सुरक्षा वार्ता गर्न चीन र भारत सहमत

रिया दि जेनेरियो, ८ असार । प्रतिरक्षा तथा सुरक्षासम्बद्ध विषयमा हुने द्विपक्षीय वार्तालाई गति दिन चीन र भारत सहमत भएका छन् । ब्राजिलको रियो दि जेनेरियो सहरमा जारी पर्यावरणसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन पुगेका चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ र उनका भारतीय समकक्षी डा. मनमोहन सिंहबीच बिहीबार भएको घेटवार्तामा उनीहरूले यस्तो सहमति गरेका हुन् ।
४० मिनेट लामो भेटवार्तामा उनीहरूबीच प्रतिरक्षा र सुरक्षासम्बन्धी विषयमा हुने वार्तालाई गति दिने र सन् २०१५ सम्म द्विपक्षीय व्यापार एक खर्ब डलर पुर्‍याउने सहमति भएको थियो । सुरक्षासम्बद्ध वार्तालाई निरन्तरता दिनु आवश्यक रहेको धारणा दुवै प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।
वार्ताबारे जानकारी दिँदै भारतीय विदेशसचिव रञ्जन मथाईले शान्ति र समृद्धिका लागि रणनीतिक तथा सहकार्यात्मक साझेदारी निर्माण गर्ने सहमति यसअघि नै भइसकेको बताए । बिहीबारको वार्तामा सुरक्षासम्बद्ध वार्तालाई गति दिन आवश्यक रहेको भन्नेमा दुवै प्रधानमन्त्री सहमत भएको जानकारी उनले दिए । मन्त्रीस्तरीय भ्रमण बढाउन र रणनीतिक तथा अन्य द्विपक्षीय विषयमा हुने वार्ताको अधिकतम उपयोग गर्न पनि उनीहरू सहमत भएको सचिव मथाईले उल्लेख गरे ।
चीनसँग सैन्य अभ्यास गरिने
आगामी वर्ष चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने योजना भारतले बनाएको छ । चीनसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी भइरहेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ ।
यसअघि चीन र भारतबीच पटकपटक संयुक्त सैन्य अभ्यास भइसकेको छ । पछिल्लोपटक सन् २००७ मा दुई देशबीच सैन्य अभ्यास भएको थियो । चीनमा भएको सो अभ्यासपछि भारत र बेल्जियममा दुवै देशका सेनाले संयुक्त अभ्यास गरेका थिए ।
सन् २०१० मा भारतले चीनसँग संयुक्त सैन्य अभ्यास गर्न अस्वीकार गरेको थियो । भारतका एकजना वरिष्ठ सैन्य अधिकारीले औपचारिक चीन भ्रमण गर्न खोज्दा चीनले अनुमति नदिएपछि भारतले संयुक्त अभ्यास गर्न अस्वीकार गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया