सेनापति छत्रमानले रोजे चोकमान

चितवन, ८ असार । विषालु च्याउका कारण बाबु आमा सहित परिवारका पाँच जनाको ज्यान गएपछि बिचल्लीमा परेका चितवन कविलास–७, चौकीका चेपाङ परिवारका काईंला छोरालाई प्रधानसेनापति छत्रमानसिंह गुरुङले लालनपाल्नको जिम्मा लिएका छन् ।
विषालु च्याउका कारण ज्यान गुमाएका बुद्धिबहादुर चेपाङ परिवारको बिचल्ली भएको खबर सौर्य दैनिक लगायतका सञ्चार माध्यममा आएपछि प्रधानसेनापति गुरुङले २ वर्षका काईला छोरा चोकमानको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ ।
भरतपुर ब्यारेकका गणपति ज्योतेन्द्र महत बुद्धिबहादुरको घर गएर बालकका हजुरबुबा, हजुरआमा, स्थानीय व्यक्ति तथा गाविसको स्वीकृतिमा जिम्मा लिएका हुन् ।
गणपति महतले प्रधानसेनापति गुरुङले गरेको अनुरोध अनुसार उनकै घरमा राखेर हुर्काउने गरी बालकलाई ल्याएको जनाएका छन् । बिहीबारनै बालकलाई काठमाडौंस्थित प्रधानसेनापति गुरुङको घरमा पुराईसकिएको छ ।
गणपति महतका अनुसार बालकलाई धर्मपुत्रको रुपमा नभई उनकै पहिचान दिएर प्रधानसेनापति गुरुङले आफ्नै घरमा पालन पोषण गर्ने छन् ।
जेठ–३१ गते जंगली च्याउ खाएका बुद्धिबहादुरका परिवारको श्रीमती र दुई छोराको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
कमाउने छोराबुहारी सहित तीन जना नातीको ज्यान गएपछि परिवारमा ८३ वर्षका बुद्धिबहादुरका बुबा मैतलाल र ७३ वर्षकी आमा कमिनी सहित दुई छोराको बिचल्ली भएको छ ।
९ वर्षका चोकमानलाई प्रधानसेनापतिले लगेपनि बुद्धिबहादुरका छ महिनाका दुधे छोराको पालनपोषण कसरी गर्ने हो, बृद्ध चेपाङ दम्पत्ति अझै चिन्तामा छन् ।

प्रतिक्रिया