आँखा जुधाएर संविधानसभा विघटन

काभ्रे, ८ असार । एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी र मधेसी मोर्चाको अप्राकृतिक गठबन्धनका कारण संविधानसभा विघटन भएको आरोप लगाएका छन् ।
उनले एमाओवादी र मधेसी मोर्चाको अप्राकृतिक गठवन्धन र मुलुक चलाउने एकलौटी आकांक्षाले नै जारी हुने तयारीमा रहेको नयाँ संविधान आउन नसकेको दाबी गरे ।
एमाले काभ्रेको क्षेत्रीय अधिबेशनको आज बनेपामा उद्घाटन गर्दै अध्यक्ष खनालले भने, ‘जेठ–१४ गते राति १० बजे मधेसवादी दल र एमाओवादीले आँखा जुधाएर संविधानसभा विघटन गरेका हुन् ।’
‘प्रमुख दलहरुको बैठक चलिरहेको थियो,’ खनालले भने, ‘उनीहरु आँखा जुधाएर संविधान नै जारी नगरी विघटन गर्ने निर्णयमा पुगे ।’ संविधानस जारी गर्ने पक्षमा आफूहरु रहेपनि केही गर्न नसकिएको उनको भनाई थियो ।
मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको विकल्प नभएको उनले बताए । एमाओवादीका लडाकुहरुको ब्यवस्थापन भए पनि शान्ति प्रकृया टुङगिन नसकेको खनालको भनाई छ ।
अध्यक्ष खनालले एमाओवादी र नेकपा, माओवादीलाई मुलुकमा जनविद्रोहको सपना नदेख्न सुझाव दिएका छन् । ‘मोहन बैद्यको जनविद्रोह हावामा उडेको बेलुन जस्तै हो,’ उनले भने, ‘एमाओवादी पनि धेरै चुरीफूरी नगरोस ।’
गहिरिएको राजनीतिक संकट टार्न प्रधानमन्त्री बाबुराम भट्टराइले मार्गप्रसस्त गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया