रंग‍-विविध

के चित्रकला घर सजाउने विधा हो ?

सौर्य अनलाइन २०६९ असार ९ गते २:३८ मा प्रकाशित

एकजना पत्रकार मित्रले अस्ति बिहीबार प्रश्न गरे, ‘यी आर्ट ग्यालरीहरू किन आम मान्छेको पहुँचभन्दा पर हुन्छन् । क्यानभासहरू किन खानदानी परिवारका भित्तामा मात्रै झुन्डिन्छन् ? के कला भनेको सामान्य मान्छेका लागि होइन ?’ यस्तो प्रश्न धेरैअघिदेखि धेरैपटक उठाइने गरेको छ । संसारमा कलाको सामाजिक दायित्वलाई अस्वीकार गर्नेहरूले दशकौँअघिदेखि ‘कला कलाका लागि’ भन्ने नारा लगाइरहेका छन्, उनीहरूले कलालाई समाज र जीवनविरोधी कित्तामा उभ्याएर विश्वव्यापी अभियान नै चलाएका छन् । त्यसको प्रभाव नेपाली सिर्जनाजगत्सम्म पनि जब्बर रहेको छ, खासगरी चित्रकला क्षेत्रमा । तर, पछिल्ला दिनमा कलाले सामाजिक जीवनसँग प्रत्यक्ष सरोकार राख्नुपर्छ, यो सम्भ्रान्तहरूको आँखाको स्वाद मेट्ने खुराक मात्रै होइन भन्ने आवाज नेपाली कला क्षेत्रमा पनि बलियो हुँदै गएको छ ।
विश्वप्रसिद्ध कलाकार पाब्लो पिकासो आधुनिक कलामा विभिन्न वादको व्यावहारिक प्रयोग गर्ने सिद्धहस्त कलाकार हुन् । उनी यथार्थवाद, अभिजात्यवाद, अभिव्यञ्जनावादलगायत विभिन्न शैली र विधिमा पारंगत मानिन्छन् र मूलत: उनलाई घनचित्रशैली वा घनवादका प्रवर्तकका रूपमा चिनिन्छ । उनको योगदान र वैचारिक मान्यताका बारेमा विभिन्न बहस बेलाबेलामा चल्ने गर्छन् । तर, उनी कलाको सामाजिक दायित्व हुन्छ भन्नेमा सचेत र प्रस्ट थिए । उनले सन् १९४५ तिरै भनेका थिए, ‘कलाकारलाई तपाईंले के मूर्ख सम्झनुभएको छ ? कुनै मानिस चित्रकार छ भने के उसका आँखा मात्रै हुन्छन् ? … कलाकार त निरन्तर संसारमा घट्ने सुखद् कुरालाई ग्रहण गर्ने वा भयानक घटनाप्रति जागरुक रहने राजनीतिक व्यक्ति हो । … चित्रकला घर सजाउनका लागि होइन । त्यो त शत्रुका विरुद्ध उपयोगमा ल्याइने आक्रामक र रक्षात्मक हतियार हो ।’
नेपालमा आफूलाई पिकासोका अनुयायी र प्रशंसक ठान्ने थुप्रै कलाकार छन्, उनीहरू पिकासोबाट नेपाली कलाकारले धेरै कुरा सिक्नुपर्छ पनि भन्छन् । पिकासोको योगदानको गुणगान पनि गाउँछन् । तर, व्यवहारमा पिकासोले स्वीकार गरेको कलाकारको पनि सामाजिक दायित्व हुन्छ भन्ने मान्यताभन्दा परपर तर्कंदै हिँड्छन् । नेपालकै दक्षिणी छिमेकी मुलुक भारतका विश्वप्रसिद्ध कलाकार एमएफ हुसेनकै सन्दर्भ पनि लिन सकिन्छ । सन् १९९७ अगस्टको भारतीय अंग्रेजी पत्रिका ‘फ्रन्टलाइन’ मा हुसेनले भनेका थिए, ‘राष्ट्रको सभ्यतासँग जोडिएका जुनसुकै ठूला परिवर्तनको सुरुआत सांस्कृतिक फाँटबाटै हुन्छ । अरू राजनीतिक र सामाजिक आन्दोलनभन्दा संस्कृति सधैँ अगाडि हुन्छ ।’ पत्रिकामा उनले आफू राष्ट्रिय आन्दोलनमा राजनीतिक रूपमा सक्रिय नभए पनि स्कुले समयदेखिको आफ्नो कलाकारिता त्यसैका लागि भएको दाबी गरेका थिए । अघिल्लो वर्ष (सन् २०११ जुनमा) उनको लन्डनको एक अस्पतालमा निधन भएको समाचार नेपाली सञ्चारमाध्यमले पनि महत्त्वका साथ प्रकाशित/प्रसारित गरेका थिए । तर, उनको योगदानलाई सामाजिक परिवर्तनका सापेक्षमा र नेपाली कलाको सन्दर्भमा चर्चा गर्ने काम भने खासै भएन भन्दा हुन्छ ।
महाराष्ट्रको एक मध्यमवर्गीय परिवारमा जन्मेका हुसेन भारतका एकजना महँगा र अन्तर्राष्ट्रिय बजार भएका कलाकार हुन् । उनका सिर्जना करोडौँ रुपैयाँमा बिक्री भएका छन्, २० लाख अमेरिकी डलरसम्म उनको चित्र बिक्री भएको रेकर्ड छ । हुसेनले समकालीन भारतीय कलाकारितालाई आफ्नो योगदानबाट विश्वस्तरमा चिनाए, व्यावसायिक हिसाबले सफल भए र भारतीय कलाको मौलिकतालाई वैश्वीकरण गरे । त्यसो त भारतका पिकासो भनेर विश्वभरि चिनिएका हुसेनलाई जीवनमा प्रसिद्धि र विवाद दुवैले पछ्यायो । विवादमा मुछिएर होस् या महँगो कलाकार भएर, उनले समकालीन भारतीय कलालाई भने विश्वस्तरमा चिनाउने काम गरे । यो उनको ठूलो अनुकरणीय पाटो हो । र, त्यसमा पनि आफू सामाजिक आन्दोलन र राजनीतिक संघर्षमा प्रत्यक्ष नजोडिएर पनि उनले राष्ट्रको सभ्यता निर्माणमा कलासाहित्य र संस्कृतिको योगदान हुन्छ भन्ने कुरालाई स्विकारेका थिए ।
भारतीय समीक्षक प्रयाग शुक्लले हुसेनकै प्रसंगमा भनेका छन्, ‘हुसेनले प्रदर्शनीहरू केवल ग्यालरी र संग्रहालयहरूमा मात्रै गरेनन्, उनी जहाँ पुग्थे/रहन्थे त्यहीँ प्रदर्शनी गर्थे, सार्वजनिक स्थलमा र सबैका लागि सुलभ हुने ठाउँमा कला प्रदर्शनी गर्थे, जसले गर्दा दर्शक वा कलाअनुरागीले उनका कृति सजिलै देख्न सक्थे । भारतका दिल्ली, मुम्बई, कोलकाता, अहमदाबाद, बैंगलोर, बनारस, भोपाल, केरला, राजस्थानलगायत ठाउँमा उनी कहिले केही दिन र कहिले धेरै दिनसम्म बसेर काम गरे र आफ्नो कामको त्यहीँ प्रदर्शनी पनि गरे । … हुसेनको कुनै एउटा घर वा स्टुडियो थिएन । उनी त बहिरहने हावाजस्तै थिए ।’ नेपालमा जनआन्दोलन ०६२/६३ ताका र त्यसयता अखिल नेपाल ललितकला संघसम्बद्ध कलाकारले एकाधपटक गरेकोबाहेक सडकमै वा चोकचोकमै कला प्रदर्शनी भएको देख्न पाइँंदैन । के चोकचोकमा चित्रकला प्रदर्शनी गर्दा कलाकारको जात जान्छ ? चित्रकला साजसज्जा भएको आर्ट ग्यालरीमा मात्रै राखिनुपर्ने कारण के हो ? के कला राजामहाराजा वा सम्भ्रान्तहरूको भित्तामा मात्रै झुन्डिने चिज हो ? के गरिखाने सडकका मान्छेसँग चित्रकलाको कुनै सम्बन्ध नै हुँदैन ? नेपाली कला क्षेत्रको अगुवाइ गरिरहेका कलाकार र कलासम्बद्ध संस्थाहरू यस्ता प्रश्नहरूबाट किन भागिरहन्छन् ?
