सिरियालाई हतियार आपूर्ति रोक्न माग

मस्को, ८ असार । रुसले सिरियालाई हातहतियार दिने क्रम नरोकेको भन्दै हतियार आपूर्ति तत्काल रोक्न अरब लिगले माग गरेको छ । अरब लिगका तर्फबाट उपमहासचिव अमेहद बीन हिल्लीले यस्तो माग गरेका हुन् । इन्टरफ्याक्स समाचार समितिलाई बिहीबार दिएको अन्तर्वार्तामा उनले यस्तो माग गरेका हुन् ।
‘रुसले अहिले पनि सिरियालाई सैनिक सहयोग गरिरहेको छ । यस्तो सहयोग तत्काल रोक्न हामी माग गर्छौं,’ अन्तर्वार्तामा उनले भनेका छन् । सैनिक सामग्रीको आपूर्तिले सिरियामा हिंसा फैलाउने काम गरेको उनले बताएका छन् । सिरियाली जनतालाई मार्न रुसले हतियार आपूर्ति गरिरहेको आरोप उनले लगाएका छन् । ‘सिरियाली जनताको हत्या गर्न रुसले हतियार दिएको छ, यसलाई तत्काल रोक्नुपर्छ,’ उनले भनेका छन् । सिरियालाई हतियार बिक्री नगर्न अमेरिकाले रुसलाई कूटनीतिक दबाब दिइरहेका बेला अरब लिगका अधिकारीले अमेरिकासँग मिल्दोजुल्दो धारणा राखेका हुन् । केही दिनअघि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले रुसले सिरियालाई युद्धक हेलिकोप्टर बिक्री गरेको भन्दै चर्को आलोचना गरेकी थिइन् ।
सिरियाली सरकारले मुलुकमा नरसंहार मच्चाएको भन्दै अमेरिका, राष्ट्रसंघ, अरब लिगलगायतबाट यसको सर्वत्र आलोचना भइरहेका बेला रुसले हतियार दिएर अवस्था झनै जटिल बनाएको आरोप क्लिन्टनले लगाएकी थिइन् । सिरियामा हुने रुसी हतियारको आपूर्तिबाट ‘द्वन्द्वमा नाटकीय वृद्धि’ हुने दाबी उनले गरेकी थिइन् । रुसले भने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ । यसअघि भएको लिखित सहमतिअनुरूप हवाई प्रतिरक्षा व्यवस्थाका उपकरण बिक्री गरिएको रुसको दाबी छ । रुस र सिरियाबीच हतियार कारोबार प्रचलित अन्तर्राष्ट्रिय समझदारी र कानुनअनुरूप रहेको रुसको दाबी छ ।
बाह्य आक्रमणबाट जोगाउन भन्दै रुसले केही दिनअघि सिरियालाई क्षेप्यास्त्र निरोधक प्रणाली उपलब्ध गराउने जनाएको थियो । अमेरिकालगायत पश्चिमी राष्ट्रले सिरियाली राष्ट्रपति बासर अल असदलाई सत्ताच्युत गराउन सैन्य आक्रमण गर्ने चर्चा चलिरहेका बेला रुसले सिरियालाई क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने जनाएको थियो । रुसको सबैभन्दा ठूलो हतियार निर्यातकर्ता रोसोबोरोनएक्पोर्टले सिरियालाई पेन्टसिर–एस १ नामक रार्डर जडित क्षेप्यास्त्र, बुक–एम २ नामक विमानभेदी क्षेप्यास्त्र र जमिनमा राखी प्रहार गरिने बास्टियोन पानीजाहजभेदी क्षेप्यास्त्र दिने तयारी भइरहेको जानकारी दिएको थियो ।
रुसको यस्तो कदमको विरोध गर्दै लिगका उपमहासचिव हिल्लीले संयुक्त राष्ट्र संघ र अरब लिगका शान्तिदूत कोफी अन्नानद्वारा प्रस्तावित ६ बुँदे शान्तियोजनालाई नयाँ तरिकाबाट लागु गर्न आवश्यक भएको जिकिरसमेत गरेका छन् । अन्नानको शान्ति योजनालाई सक्रिय गराउन नयाँ तरिका अपनाउनुपर्ने उनले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया