सोध्न बाँकी प्रश्नहरू

बत्ती, साँझ र सडकमा दौडिरहने प्रत्येक जीवनमा प्रश्नका छाया सल्बलाएका हुन्छन् । हामी तिनलाई अलग्याउन सक्दैनौँ किनकि ती हाम्रा अस्तित्वका चिह्न हुन् । प्रश्नका मिश्रित रंगहरूमा जीवन चलेको हुन्छ ।
अस्पतालभित्रको बेग्लै संसारमा रहँदा म सोच्थेँ, ‘डाक्टरको संवेदना कहाँ पोखिएला ?’ म नर्सहरू देख्थेँ, हरेक पल औषधिका सिसी, ट्याब्लेट अनि क्याप्सुल लिएर दौडिरहेका । तिनमा अनौठो संवेदना भेट्थेँ । मेरा नजिक आएका बेला ती मलिन देखिन्थे । म सम्पूर्ण तागत हराएर पल्टिएको हुन्थेँ, उनीहरू आउँदै जाँदै गरिरहन्थे । जे देखिन्थ्यो, त्यो संवेदना हुन्थ्यो । डाक्टरका सेता कोटले छोपिने शरीरमा संवेदना बग्थ्यो कि बग्थेन ? अहँ, मैले मेसै पाइनँ ।
कक्षामा पढाइरहेको शिक्षक कति खण्डमा विभाजित भएको होला ? हरेकपल्ट हल गर्न नसकिने हिसाब बोर्डमा लेख्दै गर्दा कस्तो मनस्थितिमा रहन्छ ऊ ? एउटा जोगीले भिक्षा माग्दा के सोचिरहेको हुन्छ ? सन्तत्व प्राप्त गर्छु भनेर समाजबाट विच्छेद भएको मान्छे फेरि समाजमै आइरहँदा एउटा विरोधाभास त पक्कै देखिन्छ । त्यो विरोधाभासको परिस्थितिमा म तिनका आकांक्षाहरू अनुमान गर्न खोज्छु तर अन्तजस्तै यहाँ पनि एउटा प्रश्न त अड्किइहाल्छ । सन्तत्व प्राप्त गर्ने कुरामा कुन स्वार्थले खेल्छ उनीहरूको मनमा ? ‘किम–कि–दुक’ भन्ने एउटा कोरियाली निर्देशकको चलचित्रमा देखाइएको छ– कसरी आफूभित्रका सांसारिक भ्रमहरूलाई नियन्त्रण गर्न गएको मान्छे प्रेममा पर्छ । यौनको स्वाभाविक आकर्षण उसले नकार्न सक्दैन । प्रश्न फेरि महत्त्वपूर्ण मानिन्छ, यहाँ पनि । जीवनका लोभहरूबाट भाग्न सकिन्छ ?
बाबुआमाले छोराछोरीमा सारिदिने सपनालाई कसरी हेर्न सकिन्छ ? त्यो वास्तवमा माया हो या कोरिदिएको एउटा साँघुरो परिधि ? देश, काल, समय, परिस्थितिअनुसार दृष्टिकोणहरू बन्ने गर्छन् । यी प्रश्नहरूको उत्तरमा पनि ती भिन्नता महसुस गर्न सकिन्छ । कल्पना, यथार्थ, व्यवहार, परम्परा – यी सबैको औचित्य कति हुन्छ ? कुनै मान्छेले आध्यात्मिकतालाई अँगालेको हुन्छ । उसका हरेक दृष्टिकोण आध्यात्मिक हुन्छन् । व्यवहारका पाटाहरूलाई बिर्सिएर अध्यात्म चिन्तन गर्दाको सन्तुष्टि / असन्तुष्टि कस्तो रहन्छ ? यसमा पनि दर्शन होला । दर्शन, विचार अनि सिद्धान्त जीवनका कस्ता दस्तावेज हुन् ? अहँ, सजिलो छैन थाहा पाउन ।
धर्मको कुनै रंग हुँदैन । तर, रंगहीनतामै पनि त्यो उग्र देखिन्छ । कुनै व्यक्ति, संस्था, शास्त्र अनि परम्पराविशेष भएर देखिँदा धर्महरू वास्तवमै कुरूप देखिन्छन् । आस्थाको स्वेच्छिक अनुशासन भाँचिन्छ धेरैपल्ट जतिबेला धर्म अस्तव्यस्तता, अस्थिरतामा र बौद्धिक तर्कशीलता हराएको अवस्थामा यत्रतत्र छरिन्छ । मान्छेलाई धर्मले या धर्मलाई मान्छेले नियन्त्रण गर्नुपर्छ ? धर्मकै कारण हुने विभाजनले मानवसभ्यताका लागि कस्तो परिणाम निम्त्याउँछ ? यी प्रश्नहरू सुन्न सबैका देउता ज्युँदै होलान् ? थाहा छैन ।
हाम्रोमा बाटा र गन्तव्यहरू स्पष्ट छैनन् । विचारले कोरिएका भूमध्यरेखाबाट हिँड्नुपर्नेहरूले पनि त्यसलाई प्रस्ट पार्न सकेका छैनन् । ती वास्तवमा सरकारभन्दा माथि हुन्छन् । कुनै पनि देशको सर्वोच्च संस्था नै त्यही हो । तर, अस्तित्वमा निस्किँदाखेरी यी धेरैतिर जोडिइसकेका हुन्छन् । सँगसँगै त्यो भूमध्यरेखा पनि मेटिन्छ । त्यस्तो बेला एउटा निरास मान्छेमा हामी के देख्छौँ ? जीवन बाँच्ने क्रममा हरेक चिजमा प्रश्नहरू पोतिँदा एउटा मान्छे भत्किएर कति टुक्रामा विभाजित हुन्छ ?
