मूल्यवृद्धि दोहारो अंकतर्फ

काठमाडौं, ८ असार । चालु आर्थिक वर्षको दस महिने अवधिमा मूल्य वृद्धि ८ दशमलव ७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेका देशका वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक ७.१ प्रतिशतले र गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक १०.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य सूचकांकको वृद्धिदर क्रमश: १६ र ४.२ प्रतिशत रहेको थियो । चैतमा वार्षिक उपभोक्ता मूल्यवृद्धि ७.५ प्रतिशत रहेकोमा वैशाख महिनामा बन्द हड्तालका कारणबाट आपूर्तिमा व्यवधान आएकाले उपभोक्ता मुद्रास्फीतिमा थप चाप पर्न गएको राष्ट्र बैंकले बताएको छ ।
समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहमा पर्ने वस्तुमध्ये तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांकको वृद्धिदर सबैभन्दा बढी अर्थात् २७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप–समूहको मूल्य सूचकांकमा ४८.३ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा क्रमश: ५.७ प्रतिशत र १३.५ प्रतिशतले वृद्धि भएको घिउ तथा तेल र रेस्टुरेन्ट तथा होटल उप–समूहहरूको मूल्य सूचकांक समीक्षा अवधिमा क्रमश: १९.२ प्रतिशत र १३.१ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा गैरखाद्य तथा सेवासमूहका वस्तुमध्ये यातायात उप–समूहको मूल्य सूचकांकमा १८.० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस उप–समूहको मूल्य सूचकांकमा १०.१ प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा सबैभन्दा बढी पहाडमा ९.४ प्रतिशत, तराईमा ९.० र काठमाडौं उपत्यकामा ७.७ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ ।
वैदेशिक व्यापार
निर्यात व्यापार १६.४ प्रतिशतले वृद्धि भई ६० अर्ब ९० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ४.९ प्रतिशतले वृद्धि भई रु. ५२ अर्ब ३३ करोड पुगेको थियो । मासिक रूपमा हेर्दा चालू आर्थिक वर्षको वैशाख महिनामा कुल वस्तु निर्यातमा चैत महिनाको तुलनामा १५.४ प्रतिशतले ह्रास भएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात समीक्षा अवधिमा १७.६ प्रतिशतले वृद्धि भएको छ । यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशतले वृद्धि भएको थियो । अन्य मुलुकतर्फको निर्यातमा अघिल्लो वर्षको सोही अवधिसम्म ०.१ प्रतिशतले ह्रास आएकोमा समीक्षा अवधिमा १३.८ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ३.२ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ४.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २५ करोड पुगेको छ । भारततर्फ मुख्यतया: लत्ताकपडा, अलैँची, पोलिस्टर धागो, तामाको तार र जिआई पाइपलगायतको निर्यात बढेको कारण त्यसतर्फको निर्यातमा वृद्धि हुन गएको हो ।
कुल वस्तु आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको दस महिनासम्म २३.८ प्रतिशतले वृद्धि भएकोमा समीक्षा अवधिमा १४.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिसम्म १९.८ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा २७.९ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिको १७.२ प्रतिशत ह्रासका विपरीत समीक्षा अवधिमा १६.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ अर्ब ७० करोड ५३ लाख पुगेको छ ।
चालू आर्थिक वर्षको दस महिनासम्म कुल वस्तु व्यापार घाटा १९.७ प्रतिशतले वृद्धि भई ३ खर्ब २२ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु व्यापार घाटा ५ प्रतिशतले बढेको थियो । कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा समीक्षा अवधिमा १४.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा २७.५ प्रतिशतले बढेको थियो । त्यस्तै, अघिल्लो वर्षको दस महिनासम्म २२.८ प्रतिशतले घटेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा ३०.७ प्रतिशतले वृद्धि भएको छ ।
आयात व्यापारमा भएको वृद्धिको कारण समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १६.३ प्रतिशत रहेको थियो ।
शोधनान्तर स्थिति
आर्थिक वर्ष २०६८/६९ को दस महिनासम्म समग्र शोधनान्तर स्थिति हालसम्मकै उच्च १ खर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ३२ करोडले शोधनान्तर घाटामा रहेको थियो । आर्थिक वर्ष २०६८/६९ को दस महिनासम्म चालु खाता ४४ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।
विप्रेषण आयमा भएको उल्लेख्य वृद्धि एवं सेवा खातामा भएको उल्लेख्य सुधारका कारण चालु खातामा उल्लेख्य सुधार आएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा शोधनान्तर बचत १ अर्ब २६ करोड २४ लाख डलर पुगेको छ भने चालु खाता बचत ५५ करोड ७६ लाख डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर घाटा १६ करोड ६८ लाख डलर पुगेको थियो भने चालु खाता घाटा १५ करोड ४४ लाख डलर पुगेको थियो ।

प्रतिक्रिया