समायोजन रोज्ने लडाकु शून्यमा झर्ने सेनाको विश्लेषण

काठमाडौं, ९ असार । प्रक्रिया लम्बिँदै जाँदा समायोजन रोज्ने माओवादी लडाकुको संख्या अन्तत: शून्य हुने नेपाली सेनाको पछिल्लो विश्लेषण छ । सेनामा जान इच्छुक तीन हजार १ सय २३ लडाकुमध्ये अधिकांशमा नैराश्यता छाइरहेको सैनिक प्रतिवेदनले औँल्याएको छ ।
सैनिक गुप्तचर विभागले तयार पारेको आन्तरिक प्रतिवेदनमा प्रतिफलको सुनिश्चितता नहुँदा समायोजन रोजेका लडाकुको मनोबल घटिरहेको र अन्तत: शून्य हुन आँकलन गरिएको हो । समायोजन प्रक्रिया लम्बिँदै जानु, प्रवेशको सुनिश्चितता नहुनु, अधिकृत पाउनेको सम्भावना अत्यन्तै क्षीण रहनु, सैनिक जीवनमा घुलमिल हुन असहज हुनुजस्ता कारणले लडाकुले विचार बदल्न सक्ने प्रतिवेदनको ठहर छ ।
प्रतिवेदनका अनुसार सैन्य आचारसंहिता र तालिमको आशंकाका कारण पनि लडाकु विस्तारै समायोजन नरोज्ने मनस्थितिमा पुगिसकेका छन् । सो प्रतिवेदन प्रधानसेनापति छत्रमानसिंह गुरुङको हातमा पुगिसकेको स्रोतले बतायो ।
सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले पनि माओवादी लडाकुमा स्वैच्छिक अवकाशमा जान इच्छा व्यक्त गर्ने क्रम अहिले पनि बढिरहेको उल्लेख गरे । समायोजन प्रक्रिया लम्बिँदै जाँदा समायोजनमा जानेको संख्या घट्दै जाने उनको भनाइ छ । ‘प्रक्रिया जसरी लम्बिँदै गइरहेको छ,  समायोजनमा जान चाहनेको संख्या घट्दै गइरहेको छ । यो उनीहरूको इच्छा हो । हामीले भन्ने ठाउँ छैन ।’
नौ हजार सात सय पाँच माओवादी लडाकुमध्ये पछिल्लोपटक तीन हजार एक सय २३ ले मात्र समायोजन राजेका थिए भने बाँकीले स्वैच्छिक अवकाश लिएका थिए । सरकारले गत २८ चैतदेखि माओवादी लडाकुका १५ वटा शिविरमा नेपाली सेना परिचालन गरेपछि लडाकुहरू सेना मातहत आइसकेका छन् । तर, राजनीतिक अन्योलका कारण उनीहरूलाई समायोजन गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन ।
‘समायोजन प्रक्रिया कहिलेबाट अघि बढाउने भन्ने विशेष समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री र सरकारमा भर पर्छ । यो प्रक्रिया जति ढिलो हुन्छ, संख्या पनि त्यसरी नै घट्दै जान्छ,’ संयोजक शर्माले भने ।
सैनिक प्रवक्ता रमिन्द्र क्षत्रीले भने समायोजन प्रक्रिया चाँडै अघि बढ्ने बताए । लडाकुहरूको संख्या लगभग शून्य हुने सैनिक उच्च अधिकारीहरूले गरेको विश्लेषणबारे भने आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ । ‘समायोजन प्रक्रिया अब छिट्टै सुरु हुन्छ । तर, यो सरकारले निर्णय गर्ने कुरा हो,’ प्रवक्ता क्षत्रीले भने ।
प्रधानसेनापति छत्रमानसिंह गुरुङले सेना समायोजनमा कत्ति पनि रुचि नलिएको स्रोतको दाबी छ । सेनामा रथी थपको प्रस्ताव पूरा गरी आºना बहिनी–ज्वाइँ तत्कालीन उपरथी दमन घलेलाई बढुवा गर्न गरेको दौडधुप सफल हुन नसकेपछि उनी असन्तुष्ट छन् । दुई साता मात्र कार्यावधि बाँकी रहँदा घलेलाई सेनापति गुरुङले अधिकृत छनोट समितिमा मनोनयन गर्दै समायोजनमा लचक हुने प्रधानमन्त्रीलाई संकेत गरेका थिए । तर, रथी गौरवशमशेर राणालगायत बहुसंख्यक उच्च सैनिक अधिकारी सुरुदेखि नै माओवादी लडाकुको क्षमता, योग्यता र दक्षताबेगर प्रवेश गराउनै नहुने अडानमा थिए ।
प्रधानसेनापतिले राणा विदेश गएको मौका पारी पूर्वसैनिक अधिकारीको सल्लाहमा लडाकुलाई सहजै प्रवेश गराउन सक्ने गरी तयार पारिएको ‘ननपेपर’ प्रधानमन्त्रीलाई बुझाएपछि जंगी अड्डामा चर्को विवाद चुलिएको थियो । विवादलाई सैनिक उच्चाधिकारी सम्मिलत पिएओ बैठक बसी विज्ञप्ति निकालेर थामथुम पार्ने प्रयास गरिएको थियो ।

प्रतिक्रिया