चेतना के हो ? हामी हरेक ती स्वाभाविकतालाई ठूलो बनाएर हेर्छौं, अनि ती अस्वाभाविक भइदिन्छन् । स्वाभाविकतामै हरेक कुरालाई आत्मसात् गर्नु चेतना हो ।
सजिलै अर्थ लगाए हुने कुराहरूलाई पनि हामी अमूर्त शैलीमा खेल्न खोज्छौँ । राजधानी बाहिरका ठाउँमा विकास आवश्यक छैन र ? छ भने किन शक्ति सधैँ केन्द्रमै रहन्छ ? अनि कहिले संघीयता भन्छौँ, त्यसको समर्थन अनि विरोध गर्छौँ – कालान्तरमा हामी खेलिरहन्छौँ मात्रै । हामी हरेक कुरालाई विभाजन गर्न उद्दत्त छौँ ।
म अदालतलाई जहिले पनि सोचमग्न भएर हेरिरहेको हुन्छु । आखिर एउटै किताब, एउटै कानुन पढेका विद्यार्थीहरू फरक दृष्टिकोण बनाएर तर्क वितर्क गरिरहन्छन् । एउटै ‘स्कुलिङ’ भए पनि भिन्न विचारहरू लिएर उनीहरू मैदानमा उभिन्छन् । अर्को अचम्म लाग्दो कुरा त के भने ती दुवैथरीलाई नियन्त्रण गर्ने न्यायाधीशको पनि ‘स्कुलिङ’ त्यही हो । फेरि किन एउटा पक्ष, अर्को विपक्ष र अर्को ती दुवैलाई समायोजन गर्ने क्रममा रहन्छन् ? समाजको प्रतिविम्ब कतै अदालतमै त छैन ?
राजनीति भनेको कानुन, दीर्घकालीन सोच र राष्ट्रको आधिकारिक प्रशासनिक संरचना भएको सामाजिक कार्य हो । त्यसैबाट सबथोक निर्देशित हुनुपर्ने त हैन नि । तर, राजनीतिले हरेकतिर प्रभाव जमाएको किन ? राजनीतिको अन्तिम लक्ष्य के ? एउटा युवा विद्यार्थीले के सोचेर राजनीति गर्छ ? म पछि केन्द्रमा पुग्छु भन्ने विद्यार्थी केन्द्रमा पुगेपछि के गर्छ ? उसका निम्ति राजनीति भनेको पदहरूको सिँढी उक्लिनु मात्रै पनि हुनसक्छ । अध्यक्ष हुन त उसले अझै वर्षौं कुर्नुपर्छ । अनि, त्यो अवधिभित्र जुन रिक्तता छ, हो त्यसले उसलाई चरम निराशाको स्थितिमा पुर्‍याइदिन्छ । त्यसो भए उसले गर्ने राजनीतिको औचित्य के ?
हामी हाम्रै विकासका प्रक्रियामा गतिशील भइरहँदा परिस्थितिहरू कति सार्थक/निरर्थक भएछन् ? भोलि कसैले हाम्रो जीवनकथा पढ्ला । पढेर गाली गर्ला, आँसु चुहाउला, संवेदित होला तर त्यतिखेर एउटा प्रश्न त सल्बलाइरहेकै हुनेछ जो हामी सोध्न खोजिरहेका हुन्छौँ तर सोधिसकेका हुँदैनौँ । त्यो प्रश्न : ‘म अब कहाँ रहनेछु ? खाली कोरिएका शब्दहरूमा कि मनहरूमा ? व्यवहारहरूमा कि चरित्र चित्रणहरूमा ? कि दृष्टिकोणका भिन्नताहरूमा ?’
प्रश्नहरू सधैँ रहन्छन् । केही सोधिन्छन्, केही सोधिन खोज्छन् र केही सोधिँदैनन् । तिनै सोध्न बाँकी प्रश्नहरूले जीवनलाई जीवनजस्तै बनाइदिएका हुन्छन् ।

प्रतिक्रिया