यहीँनेर अर्को स्मरणीय कुरा के छ भने हिजो राजामहाराजाको निगाहमा चित्र कोर्ने एकथरी कलाकार आज सत्ताका खेलाडी बनेका पार्टीका नेताहरूका वरिपरि घुम्न खोजिरहेका छन् । हिजो दरबारमा झुन्ड्याउनका लागि क्यानभास रंग्याउनेहरू आज नेता निवासका भित्ताको साइज नापिरहेका छन् । नेतालाई भेटेर सुझाब दिइरहेका छन्, ‘नेताज्यू, यहाँनिर यस्तो पेन्टिङ राख्न पाए निकै सुन्दर देखिने थियो †’ नेपाली कला क्षेत्रको विडम्बना भनेकै कलाकारमा रहेको सामाजिक चेतनाको अभाव हो । मूलधारका नेपाली कलाकारहरू हिजो दरबार वरिपरि घुमे, सम्भ्रान्त परिवारका छेउछाउमा बसे र आज पनि सत्ताधारी नेताको छहारी खोजिरहेका छन् । उनीहरू हिजो पनि काठमाडौंलाई नै संसार ठानेर बसे र आज पनि थानकोटबाहिरको दुनियाँमा आँखा पुर्‍याउन आनाकानी गरिरहेका छन् । मूलधारको कला क्षेत्रको अवस्था अहिले पनि यस्तै छ । प्रस्ट भन्नुपर्छ, नेपालमा कलाको सामाजिक दायित्व हुन्छ भन्न हिच्किचाउने कलाकारहरूकै बाहुल्य छ । यस्तो अवस्थामा नेपाली कलाको मौलिक पक्षलाई अन्तर्राष्ट्रियकरण गर्न र त्यसलाई सामाजिक दायित्वसँग जोडेर हेर्न खोज्ने नयाँ र युवा कलाकारले सामाजिक जागरण अभियान चलाउन आवश्यक छ । नत्र अन्टसन्ट गरेर चर्चामा रहन मात्रै खोज्ने कलाकारको प्रवृत्ति नै सधैँ हाबी भइरहने र राज्यका कलासम्बद्ध निकायमा पनि लामो समयसम्म त्यस्तै प्रवृत्तिको हालीमुहाली रहनेछ । यसले न कलाको विकास हुन्छ, न राष्ट्रको सभ्यता निर्माण ।
यहाँनिर कलाको नेपाली सन्दर्भमा समालोचक निनु चापागाईंको भनाइ उल्लेखनीय छ । उनले कलालाई खानदानीको कोठाचोटाबाट बाहिर ल्याउने हो भने युवा चित्रकारले नेपाली चित्रकलाको मूलधारासँग विद्रोह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘प्रतिबद्ध कला र आवश्यकता’ शीर्षकको लेखमा उनले भनेका छन्, ‘…त्यसो गर्न सकेको खण्डमा मात्र केही मानिसहरूमा सीमित, सम्भ्रान्त वर्गको कोठामा साँगुरिएको चित्रकलालाई व्यापक परिवेशमा, आम शोषित नेपाली जनताको हितमा र नेपाल राष्ट्रको हितमा उपयोग गर्न सकिन्छ । अन्यथा हाम्रो चित्रकला माथिल्ला वर्गका केही मानिसहरूको कोठाको शोभाको, साजसज्जाको विषयभन्दा बढी केही हुनेवाला छैन ।’
अन्त्यमा, फेरि एकपटक यहाँ पिकासोकै सन्दर्भ लिउँm । (नेपालमा पिकासोलाई नमान्ने कलाकार विरलै होलान्, सायद छँदै छैनन् कि †) सन् १९४४ तिर पिकासोले फ्रान्सको कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए र त्यसै क्रममा एउटा पत्रिकालाई उनले भनेका थिए, ‘म कम्युनिस्ट हुनु मेरो जीवन र रचनाको तार्किक परिणाम मात्र हो । स्वाभाविक रूपले मैले चित्रकलालाई केवल मनलाई आनन्दित गर्ने विनोदको साधन कहिल्यै मानिनँ । रेखा र रंग मेरा हतियार हुन् । यिनैका आधारमा मैले संसार र मानिसलाई अधिकाधिक जान्ने–बुझ्ने प्रयत्न गर्दै आएको छु ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय