समृद्धिले नपखाल्ने युद्धको पीडा

मत रोल्पा जाने सोचमा छु यार ।’
अक्सर फेसबुक वा जिमेलमा च्याट गर्दा म मित्र अशेष आचार्यलाई भन्छु । मेरो यो भनाइमा गम्भीरता र ठट्टा बराबरीजस्तो हुन्छ । हामीले एन्टेना फाउन्डेसन नेपालको धाराबाहिक नाटकमा पटकथा लेखकका रूपमा एकै दिन करिअर सुरु गरेका थियौँ । आज हामी दुवै त्यो क्षेत्रमा छैनौँ ।
अफिसमा काम सुरु गरेको करिब डेढ महिनापछि हामी अशेषको गृह जिल्ला रोल्पामा फिल्ड गएका थियौँ । भ्रमणको उद्देश्य रोल्पामा माओवादी युद्धको प्रभाव नियाल्नु थियो । २०६३ जेठ अन्तिमतिरको यो यात्रामा धेरै रोल्पालीको मुहारमा युद्धको पीडा देख्न पाइन्थ्यो ।
हामी बसपार्कनजिकको होटलमा बसेका थियौँ । प्रत्येक साँझ होटलनजिकको घरमा मान्छेको लाम देखिन्थ्यो । ‘यो के हो दाइ ?’ मैले होटलवालालाई सोधेको थिएँ ।
‘भोलि ब्यान फोन गर्नको लागि, नाम टिपाउन आका मान्छे,’ उनले चामल धुँदै जवाफ दिएका थिए ।
माओवादीले टेलिफोन टावरमा आक्रमण गरेपछि रोल्पामा टेलिफोन नाम मात्रको थियो । बजारमा भिएचएफ प्रणालीबाट राखिएको एउटा फोन थियो । जहाँ बिहान फोन गर्नलाई बेलुकै आएर नाम टिपाउनुपथ्र्याे ।
तेस्रो दिन हामीले एउटी बहिनी भेटेका थियौँ । नाम सोधेनौँ तर उनले छोटकरीमा आºनो दाजुको कथा सुनाएको कुरा हाम्रो दिमागमा गढ्यो । जो माओवादी र सेनाको दोहोरो भिडन्तमा परी हातखुट्टा राम्रो नचल्ने भएका थिए ।
भोलिपल्ट उनको घर गयौँ । घर रोल्पा सदरमुकामबाट नजिकै पूर्व दिशामा थियो । भिरालो परेको जमिनमा फुसले छाएको माटोको घरको अगाडिको सानो पेटीमा बसेका थिए । उनी आफैँ बोल्न सक्दैनथे । आमा सुन्तली विकबाट उनको नाम खिमबहादुर भन्ने थाहा पायौँ, जसले ढाका टोपी, मैलिएको सेतो टिसर्ट र खाकीको हाफपेन्ट लगाएका थिए ।
‘त्यो दिन माघे संक्रान्तिको दिन थ्यो,’ छोराको बारे सुनाइरहँदा रातो जालीदार पछ्यौरीले टाउको बेरेकी सुन्तलीको मुहार उदास थियो । बर्खाको पानीले धाङ्सी खोला धमिलिएझैँ । छुट्टै गुलाबी रंगको पछ्यौरीले जिउ बेरेकी थिइन् ‘ब्यानै राँगाको मासु ल्याका थ्यौँ । आमा छोरा भएर धान कुट्यौँ । त्यसपछि कपी किन्न जान्छु भन्यो । पचास रुपियाँ दिएर २० रुपियाँ फिर्ता ल्याउनु भनेँ । त्यसपछि छोरा गएजस्तो सग्लो फर्किएर आएन । रगत पच्छे भएर फर्कियो ।’
‘उपचारको लागि नेपालगन्ज, काठमाडौंसम्म लग्यौँ, जाति भएन ।’
त्यसपछि खिमबहादुरको शरीरभरि बमको छर्राले बनाएका डोबहरू ढुंगाका कोरिएका अक्षरसरह भए । उसलाई युद्धले अपांगता र मौनताको कोसेली जीवनपर्यन्तका लागि छाडेर गयो । उनको उपचारमा धान खाने खेत पनि साहुको हातमा पुग्यो ।
‘क्रान्तिको सुन्दर नाराले कसरी समेट्छ होला खिमबहादुरको जीवनलाई ?’ उसको घरबाट उकालो लाग्दा मेरो दिमागमा घुमिरहेको थियो ।
त्यसको केही दिनमा कान्तिपुर टेलिभिजनमार्फत प्रचण्डको अन्तवार्ता मैले रोल्पामै हेरे । उनी त्यस बेलासम्म काठमाडांैमा निस्केका थिएनन् । प्रचण्डले अन्तर्वार्तामा क्रान्तिको बखान र महत्त्व दर्साए । द्वन्द्वकालको क्षतिलाई निरपेक्ष रूपमा हेर्न नहुने बताए । जुन द्वन्द्वको प्रभाव माडीचौर जाँदा बाटोमा पनि भेटियो । धाङ्सीखोलामाथिको झोलुंगे पुलको दायाँ–बायाँको बार काटिएको थियो । पार गर्नलाई अति
गाह्रो थियो ।
गर्मीमा भीरको बाटो हिँड्दै हिँड्दै हामी माडीचौर पुग्याँै । माडीचौरको ठाउँठाउँमा रोपाइँ भइरहेको थियो । त्यहाँ केही स्थानीय माओवादी नेताको चर्चा भयो । कमरेड इतिहास, कमरेड नवीन, कमेरड समृद्धि यस्तै उपनामहरू थिए । मैले पहिलोपल्ट वर्षमान पुन ‘अनन्त’ नाम त्यहीँ सुनेँ । माओवादीको ठूलो नेता हो भन्थे उनका गाउँलेहरूले । तर, मैले उति चासो दिइनँ किनकि मलाई माओवादीको ठूलो नेता प्रचण्ड, बाबुराम लाग्थ्यो । तर, भोलिपल्ट अनन्तको घर जाने समूहमा चाहिँ म नै थिएँ । उनका बुबा इकराज पुन र भाइ थिए । भाइको नाम सोधिएन र अब कहीँ भेट भयो भने चिनिँदैन पनि । तर, त्योबेला उनैले कालो चिया पकाएर म र मेरा मित्र अभिमन्यु निरवीलाई दिएका थिए ।
त्यही रोल्पाली लवज, जीवनशैली र त्यसमा युद्धले पारेको प्रभाव समेटेर कथा बनाइएको नाटक थियो धाराबाहिक रेडियो नाटक ‘नयाँ बाटो नयाँ पाइला ।’ जसले निकै चर्चा पायो । उसमाथि युद्धमा खुट्टा गुमाएर अपांगी भएकी पात्रको निकै चर्चा भयो, जो पात्र हामीले खिमबहादुर विक सम्झेर सिर्जना गरेका थियौँ ।
करिब तीन वर्षपछि ६६ साल वैशाखमा फेरि रोल्पा जाने अवसर जुर्‍यो । त्यो बेला माओवादी नेता वर्षमान पुनलाई काठमाडांैमा धेरैले चिन्ने भइसकेका थिए । साथै, पहिले जाँदा हामी त्यो ठाउँमा नाटकका लागि कथा खोज्दै गएका थियौँ । यसपालि त्यही नाटकको लोकप्रियता हाम्रो परिचय भएको थियो ।
यसपालि लिवाङ त के माडीचौरमै मोबाइल बोक्नेहरू धेरै भेटिन्थे । माडीचौरको जमिनमा नागबेली कच्चीसडक खनिएका थिए । त्यसैले यसपालि माडीचौर जाँदा धाङ्सी खोलाको
बाटो हिँडेनौँ हामी ।
‘अनन्तलाई सम्झेर कस्तो लाग्छ ?’ मैले वर्षमान पुनलाई इंगित गर्दै बारीमा मकै गोडिरहेको एक माडीचौरवासीलाई सोधेँ ।
‘कस्तो लाग्नु र ? ऊ त नेता मान्छे, काठमाण्डुमै बस्छ’ । कोदालोको बिँड समाएर उभिँदै जवाफ दिएका थिए ती किसानले । उनको निधारबाट हल्का पसिना चुहिरहेको थियो ।
‘गाउँ कत्तिको आउँछन् ?’
