कलेज छनोटको तनाब

आइरन गेट मानिएको एसएलसीको ढोका खोल्दा अगाडि कलेज उभिइरहेको हुन्छ । त्यही कलेजबाट तन्नेरीहरूले आºनो भविष्यको मार्गचित्र कोर्छन् । एसएलसीपछि प्लसटु लेभलदेखि ए लेभलसम्मका विषय विद्यार्थीका कलेज शिक्षा बन्न पुगेका छन् । यसबाहेक एसएलसी सकिनेबित्तिकै पढाउने कतिपय इन्स्टिच्युटहरूको शिक्षा पनि कलेजशैलीमै हुन्छ । त्यसका लागि नेपाल सरकारबाट मान्यताप्राप्त प्राविधिक शिक्षालयहरू पनि छन् । पछिल्लो समयमा एसएलसी दिएका धेरै विद्यार्थीलाई उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतका प्लसटुहरूले पढाइरहेका छन् । त्यसबाहेक विदेशका विश्वविद्यालयसँग आबद्ध भई पढाइने ए लेभल शिक्षाको पनि उत्तिकै आकर्षण छ विद्यार्थीहरूमाझ । सहरमा त लगभग टोलैपिच्छे प्लसटु कलेजहरू भेटिन्छन् नै, ग्रामीण भेगमा पनि पछिल्लो समय धेरै माध्यमिक विद्यालयमा प्लसटुको स्वाद लिन पाइन्छ ।
विभिन्न कलेज र तिनीहरूका आºनै विशेषताका बीच पनि कतिपय विद्यार्थी कलेज छनोट गर्ने सम्बन्धमा अलमलिएको पाइन्छ । सहर बजारमा टाँगिएका ठूला होर्डिङ र्बोडदेखि अखबार र टेलिभिजनमा छाएका कलेजका विज्ञापनहरूले विद्यार्थीमा थप अन्योल छाएको छ, कलेज छनोट प्रक्रियामा । कलेज छान्ने काममा कति विद्यार्थी सिनियरको सल्लाह लिन पुग्छन् त कतिपय हौवाको पछि लाग्न थाल्छन् । पाटनका १८ वर्षीय श्याम श्रेष्ठले आºनो दाइमार्फत कलेज छानेका रहेछन् । कुमारीपाटीस्थित ब्लुबर्ड कलेजबाट कक्षा १२ को परीक्षा दिइरहेका उनी सुरुमा त विज्ञान संकाय पढ्न चाहन्थे । ‘साइन्सका लागि इन्ट्रान्समा नाम ननिस्केपछि हुम्यानिटिज पढ्न थालियो,’ उनले भने । पढ्दै गएपछि त्यही विषयमा नै उनलाई इन्ट्रेस्ट लाग्न थालेको रे ।
एसएलसीको परीक्षा दिनुअघिदेखि नै यही विषय पढ्छु भनेर बस्ने विद्यार्थी पनि हुन्छन् । सेन्ट मेरिज स्कुलबाट एसएलसी दिएकी १७ वर्षीय समीक्षा सिवाकोटीको मस्तिष्कमा भने ए लेभल नै नाचिरहेको थियो । त्यसैलै उनी रातो बंगला स्कुलमा ए लेभल चाख्न आइपुगिन् । ‘अरूभन्दा ºलेक्जिबल पाठ्यक्रम भएकाले पनि ए लेभल नै मेरो रोजाइ बन्यो,’ उनले भनिन् । उनले पनि सिनियरहरूबाटै कलेजका बारेमा थाहा पाएकी थिइन् । अनि सेन्ट मेरिजको ‘कन्जरभेटिभ’ वातावरणबाट रातो बंगलाको बिन्दास कलेज लाइफसम्म आइपुग्दा उनी खुसी पनि छिन् ।
गाउँदेखि पढ्न आउनेहरूको उस्तै ओइरो छ सहरमा । कतिपय विद्यार्थीहरू आफैँ संघर्ष गर्दै पढ्नुपर्ने अवस्थामा हुन्छन् । महंगा प्लसटुहरू उनीहरूका लागि ‘आकाशको फल आँखा तरी मर’ भन्नुजत्तिकै भएका छन् । सिन्धुपाल्चोकका १८ वर्षीय शंकर तामाङ काम गर्दै पढ्ने विद्यार्थीमध्येमा पर्छन् । १२ कक्षाको परीक्षा दिएर बसेका उनी कलेज रोज्दा त्यहाँको फीलाई मुख्य प्राथमिकतामा राख्न सुझाब दिन्छन् आफूजस्तै अरू विद्यार्थीलाई । प्रज्ञा कमर्स कलेज ठमेलमा पढेका उनलाई सस्तो र गुणस्तरीय शिक्षा दिने कलेज नै ठीक लाग्छ ।
सहरमा जतिसुकै कलेज खुले पनि गाँउतिरका प्लसटुको आकर्षण पनि घट्दो छैन । घरपायकको विद्यालयमै आवश्यक शिक्षा लिइरहेका हुन्छन् विद्यार्थीहरू । धादिङको नीलकण्ठ उच्चमाध्यमिक विद्यालयमा प्लसटु पढ्दै गरेकी भगवती श्रेष्ठलाई त्यहीँको कलेज नै ठीक लाग्यो । आºनै रोजाइले नै उनी त्यहीँ पढ्न थालेको बताउँछिन् । ‘यहाँ सहरमा पढाइ हुने विषय पत्रकारिता पनि पढाइन्छ, मेरो रुचि नै यही भएपछि किन सहर धाइरहनु ?’ उनले प्रश्न गरिन् । त्यस्तै सिन्धुपाल्चोकको चौतारामै पढ्छिन् १८ वर्षीया समीक्षा बस्नेत पनि । उनले सहरमा गएर पढ्ने विद्यार्थीहरू धेरै बिग्रिएको देखेकी छिन् रे । कृष्णरत्नगंगा उच्च माविमा कक्षा १२ मा पढ्दै गरेकी उनलाई त्यहाँको पढाइ पनि राम्रो लाग्दो रहेछ । भन्छिन्, ‘अझ राम्रा विषय राखियो भने धेरै विद्यार्थी गाउँमै मज्जाले पढ्न सक्छन् ।’
आफूले लिएको रुचि अनि इच्छा हेरेर विषय र कलेजको छनोट गर्नुपर्ने सुझाब दिन्छिन् समीक्षा । कलेजका इन्फा इस्ट्रक्चर मात्र राम्रा हुँदैमा त्यसकै पछि कुद्न नहुने तर्क गर्छिन् । पढाइको गुणस्तर जाँच्न शिक्षकका प्रोफाइल हेर्नुपर्ने धारणा छ श्यामसँग । अतिरिक्त क्रियाकलापलाई पनि कलेजले प्राथमिकता दियो भने त्यसमा विद्यार्थी रमाउन सक्ने देख्छन् शंकरचाहिँ ।
भविष्यलाई सही लक्ष्यतर्फ डोहोर्‍याउन एसएलसीपछिको कलेज शिक्षाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले उचित कलेज छान्न विद्यार्थीहरू आफैँ सचेत हुनपर्ने धारणा राख्छन्, भोगेका विद्यार्थीहरू । ‘लहैलहैमा लागेर भर्ना भइएको कलेजमा समय र पैसाको सत्यानाश पनि हुन सक्छ,’ उनीहरू सुझाउँछन् । सहरका कलेज भन्दै सबै राम्रा नहुने र गाउँका कलेज सबै नराम्रा नहुने उनीहरूको आशय छ ।

प्रतिक्रिया