नै नदिई बस्न नमिल्ने हो,’ ती कर्मचारीले भने ।
मन्त्रालयका प्रवक्ता डा. पदमबहादुर चन्द मानसिक अस्पतालमा एम्बुलेन्स दिने विषयमा छलफल भइरहेको बताउँछन् । आगामी आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराइने उनको भनाइ छ । अस्पतालमा दैनिक सयभन्दा बढी मानसिक बिरामी उपचारका लागि आउने गरेको निर्देशक शेरचनले जानकारी दिए ।

प्रतिक्रिया