‘अस्ति चुनावको बेला एकपटक आको थ्यो, त्यत्ति हो ।’
त्यसपछि, अनन्तको बुबा खोज्दै माथितिर उक्लियौँ । उनका पूरै परिवार खेतमा धान रोपिरहेको अवस्थामा भेटिए । बुबा इकराज पुन बुढ्यौली उमेरमा पनि फुर्तिसाथ हलो जोतिरहेका थिए । उनका दाइ आली लगाउँदै थिए भने आमा बीउ ओसार्दै ।
केहीक्षण अनन्तका बुबासँग कुरा गरेँ । तर, छोराको सफलतासँग इकराज पुनको कुनै सपना जोडिएको पाइनँ । बस् खेती किसानीमा जिन्दगी गुजार्ने उनको चाहना थियो ।
फेरि तलतिर झर्दै तिनै मान्छे बाटोमा भेटिए, जसलाई मैले अनन्तको बारेमा
सोधेको थिएँ । उनी हतारमा माथितिर लाग्दै थिए ।
‘कता लाग्नुभो ?’
‘भात खानु गा’को, अब अनन्त पो मन्त्री होला, आराम गर्ला, हाम्रो त यस्तै छ किसान जिन्दगी,’ उनले यतिभन्दा अनन्त माथि पुगिसकेका थिए ।
त्यसपछि हामी रोल्पा सदरमुकाम लिवाङ फर्कियौँ । काठमाडौं फर्कने अन्तिम दिन म मित्र विनोद काफ्लेसँग खिमबहादुरको घर गएको थिएँ । खिमबहादुर पहिलेको भन्दा ठूलो भएका थिए । तर, यथावत् थियो उनको विवशता । अनि उस्तै फुसले छाएको ढुंगा र माटोको घर ।
त्यो दिन खिमबहादुरका बुबाआमा घरमा थिएनन् । दिदी रमिता थिइन् । मैले उनैसँग कुरा गर्ने जमर्काे गरेँ ।
‘मेरो भाइको पढाइ राम्रो थियो,’ रमिताले भाइको विगत कोट्याइन्, ‘सबैले राम्रो पढ्छ भन्थे तर यस्तो भयो ।’
उनी बोल्दाबोल्दै रोकिइन् । मैले पनि तुरुन्त केही सोधिनँ । छेवैमा बसेका थिए खिमबहादुर जो चार कक्षामा पढ्दापढ्दै दोहोरो भिडन्तमा परे । त्यसपछि उनी स्कुल जान सक्ने अवस्थामा रहेनन् र पढाइ छुट्यो ।
‘यस्तो नभएको भए आज तपाईंको भाइ के गर्दै हुन्थ्यो जस्तो लाग्छ ?’ प्रश्न सोध्दा मेरो मन आफैँ भारी भएको थियो ।
‘मेरो भाइ कतै जागिर खाँदै हुन्थ्यो होला, नभए नि’ क्याम्पस त पढ्थ्यो नै,’ उनले झनै मन भारी हुने जवाफ
दिइन्, ‘तर अब यस्तो दिन कै’ले आउँदैन । दु:खमाथि दु:ख छ, कस्ले हेर्छ र हाम्लाई ?’
यतिबेला खिमबहादुरले दिदीलाई गढेर नियाले । रमिताको मुहार अझै उदास थियो । त्यसपछि मैले उनलाई कुनै प्रश्न गरिनँ ।
छुट्ने बेला उनीहरूसँग फोटो खिच्न कर गरेँ । विनोदले फोटो खिचिदियो ।
‘अन्तिमको प्रश्न नसोध्नु पथ्र्याे’ फर्केर अलि माथि आइपुग्दा विनोदले मलाई भन्यो ।
म चुप लागेँ किनभने विनोदलाई भन्ने जवाफ थिएन मसँग । विनोदको भनाइ– त्यो प्रश्नले उनीहरूको दु:ख कोट्याउने काम गर्‍यो जुन राम्रो होइन ।
आज युद्धकालमा भत्काइएको धाङ्सीखोलाको झोलुंगे पुल बनिसकेको छ । वर्षमान पुन मन्त्री भएका छन् । तर, कुनै समृद्धिले नछुने ठाउँमा छन् खिमबहादुर विक, जसको जीवनमा
केही अमर, अजर छन् त– आँसु, पीडा र युद्धप्रतिका गुनासा ।

प्रतिक्रिया