साम्बभक्तका नालीबेली

मकैपर्वले सातो नउडाएको भए र राजधानीमै बसेर क्षमता प्रदर्शन गर्ने वातावरण पाएको भए कवि साम्बभक्त सुवेदीको योगदानबाट नेपाली समाज अझ बढी लाभान्वित हुने थियो । तर पनि, उहाँले नेपाली साहित्यलाई आफ्ना जेजति सिर्जना दिनुभएको छ, त्यो निकै पोषिलो गुदी भएको देखा पर्दछ । अरू जनसामान्यको भन्दा आफ्नो बाटो बेग्लै छ भन्ने मान्यता कवि सुवेदीको थियो । आफ्नो स्वतन्त्रतालाई आघात पार्ने कुनै पनि प्रयासविरुद्ध जीवनभर उहाँ सदैव अडिग रहनुभयो । पराधीनता उहाँलाई कहिल्यै स्वीकार्य भएन । स्वावलम्बन, निर्भीकता र सत्यवादिताको आचरणबाट कहिल्यै विचलित हुनुभएन । यिनै कुराले गर्दा आफ्ना समकालीन स्रष्टाभन्दा बेग्लै व्यक्तित्व बनेको थियो उहाँको ।’ ग्रन्थ सम्पादनकै क्रममा साहित्यकार रोचक घिमिरेकाले प्रस्तुत गर्नुभएका यी वाक्य जीवन्त छन् । यी वाक्य नै साम्बभक्तलाई चिन्नका लागि काफी छन् ।
इतिहासको कालखण्डमा घटेका घटनाले हामीलाई सधैँ झस्काउने गर्छ । नेपाली साहित्यका प्रथम सहिद ना.सु. कृष्णलाल अधिकारीले ‘मकैको खेती’ नामक पुस्तक लेखेबापत जेलमा परेपछि उनको जेलमै मृत्यु भयो । सबै पुस्तक जलाइए । उनले यस्तो सजाय पाएको देखेर थुपै्र सर्जकहरूमा भित्रभित्रै आगो बलिरहेको थियो । आफ्नो भिनाजुको यस्तो हालत देखेर उनी पनि धेरै दु:खी भए । यस काण्डमा आफू पनि मुछिने भयले निकै सतायो उनलाई । उनी डरले गाउँ लागे । भिनाजु सहिद भएपछि उनी विक्षिप्त भए । आफ्ना सिर्जनाहरू छद्म नाममा प्रेषित गर्न थाले । र, उनै प्रथम साहित्यका सहिदलाई उचित न्याय दिन दिलाउन विद्वान् लेखकलाई आह्वान गर्दै रहे अन्त्यकालसम्म । उनै विद्वान्का लेख, रचना र उनका बारेमा विभिन्न लेखकले व्यक्त गरेका विचार समेटिएको ग्रन्थ ‘साम्बभक्त सुवेदी : सृजना र सम्झना’ प्रकाशन भएको छ । उनको मृत्यु भएको तीस वर्षपछि प्रकाशन भए पनि यस ग्रन्थले साम्बभक्तलाई न्याय दिएको छ ।
ग्रन्थभित्र उनका विविध पक्षलगायत उनका सिर्जनाहरू पनि समेटिएका छन् । साम्बभक्तका बारेमा यस ग्रन्थबाट धेरै कुराहरूको जानकारी मिल्नुका साथै हामीले भोग्न नपाएका इतिहासका कालखण्डहरू सजीव भएर मानसपटलमा घुमिरहन्छन् । सम्झनै नसकिने यस्तो दर्दनाक समयलाई कसरी उनीहरूले भोगे होलान् भन्ने मनमा खेलिरहन्छ । ग्रन्थभित्र उनका पहिले नै प्रकाशित भएका पुस्तक पनि समावेश भएका छन् । यसले पाठकलाई साम्बभक्तका बारेमा जान्न खोज्दा यसै ग्रन्थबाट सबै कुराहरू प्राप्त गर्न सकिन्छ । सुवेदीका कविताको भाषा, शैली र विषय शिष्टतापूर्ण र समाज सुधारक छन् । यस्ता आदर्श कविका रचानाले ढिलै भए पनि न्याय पाएका छन् । उनका छोरा नवराज सुवेदीले प्रकाशन गरेर पिताजीको इच्छा पूरा गरे ।
यस कृतिको मुख्य उद्देश्य भनेको साम्बभक्तका व्यक्तित्व, कृतित्वका विविध पक्षहरूलाई उजागर गर्नुका साथै उनले नेपाली साहित्यमा गरेका योगदानको चर्चा गर्नु नै हो । आगामी दिनहरूमा उनका रचना खोजी गरेर निकाल्न प्रयत्न गर्नुपर्छ । साम्बभक्तकै बारेमा चर्चा गर्दा उनका रचना चोरीका भएका बारेमा केही प्रसंग पनि यहाँ उल्लेख भएका छन् । साम्बभक्तका छिमेकी मित्र हितप्रसाद उपाध्याय सुवेदीले पाण्डुलिपि लगेर हुबहु उतारेर प्रकाशन गरेका रहेछन् । हितप्रसादका छोरा अशोक सुवेदीको सम्पादनमा यस्तो दुस्साहसपूर्ण कार्य भएको प्रमाण यहाँ उल्लेख भएको छ । यस पुस्तकबाट यस्ता बौद्धिक चोर चिन्ने अवसर प्राप्त भएको छ । यसका साथै अशोक सुवेदीले सम्पादन गरेका कृति ‘अङ्गत–रामायण संवाद’भित्र नेपालका चर्चित समालोचक प्रा.राजेन्द्र सुवेदीले भूमिका लेखेका छन् । हितप्रसाद ठूलै प्रतिभा भएका कवि हुन् भनेर पगरी गुथाएका छन् । ताकि हितप्रसादलाई चिन्नेजान्नेहरू भन्छन्, ‘हितप्रसाद विवाहमा श्लोक भन्ने एक साधारण व्यक्ति मात्र हुन्, कुरै नबुझेर यस्ता व्यक्तिका बारेमा ठूला कुरा गर्नु एउटा चर्चित समालोचकका लागि शोभनीय कार्य होइन ।’
समालोचनामा निकै चर्चा बटुलेका प्रा.डा.सुवेदीलाई नियतवश फसाइएको पनि हुनसक्छ र अर्को कुरा साम्बभक्त, अनङ्गनाथ, चक्रपाणि, शम्भुप्रसाद, लोकनाथ पोखरेल लगायतका रचनाहरू समावेश गरेर पिताको गुन मैले चुकाएँ भने जस्तो कार्य गर्नु स्वयं अशोक सुुवेदीलाई पनि शोभा दिँदैन । यसले बाबुको गुनभन्दा पनि उनलाई बदनाम गराउने बलियो माध्यम बनेको छ । यो ग्रन्थ पठनीय र संग्रहणीय छ ।

प्रतिक्रिया